छठपर्वको आज दोस्रो दिन बर्तालु ‘खरना’ को तयारी
काठमाडौं ।
छठपर्वको दोस्रो दिन बर्तालु ‘खरना’ विधिका तयारी गर्दैछन्।
शनिबार कात्तिक शुक्ल चतुर्थी तिथिका दिन ‘नहाय–खाय’ विधिबाट पर्व सुरु गरेका बर्तालु आज पञ्चमी तिथिका दिन ‘खरना’को तयारीमा लागेका हुन्।
बर्तालुले सूर्योदयपूर्व पवित्र स्नान गरी दिनभरि निराहार उपवास (व्रत) बसेर राति सक्खरमा पकाइएको खिर कूलदेवता र छठी देवीलाई चढाउने यहाँ परम्परा रही आएको छ।
दिनभरिको निराहार उपवास गरेका बर्तालुले कूलदेवता र छठी देवीलाई चढाएको खिर प्रसादस्वरुप खाने चलन छ। यो विधिलाई मिथिलामा ‘खरना’ भनिन्छ।
मधेसको महोत्तरीसहितका विभिन्न जिल्लामा छठ लोकआस्थाको महापर्व मानिँदै आइएको छ। छठ महापर्वको पहिलो दिन अर्थात् कात्तिक शुक्ल चौथीका दिन बर्तालुले आत्मशुद्धिका लागि उसिना चामल, लसुन÷प्याज, कोदो, मुसुरोसहितका धार्मिक अनुष्ठानमा अशुद्ध मानिने खाद्यपरिकार खादैनन्।
आज दिनभरि उपवास गर्ने बर्तालुले आज सूर्यास्तपछि चन्द्रदर्शनपछि यो विधि सम्पन्न गर्नेछन्। ‘खरना’लाई स्वधर्म र आत्मसंरक्षण तथा पापको नाशको भावमा लिने गरिएको मटिहानीस्थित याज्ञवल्क्य लक्ष्मीनारायण विद्यापीठका प्राचार्य हेमनारायण लाल कर्ण बताउँछन्।