मुक्तिनाथ विकास बैंकको २०औँ वर्ष प्रवेशमा ‘मुक्तिनाथ एग्रो फाइनान्स ३६०’ कार्यक्रम
काठमाडाै ।
मुक्तिनाथ विकास बैंक लिमिटेडले २०औँ वर्षमा प्रवेश गरेको अवसरमा कृषि क्षेत्रमा लगानी विस्तार, उत्पादकत्व वृद्धि तथा किसानको दिगोपनामा टेवा पुर्याउने उद्देश्यसहित ‘मुक्तिनाथ एग्रो फाइनान्स ३६०’ कार्यक्रम गरेको छ ।
कार्यक्रममा प्रमुख अतिथि कृषि तथा पशुपन्छी विकास मन्त्री डा. मदन परियारले कृषि क्षेत्रको समग्र विकासका लागि सबै सरोकारवालाबीच उत्प्रेरणात्मक वातावरण निर्माण गर्न आवश्यक रहेको बताउनुभयो। उहाँले कृषि लगानी विस्तार र कर्जा गुणस्तर सुदृढ गर्न क्रेडिट ग्यारेन्टी, वित्तीय साक्षरता, कृषि बीमा, मूल्य शृंखलामा समन्वय तथा सहकारी र निजी क्षेत्रसँगको सहकार्यलाई प्राथमिकतामा राख्नुपर्नेमा जोड दिनुभयो ।
मन्त्री परियारले महिला मैत्री कृषि प्रवर्द्धन, प्रविधिसँग जोडिएको युवा लक्षित स्वरोजगारी, साना किसानको वित्तीय पहुँच विस्तार तथा स्तरोन्नतिमा सामूहिक प्रयास आवश्यक रहेको उल्लेख गर्नुभयो । नेपाल सरकारले छिट्टै नयाँ कृषि नीति ल्याउन लागेको जानकारी दिँदै त्यसले कृषि क्षेत्रका विद्यमान समस्या समाधानमा सहयोग पुग्ने बताउनुभयो ।
कार्यक्रममा बैंकिङ विशेषज्ञ अजय श्रेष्ठले ‘नेपालमा कृषि उद्यम लगानीका चुनौती र अवसर’ विषयमा प्रस्तुति राख्नुभएको थियो। उहाँले कृषि कर्जामा उच्च जोखिम, कमजोर कर्जा गुणस्तर र मूल्य शृंखलाको संरचनागत कमजोरीलाई प्रमुख चुनौतीका रूपमा औंल्याउनुभयो । डिजिटल वित्तीय सेवा, कृषि बीमा र निजी क्षेत्रसँगको सहकार्यलाई अवसरका रुपमा लिन पर्नेमा जोड दिनुभयो ।
कार्यक्रम अन्तर्गत ‘नेपालका कृषि उद्यम कसरी फस्टाउन सक्छन्?’ भन्ने विषयमा प्यानल छलफलसमेत आयोजना गरिएको थियो । छलफलको सहजीकरण बैंकिङ विशेषज्ञ भुवन दाहालले गर्नुभयो जहाँ वक्ताका रूपमा नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक रामु पौडेल, कृषि विकास बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङ, नेपाल उद्योग वाणिज्य महासंघका डिबी बस्नेत तथा कृषक उद्यमी बिमला आचार्य सहभागी हुनुभयो ।
प्यानल छलफलबाट कृषि क्षेत्रमा कर्जा लगानीलाई प्राथमिकतामा राख्नुपर्ने, जोखिम व्यवस्थापनलाई व्यवहारिक बनाउनुपर्ने, मूल्य शृंखलामा आधारित सहकार्य, भण्डारण र बजार सुनिश्चितता, महिला उद्यमी प्रोत्साहन, प्रविधिमैत्री कृषि र गुणस्तरीय बीउ, मल, सिंचाइ तथा यन्त्र उपकरणको सहज उपलब्धता आवश्यक रहेको निष्कर्ष निकालिएको थियो । कार्यक्रममा नेपाल सरकारका कृषि निकाय, नेपाल राष्ट्र बैंक, बैंक तथा वित्तीय संस्था, बीमा कम्पनी, विश्वविद्यालय, गैरसरकारी संस्था, निजी क्षेत्र, कृषि सहकारी, उद्यमी, विज्ञ तथा मिडिया प्रतिनिधिसहित करिब ३५० जनाको सहभागिता रहेको थियो।
बैंक सञ्चालक समितिका अध्यक्ष खिम प्रकाश मल्लको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत मन्तव्य सञ्चालक उमेश कुमार आचार्यले र प्रमुख कार्यकारी अधिकृत प्रद्युमन पोखरेलले सारसंक्षेप प्रस्तुत गर्नुभयो। बैंकिङ क्षेत्रमा सम्भवतः पहिलो पटक यस्तो प्रकारकाे कार्यक्रम आयोजना गरिएको भन्दै यसले कृषि क्षेत्रका सरोकारवालालाई एउटै मञ्चमा ल्याई भविष्यको मार्गचित्र कोर्न सफल भएको बैंकले जनाएको छ ।
मुक्तिनाथ विकास बैंकले आगामी दिनमा पनि ग्रामीण समृद्धि, वित्तीय समावेशीकरण र कृषि उद्यम सशक्तिकरणमा निरन्तर योगदान गर्ने प्रतिबद्धता व्यक्त गरेको जानकारी दिएकाे छ ।