भदौ १७ स्मृतिमा महिलाले पहिलो मताधिकार प्रयोग गरेको दिन
काठमाडौं ।
नेपालमा महिलाहरूले पहिलोपटक मताधिकार प्रयोग गरेको दिन भदौ १७ को स्मृति गरिएको छ । विसं २००८ सालमा जारी अन्तरिम संविधान अनुसार सम्पन्न काठमाडौं नगरपालिकाको निर्वाचनमा महिलाहरूले पहिलोपटक मतदान गरेका थिए ।
सो निर्वाचनमा नगरपालिका वडा नं. ८ बाट साधना प्रधान वडाध्यक्ष पदमा विजयी हुनुभएको थियो । यसरी मताधिकार प्राप्तिपछि सम्पन्न निर्वाचनमा महिला उम्मेदवार भएर साधना प्रधान विजयी हुनुभएको सन्दर्भसहित भदौ १७ गतेलाई नेपालमा महिला मताधिकार दिवसको सम्झना गरिन्छ ।
साधना प्रधान नेपालका पहिलो महिला पत्रकारसमेत हुनुहुन्थ्यो । साधना प्रधान एमाले पुर्व अध्यक्ष पूर्वप्रधानमन्त्री मनमोहन अधिकारीकी धर्मपत्नी, महिला नेतृ साहाना प्रधानकी दिदी हुनुहुन्थ्यो । उहाँले नेपालको वाम लोकतान्त्रिक आन्दोलनमा महत्वपूर्ण योगदानसमेत गर्नुभएको थियो ।
साधना स्मृति समाजको आयोजनामा आजै (मंगलबार) हुन लागेको कार्यक्रममा साधना स्मृति विशेष पुस्तकको लोकार्पणसमेत गरिने भएको छ । साथै साधनाको योगदान र महिला मताधिकार सन्दर्भमा विमर्शसमेत हुने भएको छ
उहाँले कुमारी कामाक्षादेवीसँग मिलेर वि.सं. २००८ सालमा महिला नामक पत्रिका प्रकाशित गर्नुभएको थियो । वि.सं १९८२ मा जन्मिनुभएकी उहाँको २०६१ मा निधन भएको थियो ।