पाल्पाको गंगा माविलाई अन्तर्राष्ट्रिय गुणस्तर चिन्ह ISO को लोगो
पाल्पा ।
गंगा माध्यमिक विद्यालय रामपुर-८, एक्लेटार पाल्पाले अन्तर्राष्ट्रिय गुणस्तर चिन्ह ISO लोगो प्राप्त गरेको छ । अन्तर्राष्ट्रिय गुणस्तर चिन्ह प्राप्तिका लागि विद्यालयले सुचकहरु पुरा गरेपछि लोगो प्राप्त गरेको हो ।
गंगा मावि आईएसओको लोगो प्राप्त गर्ने रामपुर नगरपालिकाको पहिलो विद्यालय हो। ग्लोबल क्वालिटी काउन्सिल नेपालका प्रतिनिधि सुदीप शर्मा, रामपुर नगरपालिकाका प्रमुख रमण बहादुर थापा लगायतको उपस्थितिमा आईएसओ सर्टिफाइड लोगो प्रदान गरिएको हो ।

लोगो हस्तान्तरण कार्यक्रममा बोल्दै रामपुर नगरपालिकाका नगर प्रमुख रमण बहादुर थापाले विद्यालयले अन्तर्राष्ट्रिय गुणस्तर मापदण्डको लोगो प्राप्त गर्नु नगरपालिकाको गौरवको विषय भएको बताउनुभयो । पछिल्लो समय नगरका केही विद्यालयहरु आईएसओ गुणस्तर प्रमाणित गर्न लाग्नु समग्र नगरपालिकाको लागि सुखद् पक्ष रहेको उल्लेख गर्नुभयो । नगरपालिकाको पहिचान दिने गरी लोगो प्राप्त सफल भएकोमा विद्यालयलाई बधाई दिंदै नगर प्रमुख थापाले यसले नगरपालिकाको समृद्धि र शैक्षिक विकासमा महत्वपूर्ण टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले अन्तर्राष्ट्रिय स्तरको गुणस्तर मापदण्ड प्रमाणित कार्यक्रमले हरेक क्षेत्रलाई नियममा बाँध्नका लागि भूमिका खेल्ने बताउनुभयो ।
कार्यक्रममा रामपुर नगरपालिकाका उपप्रमुख बाल कुमारी थापा, रामपुर नगरपालिका वडा नं.८ का अध्यक्ष दिनेश आचार्य, आधारभूत माध्यमिक विद्यालय व्यवस्थापन समिति अध्यक्ष कमलराज भट्टराई र रामतुलसी नमुना माध्यमिक विद्यालयका प्रधानाध्यापक बालकृष्ण लम्सालले लोगो प्राप्त गर्न सफल भएकोमा बधाई तथा शुभकामना दिंदै यसको निरन्तरताका लागि सबैले ध्यान दिनु पर्ने आवश्यकता औँल्याउनुभयो ।

कार्यक्रममा ग्लोबल क्वालिटी काउन्सिलका कन्ट्री म्यानेजर सुदिप शर्माले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हरी बहादुर ज्ञवाली र विद्यालयका प्रधानाध्यापक देवराज देवकोटालाई औपचारिक रूपमा आईएसओको लोगो प्रदान गर्नुभयो ।
ग्लोबल क्वालिटी काउन्सिलका कन्ट्री म्यानेजर सुदिप शर्माले यो कार्यक्रमले विद्यालयलाई अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धी बनाउने र सेवा प्रवाहलाई थप व्यवस्थित बनाउने बताउनुभयो।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हरि बहादुर ज्ञवालीको अध्यक्षतामा भएको लोगो हस्तान्तरण कार्यक्रमको सञ्चालन शिक्षक बद्री सिग्देलले गर्नुभएको हो ।