आइएफजेको सदस्य निर्वाचित प्रेस युनियनका अध्यक्ष सिग्देललाई प्रधानमन्त्री देउवाद्दारा बधाई
काठमाडौं ।
प्रधानमन्त्री शेरबहादुर देउवाले पत्रकार महासंघ (आइएफजे)को कार्यकारी समितिको सदस्यमा निर्वाचित नेपाल प्रेस युनियनका अध्यक्ष बद्री सिग्देललाई बधाई दिनुभएको छ।
प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित एक कार्यक्रममा प्रधानमन्त्री देउवाले सिग्देललाई बधाई तथा सफल कार्यकालको शुभकामना दिनुभएको हो । नेपाल सरकार सदैव प्रेस स्वतन्त्रता र नागरिक अधिकारका पक्षमा प्रतिबद्ध रहेको बताउँदै प्रधानमन्त्री देउवाले प्रेस युनियनले श्रमजीवी पत्रकारका पक्षमा गर्दै आएको कामको प्रशंसा गर्नुभयो ।
प्रधानमन्त्री देउवाले ‘लोकतन्त्र र प्रेस स्वतन्त्रताका लागि योगदान गरिरहेको प्रेस युनियनको विश्व मञ्चमा प्रतिनिधित्व हुनु निकै खुसीको कुरा हो- उहाँले भन्नुभयो । सञ्चारकर्मीलाई निष्पक्ष, स्वतन्त्र र भयरहित रुपमा काम गर्ने वातावरण ग्यारेण्टीका लागि सरकार सधैँ तयार रहेको उहाँले उल्लेख गर्नुभयो ।’
अध्यक्ष सिग्देलले आइएफजेमा निर्वाचित भएपछि आफू थप जिम्मेवारीका साथ भूमिका निर्वाह गर्ने बताउँदै नेपाली श्रमजीवी पत्रकारको हकहितका सन्दर्भमा प्रधानमन्त्री देउवाको ध्यानाकर्षण गराउनुभएको थियो।
प्रेस युनियनका अध्यक्ष सिग्देल ओमानको राजधानी मस्कटमा यही साता सम्पन्न वर्ल्ड कंग्रेसमा एसिया प्यासिफिकबाट आईएफजेको कार्यकारी समितिको सदस्यमा निर्वाचित हुनुभएको थियो ।
साथै राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र परराष्ट्रमन्त्री डा. नारायण खड्काले पनि आइएफजेका सदस्य सिग्देललाई बधाई दिनुभएको छ।