स्याङ्जाको चापाकोटमा तेस्रो चापाकोट कृषि तथा औद्योगिक मेला हुने
स्याङ्जा ।
स्याङ्जाको चापाकोटमा आउदो पुष २५ गतेदेखि माघ ६ गतेसम्म तेस्रो चापाकोट कृषि तथा औद्योगिक मेला सञ्चालन हुने भएको छ ।
चापाकोट उद्योग वाणिज्य संघको आयोजनामा हुने मेलामा कृषि तथा स्थानीय उत्पादनको प्रवर्द्धन, बजारीकरण, बाल उद्यानलाई प्राधमिकता दिदै शैक्षिक प्रदर्शनी, खाना–खाजा, लत्ताकपडा, तथा भाडाकुडा सम्बन्धी स्टलहरू रहने आयोजकले जनाएको छ।
मेलालाई थप आकर्षक बनाउन लन्डन ब्रिज, आइफल टावर जस्ता संरचनाहरू निर्माण गरी प्रदर्शनी गरिने चापाकोट उद्योग वाणिज्य संघका अध्यक्ष निर्मल राना मगरले जानकारी दिनुभयो।
गंगालाल माबिको खेलमैदानमा झण्डै १५० वटा स्टल रहने मेला अबधिभरमा देश तथा विदेश ख्याति कमाएका अहिलेका चर्चित कलाकारहरूको प्रस्तुति रहनेछ। मेलाबाट करिब १ करोड रुपैयाँको कारोबार हुने र ३० लाख रुपैयाँ आम्दानी हुने अपेक्षा गरिएको आयोजकले जनाएको छ।
मेलाले स्थानीय उत्पादनको बजारीकरण, पर्यटन प्रवर्द्धन तथा आर्थिक चलायमानतामा टेवा पुग्ने विश्वास लिइएको संघका महासचिव शिव श्रेष्ठले जानकारी दिनुभयो ।