अन्धकारमुक्ति बचत तथा ऋण सहकारी संस्था लिमिटेडको निर्णय प्रमाणित सहितको वार्षिक साधारण सभा
पाल्पा ।
अन्धकारमुक्ति बचत तथा ऋण सहकारी संस्था लिमिटेड रामपुर पाल्पाको निर्णय प्रमाणित सहितको २७ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । सेवा केन्द्र स्तरीय साधारण सभाबाट आएका सुझावहरु माथि छलफल गरी सहकारीले निर्णय प्रमाणित सहितको साधारण सभा गरेको हो ।
गत असोज २२ देखि सेवा केन्द्र स्तरीय रुपमा साधारण सभा सञ्चालन गरेको सहकारीले केन्द्रहरु बाट चयन भै आउनु भएका ४५ जना प्रतिनिधि सहित संस्थाका सल्लाहकार, कार्यसमितिका पदाधिकारी, विभिन्न उपसमिति र सेवा केन्द्रका प्रमुखहरुको उपस्थितिमा निर्णय प्रमाणित सभा गरेको थियो । केन्द्रीय कार्यालयको सभाहलमा भएको कार्यक्रममा संस्थाका अध्यक्ष सागर प्रसाद देवकोटा संस्थाको वार्षिक प्रतिवेदन प्रस्तुत गर्नुहुँदै सहकारीलाई प्रदेशमा मात्र नभै नेपाल कै उत्कृष्ट सहकारीको रुपमा स्थापित गर्न लागि परेको बताउनुभयो ।
सेयर सदस्यहरुको विशिष्ट योगदान, सल्लाहाकारहरुको मार्गनिर्देशन, सञ्चालक समिति तथा उपसमितिको सक्रियता र कर्मचारीहरुको मेहेनत र इमान्दारिताले नै सहकारी वर्तमान अवस्था सम्म आईपुगेको बताउनुभयो । कार्यक्रममा प्रदेश बचत तथा ऋण सहकारी संघ, लुम्बिनी प्रदेशका अध्यक्ष कृष्ण नेपाल प्रमुख वक्ताको रुपमा सञ्चालक समिति र लेखा समितिको काम, कर्तव्यर अधिकारीको बारेमा प्रशिक्षण दिनुभएको थियो ।
कार्यक्रममा शेयर सदस्य एवं युवा समाजसेवी सन्दिप रानाले लघुउद्यमीहरुलाई अघि बढाउन सहकारीले लगानी गर्न सकेमा मुलुकलाई उत्पादनमा आत्मनिर्भर बनाउन सकिने धारणा व्यक्त गर्नु भएको थियो । साथै कार्यक्रममा शेयर सदस्यहरु भिम बहादुर नाम्जाली, शम्भु प्रसाद अर्याल, बासुदेव ढकाल र एकराज गौतम आफ्नो सुझाव सहितको राय व्यक्त गर्नु भएको थियो ।
कार्यक्रममा संस्थाका व्यवस्थापक दिपेन्द्र प्रसाद पौडेलले साधारण सभामा छलफलका लागि निर्णयार्थ प्रस्तुत गरिएको १७ वटा प्रस्ताव बारे जानकारी गराउनु भएको थियो । निर्णय प्रमाणित सहितको सभाले गत अर्थिक वर्षमा सहकारी मुनाफा गरको रकम मध्ये शेयर लाभांश ५.५ प्रतिशत वितरण गर्ने निर्णय गरेको छ । सहकारीले गत आर्थिक वर्षमा ३ करोड ४६ लाख ६१ हजार ४८९ खुद नाफा गर्न सफल भएको बताउनुभयो ।
साधारण सभाको अन्तिम निर्णयमा हस्ताक्षरका लागि प्रतिनिधि चयन गरिएको संस्थाका सचिव ओम प्रकाश बस्यालले बताउनुभयो । कार्यक्रमको अवसरमा संस्थाका सल्लाहाकार सदस्य तथा सञ्चार क्षेत्र मार्फत महत्वपूर्ण टेवा दिने सञ्चारकर्मीहरुलाई सम्मान समेत गरेको थियो । संस्थाका अध्यक्ष सागर प्रसाद देवकोटाको अध्यक्षतामा भएको निर्णय पारित सहितको सभा उपाध्यक्ष खगेन्द्र प्रसाद न्यौपानेको स्वागत र सचिव ओम प्रकाश बस्यालले गर्नु भएको हो । खेतको आली बाट २०५५ सालमा सुरु भएको सहकारीमा हाल पाल्पा जिल्ला भित्रका ११ हजार ४४० भन्दा बढी शेयर सदस्य आवद्ध रहेका छन् । साथै कुल पुँजी १ अर्ब ६४करोड ३९ लाख २४ हजार ४२३ पुगेको छ ।