बुवाआमाको सम्झनामा ठाडा परिवारद्दारा विद्यालयमा अक्षयकोष स्थापना
पाल्पा ।
पाल्पाको निस्दी गाउँपालिका–६ अर्चलेका धन बहादुर ठाडा, मीन बहादुर ठाडा र प्रेम बहादुर ठाडाले आफ्ना स्वर्गीय बाबा–आमाको सम्झनामा अक्षयकोष स्थापना गर्नुभएको छ ।
स्वर्गीय दल बहादुर ठाडा र आमा मन कुमारी ठाडाको स्मृतिमा सिन्दुर आधारभूत विद्यालय, निस्दी–६ सिसिङ्गा अर्चलेमा स्मृति अक्षयकोष स्थापना गरिएको हो। छोराहरुले बाबाआमाको स्मृतिलाई चिरस्थायी बनाउने उद्देश्यले ५० हजार १०५ रुपैयाँको अक्षयकोष स्थापना गरी उक्त रकम विद्यालयलाई हस्तान्तरण गरेका हुन्।
स्थापना गरिएको अक्षयकोषबाट प्राप्त ब्याज रकम विद्यालयमा अध्ययनरत गरीब तथा जेहन्दार विद्यार्थीहरुको शैक्षिक सहयोगका लागि प्रयोग गरिने अक्षयकोषदाताहरुले जानकारी दिएका छन्। स्वर्गीय ठाडाका सुपुत्र मीन बहादुर ठाडाले विद्यालयका प्रधानाध्यापक होम बहादुर राईलाई अक्षयकोष स्थापना सम्बन्धी जानकारी गराउनुभएको थियो।
स्वर्गीय दल बहादुर ठाडा तत्कालीन समयमा विद्यालयका संस्थापक सदस्य हुनुका साथै विद्यालय व्यवस्थापन समितिको सदस्यको जिम्मेवारी सम्हाल्दै विद्यालयको विकास र शैक्षिक उन्नतिका लागि महत्वपूर्ण योगदान पुर्याउनुभएको थियो। उहाँको योगदानलाई स्मरण गर्दै छोराहरुले स्थापना गरेको अक्षयकोषले विद्यालय तथा विद्यार्थीलाई दीर्घकालीन रुपमा सहयोग पुग्ने विश्वास गरिएको छ।
स्थानीयस्तरमा शिक्षा विकासमा सहयोग पुर्याउने उद्देश्यले स्थापना गरिएको उक्त अक्षयकोषले समुदायमा सकारात्मक सन्देश फैलाएको छ। विद्यालय परिवार तथा स्थानीयवासीहरुले ठाडा परिवारको यस उदाहरणीय कार्यको प्रशंसा गरेका छन्।