रामपुर यातायातको सेवा बिस्तार, EV हाइसको काउन्टर काठमाडौंमा
पाल्पा।
रामपुर यातायात प्रा.लि. द्वारा सञ्चालित वातावरणमैत्री EV हाइस सेवाको बिस्तार संगै काठमाडौँमा EV काउन्टर (सम्पर्क कार्यालय) सञ्चालनमा ल्याएको छ । यात्रुहरूको बढ्दो माग र सहज सेवा प्रवाह तथा सुरक्षित यात्रालाई प्राथमिकता दिँदै काठमाडौँको लोत्से मलमा काउन्टर नम्बर ३ मा सम्पर्क कार्यालय सञ्चालनमा ल्याएको हो ।
काठमाडौँ–रामपुर तथा रामपुर–काठमाडौँ बीच नियमित रूपमा EV हाइस सेवा सञ्चालन गर्न काउन्टर स्थापना गरिएको यातायात प्रालिका व्यवस्थापक भेषराज पोखरेलले जानकारी दिनुभयो । उहाँका अनुसार विद्युतीय प्रविधिमा आधारित हाइस सेवा सञ्चालनसँगै यात्रुहरूले सुरक्षित, आरामदायी र वातावरणमैत्री यात्रा गर्न सक्नेछन् ।
सेवाको समयतालिका अनुसार रामपुरबाट बिहान ५:३० बजे र काठमाडौँबाट पनि सोही समयमा बिहान ५:३० बजे नै रामपुरलाई छुट्ने व्यवस्था मिलाइएको छ । यसले बिहानै यात्रा गर्न चाहने यात्रुहरूका लागि ठूलो सहजता मिल्ने विश्वास गरिएको छ ।
यात्रुहरूको जानकारी तथा टिकट व्यवस्थापनका लागि काठमाडौँतर्फ मोहनलाल कुवर (९८५११९४३३६) लाई सम्पर्क गर्न सकिनेछ भने रामपुरतर्फ ९८५७०६०५२६ र ९८५८०८८५६३ नम्बरमार्फत सम्पर्क गरि जान आउन सकिने यातायातले जनाएको छ ।
रामपुर यातायात प्रा.लि. ले समयानुकूल प्रविधि अपनाउँदै सेवाको गुणस्तर सुधारमा निरन्तर ध्यान दिँदै आएको छ । EV हाइस सेवा सञ्चालनसँगै इन्धन खर्च घट्ने, प्रदूषण कम हुने र यात्रुहरूको यात्रा अझ सहज सुरक्षित र छिटोछरितो हुनेछ ।
यस सेवाबाट पाल्पाको पुर्वी भेगका नागरिक सहित रामपुर आसपासका क्षेत्रका यात्रुहरू प्रत्यक्ष लाभान्वित हुनेछन् ।