कसरी राम्रो हुन्छ बिद्यार्थीको हस्तलेखन? बिद्यार्थीमा प्रतिस्पर्धा समेत
पाल्पा ।
रामपुर नगरपालिका वडा नं.४ ले विद्यार्थीको लेखनलाई सुधार गर्न हस्तलेखन तालिमको आयोजना गर्यो । विद्यार्थीहरुलाई विद्यालय तहबाटै हस्तलेखनमा निखारता ल्याउन वडा कार्यालयले तालिम प्रदान गरेको हो । वडा कार्यालयको आयोजना र राईजिङ्ग दिप एजुकेशन हव रुपन्देहीको समन्वयमा वडा भित्र रहेका विद्यालयका विद्यार्थीको हस्तलेखन आकर्षक, सुन्दर र प्रभावकारी गराउन तालिम चलाईएको हो । यो तालिम अबधिमा शिक्षक प्रतिनिधिले समेत अक्षर सुधार्ने मौका पाएका छन्।

गत मंसिर २४ देखि सुरु भएको तालिमको समापन कार्यक्रममा विद्यार्थीलाई कुनै अनुच्छेद लेख्न लगाएर प्रतिस्पर्धा समेत गरिएको थियो । सिकाई सँगै प्रतिस्पर्धाले विद्यार्थीमा लेखन शैलीको विकासमा मद्धत पुगेको मदरसा नुरुलहुँदा माबिका कक्षा ६ का विद्यार्थी साजिम अलिले बताउनुभयो । वडाका ४ विद्यालयले सहभागीता जनाएको विद्यार्थी हस्तलेखन प्रतियोगितामा कक्षा ४ र ५, कक्षा ६ र ७ र कक्षा ८, ९ को छुट्टाछुट्टै मूल्याङकन गरिएको थियो ।
वडा कार्यालयले सीताराम माध्यमिक विद्यालय, कालिका माध्यमिक विद्यालय, मदरसा नुरुलहुदा माध्यमिक विद्यालय र मदरसा नुरुलहुदा अहले सुन्नत प्राविमा अध्ययनरत कक्षा चार देखि नौ सम्मका विद्यार्थी र कार्यरत शिक्षकहरुलाई तालिम प्रदान गरेको थियो ।

कक्षा ८ र ९ का विद्यार्थी बिच भएको प्रतियोगितामा मदरसा नुरुलहुदा माविका आयात मन्सुर प्रथम, सीताराम माविका प्रशंसा वाग्ले द्वितीय र मदरसा नुरुलहुदा माविका अमिर मिया तृतीय, कक्षा ६ र ७ का विद्यार्थीको प्रतियोगितामा मदरसा नुरुलहुदा माविका इश्राद जुहा प्रथम, नुरुलहुदा माविका नजुदा खातुन द्वितीय र मदरसा नुरुलहुदा माविका सजुदा अलि तृतीय र कक्षा ४ र ५ का विद्यार्थीहरु विच भएको प्रतियोगितामा मदरसा नुरुलहुदा माविका महेसवा खातुन प्रथम, मदरसा नुरुलहुदा माविका सदिया सदाफ द्वितीय र कालिका माविका गायत्री आले तृतीय भएका छन्।
शिक्षकहरु सीताराम माविका अजय अधिकारी, कालिका माविका बेनीसरा गाहा, मदरसा नुरलहुदा अहलेसुन्नत प्राविका ज्ञानुमाया सोमै, मदरसा नुरलहुदा माविका नज्मुन निशा र मोहम्मद अलि पुरस्कृत हुनुभयो।
रामपुर नगरपालिकाका शिक्षा शाखा अधिकृत विकल काफ्लेले विद्यार्थीहरुको अक्षर सिकाई शैली प्रभावकारीले जिवनमा सुन्दर सफलता मिल्ने बताउनुभयो । वडाले विद्यार्थीको चौतर्फी विकासमा राखेको तालिमको प्रशंसा गर्नुहुँदै तालिम तालिम मात्र नभई हरेक ठाउँमा प्रयोग गर्दै लैजानुपर्ने बताउनुभयो ।

वडा अध्यक्ष राम बहादुर रानाले वडा भित्रका अबका पुस्ताको सुन्दर लेखनले सिकाई मात्र होइन दृष्टिकोण समेत राम्रो हुने बताउनुभयो । उहाँले वडाले गरेको यो अभ्यासलाई विद्यार्थीले दैनिक घर र स्कुल होस् याव बाहिर प्रयोग गर्दै सार्थीसँगीलाई पनि सिकाउनुपर्नेमा जोड दिनुभयो । शिक्षण सिकाईमा लेखन सिपको महत्वपूर्ण भुमिका रहन्छ, उहाँले भन्नुभयो–व्यक्तित्वमा समेत निखारता ल्याउनेछ ।
कार्यक्रमका अबसरमा कालिका माविमा शिक्षक अभिभावक संघ अध्यक्ष टेक बहादुर क्षेत्रीले सिकेका सीप व्यवहारमा लागु गर्न सके मात्र तालिमले सार्थकता प्राप्त गर्ने बताउनुभयो । मदरसा नुरुलहुदा माध्यमिक विद्यालयका अध्यक्ष साहदत हुसेन शेखले शैक्षिकसुधारका लागि लेखन निकै प्रभावकारी भएको बताउनुभयो । सीताराम माविका प्रधानाध्यापक हरि प्रसाद अधिकारीले विद्यार्थीको हस्तलेखन सिपले शिक्षण सिकाईमा टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
मदरसा नुरुलहुदा माविका प्रधानाध्यापक अबुल कलाम मियाले कलमको महत्वको बारेमा चर्चा गर्नुभयो । मदरसा नुरुलहुदा माविका विद्यार्थी शेख फैसल र सीताराम माविका विद्यार्थी प्रशंसा वाग्लेले तालिम उपयोगी रहेको बताउदै वडा कार्यालयलाई धन्यवाद दिनुभयो ।
रामपुर नगरपालिका ४ का वडाध्यक्ष राम बहादुर रानाको अध्यक्षतामा भएको कार्यक्रम वडा सचिव मोहम्मद युनुस खानको स्वागत, वडा सदस्य मोहम्मद ताजिम शेखले धन्यवाद ज्ञापन गर्नु भएको थियो । कार्यक्रमको सञ्चालन वडा सदस्य मोहन सिं रानाले गर्नुभएको हो ।






