फराकिलो जित निकाल्दै डिफेन्डिङ च्याम्पियन युनाईटेड युथ क्लव सेमिफाइनल प्रबेश
पाल्पा ।
डिफेन्डिङ च्याम्पियन युनाईटेड युथ क्लव नवलपुर फराकिलो गोल अन्तरको जित निकाल्दै “वाइवाइ तेस्रो ज्योतिपुञ्ज कप“को सेमिफाइनलमा प्रवेश गरेको छ ।
जिल्लाकै सर्वाधिक पुरस्कार राशी रहेको पाल्पाको रामपुरमा जारी ज्योतिपुञ्ज क्प अन्तर्गत राष्ट्रिय नकआउट फुटबल प्रतियोगिताको दोस्रो क्वाटरफाइनलमा सम्पूर्ण युथ क्लव तिलोत्तमा रुपन्देहीलाई ६–१ गोल अन्तरले पराजित गर्दै युनाइटेड युथ क्लब सेमिफाइनलमा प्रवेश गरेको हो ।
खेलको ९ औं मिनेट मै युनाईटेड युथका लागि क्याप्टेन याम प्रसाद बुढा मगरले गोल गरे। खेलको ३७ औं मिनेटमा युनाईटेडका अनिल राना र ६० औं मिनेटमा लक्षु थापाले युनाईटेडका लागि थप गोल गरे। लगतै ६४ औं मिनेटमा सम्पूर्ण युथ क्लवका दर्शन वि.क.ले १ गोल फर्काए र सम्पुर्णको गोलको खाता खोले ।
खेलको ७२ औं मिनेटमा युनाइटेडका अनिल रानाले पुनः टिमको चौथो र व्यक्तिगत दोस्रो गोल गर्न सफल भए । त्यसको छैठौं मिनेटपछि ७८ औं मिनेटमा युनाइटेडका चुरामणि खाम्चाले थप एक गोल गर्दै गोलको अन्तर बढाए भने खेलको अन्तिम गोल ८४ औं मिनेटमा गर्दै अनिल राना मगरले ह्याट्रीक पूरा गरे । रानाको ह्याट्रीक प्रतियोगिता अवधिभर कै पहिलो हो । ह्याट्रीक गर्न सफल युनाईटेड युथका खेलाडी अनिल राना मगर म्यान अफ दि म्याच बन्दै नगद ३ हजार प्राप्त गरे । युनाईटेड कै लक्षु थापाले रेडबुल इनर्जेटिक प्लेयर अफ दि म्याचको उपाधिसगै गिफ्ट ह्याप्पर प्राप्त गरे ।
जिल्ला कै सर्वाधिक पुरस्कार राशी सहितको प्रतियोगितामा युनाइटेड युथ क्कब सेमिफाइनलमा प्रवेश गर्ने दोस्रो समूह बनेको छ । यस अघि आयोजक ज्योतिपुञ्ज युवा क्लव सेमिफाइनलमा प्रवेश गरिसकेको छ । मंगलबार भएको खेलमा भैरब स्पोर्टस् क्लव नवलपरासीलाई २–१ गोल अन्तरले पराजित गर्दै ज्योतिपुञ्ज सेमिफाइनलमा पुगेको थियो ।
विहिबार तेस्रो क्वाटरफाइनल खेल हुनेछ । जहाँ ‘ए’ डिभिजन क्लव हिमालयन शेर्पा काठमाडौ र अभिषेक चर्च रजहर नवलपुर बिचको खेल हुने संयोजक अनिल शाही ठकुरीले जानकारी दिनुभयो ।
रामपुर नगरपालिका ७ किसानबारीमा जारी प्रतियोगितामा १० समूहले भाग लिएका छन् । प्रतियोगिताको फाइनल खेल कार्तिक ३ गते हुनेछ । प्रतियोगिताको विजेता समूहले नगद ३ लाख ५० हजार र उपविजेताले २ लाख रुपैयाँसहित ट्रफी प्राप्त गर्नेछ । सेमिफाइनल पराजित टिमले २५/२५ हजार प्राप्त गर्नेछ ।
प्रतियोगिताका सर्वोत्कृष्ट खेलाडीले १७ हजार रुपैयाँ र ट्रफी सहित बिधागत तर्फ सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोलकिपर, उत्कृष्ट डिफेन्डर, इमर्जिङ प्लेयर, उत्कृष्ट कोचले जनही ८ हजार प्राप्त गर्नेछन्।