लुम्बिनी लायन्स नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको फाइनलमा
काठमाडौँ ।
कसिलो बलिङ गर्दै लुम्बिनी लायन्स नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको फाइनलमा पुगेको छ ।
लुम्बिनीले बिहीबार त्रिवि क्रिकेट अन्तर्राष्ट्रिय मैदान कीर्तिपुरमा क्वालिफायर २ मा विराटनगर किंग्सलाई ४० रनले पराजित गर्यो । टस जितेपछि ब्याटिङको निम्तो पाएको लुम्बिनीले निर्धारित २० ओभरमा ८ विकेट गुमाई १ सय ३४ रनमात्र बनाउन सकेको थियो । तिलकराज भण्डारीले ३ विकेट लिएपछि जबाफमा आएको विराटनगर १७.५ ओभरमा ९४ रनमै अलआउट भयो । विराटनगर लगातार दोस्रो खेलमा १ सय रन मुनि अलआउट भएको हो ।
लुम्बिनीले शनिबार हुने फाइनलमा सुदूरपश्चिम रोयल्सको सामना गर्नेछ । लगातार पाँचौं खेल जित्दै लुम्बिनीले उपाधि भिडन्त पक्का गरेको हो । लुम्बिनीले इलिमिनेटरमा काठमान्डु गोर्खाजलाई ४ विकेटले पराजित गरेको थियो भने विराटनगर क्वालिफायर १ मा सुदूरपश्चिमसँग ७७ रनले पराजित भएको थियो ।