समाजमा शान्ति सुरक्षाको प्रत्याभूत हुने गरि काम गर्नेछु- प्रहरी निरीक्षक सुनार
पाल्पा ।
इलाका प्रहरी कार्यालय रामपुरका प्रमुख प्रहरी निरीक्षक लाल बहादुर सुनारले समाजमा शान्ति सुरक्षाको प्रत्याभूत हुने गरि काम गर्ने बताउनुभएको छ । सरुवा भएर आउनुभएका प्रहरी प्रमुख प्रहरी निरीक्षक सुनारले समाज खलबलिन नदिन हरेक ठाउँमा प्रहरी प्रशासन नागरिकको सहकार्य र समन्वयमा चनाखो भएर लाग्ने बताउनुभयो ।
रामपुर इलाका प्रहरी कार्यालय प्रमुखको जिम्मेवारी सम्हालेसँगै आइतबार सञ्चारकर्मीसँग परिचयात्मक भेटघाट गर्नुहुँदै प्रहरी निरीक्षक सुनारले सामाजिक अपराध न्यूनीकरण गर्ने कार्यलाई प्रमुख प्राथमिकता दिने बताउनुभयो । उहाँले हिंसात्मक गतिविधि, लागुपदार्थ ओसारपसार, सेवन, आत्महत्याका विरुद्धमा सचेतना, परामर्श र त्यस्तो अबस्थाको खोजी गरि कानुन अनुरुप अगाडि बढ्ने बताउनुभयो ।
अपराध न्यूनीकरण भएमा सर्वसाधारण नागरिकले सुरक्षाको अनुभूत गर्ने हुँदा यस कार्यमा प्रतिबद्ध रहेको उल्लेख गर्दै अपराध तथा जोखिम नियन्त्रण गर्न सञ्चारकर्मी र सचेत नागरिकको सहयोगको अपेक्षा गरेको उल्लेख गर्नुभयो । ईप्रका मातहतका प्रहरी चौकी र कर्मचारीलाई चुस्त रहन निर्देशित गरेको बताउदै शान्ति सुरक्षा सबैको चासो र संवेदनशीलताको विषय भएकाले स्थानीय सञ्चारकर्मीमार्फत प्रहरी-नागरिक सहकार्यका लागि आग्रह गर्नुभयो ।
लागूऔषध नियन्त्रण, ट्राफिक व्यवस्थापन, अवैध सामग्री तस्करी नियन्त्रण, हिंसा न्यूनिकरण तथा अवाञ्छित गतिविधि नियन्त्रण गर्न योजना बनाएर कार्यान्वयनमा जाने उहाँले बताउनुभयो । प्रहरी- नागरिकको सम्बन्धले तपाई हाम्रै समाजमा शान्ति छाउन मद्धत गर्ने हो राती जुनसुकै बेला पनि अफ्ठेरो परे फोन गर्नुस् शंकास्पद भए सुचना दिनुस् सुनारले भन्नुभयो- हामी कानुन संगत कारबाही गर्छौं र सूचना दिने स्रोतको संरक्षण पनि गर्छौं ।
नेपालमा आत्महत्याको घटना डरलाग्दो अबस्थामा छ । प्रहरीको तथ्यांकमा पाल्पा अग्रस्तरमा रहेकोले यसको रोकथाममा सबै चनाखो हुनुपर्ने र संबेदनसिल पनि हुनुपर्ने बताउनुभयो । यसको न्यूनिकरणका लागि सरोकारवालाहरु संग सहकार्य गर्दै सचेतनाका कार्यक्रम सञ्चालन गर्ने उहाँले बताउनुभयो ।
प्रहरी निरीक्षक सुनारले सवारी सुरक्षा, साइवर क्राइम, बालविवाह, लैङ्गिक हिंसा, लागुऔषध नियन्त्रणका लागि जनचेतनाका कार्यक्रम पनि सञ्चालन गर्ने बताउनुभयो । उहाँले ट्राफिक प्रहरी संग संयुक्त रुपमा चेकिङ्गलाई बढाउने, नगरमा स्थापना भएका प्रहरी पोष्टमा प्रहरीलाई ड्युटीमा खटाउने बताउनुभयो । गुनासो आएसंगै मोडीफाई गरेर ठूलो आवाज निकाल्ने मोटर साईकल सञ्चालनमा रोक लगाउने अभियान थालिएको एक हप्तामा त्यस्ता ७ मोटरसाइकललाई नियन्त्रणमा लिईएको जानकारी दिनुभयो ।
पत्रकारले बस्ती बिकास संगै रामपुरमा शान्ति सुरक्षाका लागि गस्ती बढाउनुपर्ने, करिडोरमा हुने सवारी दुर्घटना कम गर्न चेकिङ र करिडोरबाट हुन सक्ने गैरकानुनी गतिविधि न्यूनिकरणमा निगरानी बढाउनुपर्ने, लागुपदार्थ ओसारपसार र स्थानीय गाजा सहित नशालुपदार्थ न्युनिकरणमा ध्यान दिनुपर्ने, हिंसा अन्त्य गर्न सचेतनामुलक कार्यक्रम सञ्चालन गर्नुपर्ने, बजार क्षेत्रमा सवारी पार्किङ्ग व्यवस्थापन, मोडीफाई गरेर ठूलो आवाज निकाल्ने मोटरसाईकल सञ्चालनमा रोक र सवारी चेकिङ्गलाई बढाउन र प्रशासनिक चुस्तताको लागि सुझाव दिएका थिए ।