आयोगद्वारा समानुपातिक सुची सार्वजनिक, ६३ राजनीतिक दलबाट ३२ सय १३ जना उम्मेदवार
काठमाडौं ।
निर्वाचन आयोगले समानुपातिक निर्वाचन प्रणालीतर्फको बन्दसूची प्रकाशन गरेको छ।
आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनको लागि राजनीतिक दलबाट निर्वाचन आयोगमा पेस भएका उम्मेदवारको बन्दसूची आयोगले आज सार्वजनिक गरी आयोगको वेवसाइटमा प्रकाशन गरेको हो।
सार्वजनिक भएको विवरणमा ५७ निर्वाचन चिह्नमा ६३ राजनीतिक दलबाट पेस भएका ३ हजार २ सय १३ जना उमेदवारको बन्दसूची प्रकाशन भएको छ।
उक्त बन्दसूचीमा नाम समावेश भएका कुनै उम्मेदवारको योग्यताको सम्बन्धमा दाबी विरोध गर्न चाहने मतदाताले माघ ५ देखि १० गतेसम्म निर्वाचन आयोग समानुपातिक निर्वाचन प्रणालीतर्फको निर्वाचन अधिकृतको कार्यालयमा उपस्थित भई दाबी विरोधमा निर्देशिका बमोजिम निर्धारित ढाँचामा उजुरी गर्न सक्ने आयोगका प्रवक्ता तथा सहसचिव नारायणप्रसाद भट्टराईले जानकारी दिनुभयो ।