निर्वाचनमा सरकारी सवारी दुरुपयोग नगर्न अनुगमन अधिकृतको आग्रह
पाल्पा ।
निर्वाचनको बेला सरकारी सवारीसाधन प्रयोग गरेर राजनीतिक दलको कार्यक्रममा सहभागी नहुन पाल्पा निर्वाचन अनुगमन समितिले आग्रह गरेको छ । पालिका प्रमुख तथा उपप्रमुख, अध्यक्ष र उपाध्यक्षले राजनीतिक दलको कार्यक्रममा सरकारी गाडी प्रयोग गरेको मौखिक उजुरीपछि निर्वाचन आचारसंहिता अनुगमन समितिले पाल्पाका सबै पालिकालाई दुरुपयोग नगर्न पत्राचार समेत गरेको छ ।
दुई नगरपालिका र आठवटै गाउँपालिकालाई पत्राचार गरी सरकारी सवारीसाधन प्रयोगमा सचेतता अपनाउन आग्रह गरेको हो ।
निर्वाचन आचारसंहिता अनुगमन अधिकृत एवं जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी ऋषिराम सुवेदीले आगामी फागनु २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका सन्दर्भमा निर्वाचन आचारसंहिता २०८२ जारी भई लागुसमेत भइसकेको अवस्थामा सरकारी सवारी साधन प्रयोग गरी राजनैतिक गतिविधिमा संलग्न नहुन आग्रह गरेको हो ।
जनप्रतिनिधि तथा राष्ट्रसेवक कर्मचारीहरुले प्रयोग गर्ने चारपाङग्रे र दुई पाङग्रे सवारी साधनहरु कार्यालयको प्रयोजनबाहेक अन्य राजनैतिक काममा आउँदा जाँदा वा अन्य जुनसुकै गतिविधि गर्दा प्रयोग नगर्न र नगराउन पत्राचार गरिएको सहायक प्रमुख जिल्ला अधिकारी सुवेदीले बताउनुभयो । जिल्लामा कतिपय जनप्रतिनिधिले पार्टीको भेला, बैठकमा सरकारी सवारी साधन लिएर गएको गुनासो मौखिक रुपमा आउने गरेको उहाँले बताउनुभयो।
सहायक प्रजिअ सुवेदीका अनुसार पाल्पामा अहिलेसम्म तीनवटा उजुरी समितिमा परेको छ । धार्मिक संस्थामा पार्टीको चुनावी गतिविधि गरेको भन्दै रास्वपाका समानुपातिक उम्मेदवार एवं धर्मगुरू चोलाप्रसाद बस्याल (चैतन्य कृष्ण) लाई आचारसंहिता अनुगमन समितिले सचेत गराएको थियो । बस्याल पाल्पाको रम्भा गाउँपालिकास्थित गुरूकुलममा रास्वपाको राजनैतिक गतिविधि गरेको उजुरी परेको हो ।
निर्वाचन सम्बन्धी आचारसंहिता उल्लंघन गरेको भन्दै तानसेनस्थित एक विद्यालयमा शिक्षक सरूवा र हेफर इन्टरनेशनल संस्थाले चुनावको मुखैमा बाख्रा बाँडेको विषय पनि गुनासोका रुपमा अनुगमन समितिमा आएको उहाँले बताउनुभयो ।