नेपाल महिला संघको आयोजनामा ३२ औं तीजगीत प्रतियोगिता सम्पन्न
तीज महिलाहरुको मुद्दा उठाउने फोरमको रुपमा स्थापित- सहमहामन्त्री उपाध्याय
पाल्पा ।
रामपुरमा शुक्रबार ३२ औं खुल्ला तिजगीत प्रतियोगिता सम्पन्न भएको छ । नेपाल महिला संघ रामपुर नगर कार्यसमितिको आयोजनामा रामपर नगरपालिका ५ बेझाँडमा प्रतियोगिता भएको हो ।
हरेक वर्ष ऋषि पञ्चमीको भोलिपल्ट हुँदै आएको कार्यक्रमको निरन्तरता अन्तर्गत ३२ औं तीजगीत प्रतियोगिता भएको हो । प्रतियोगिताको उट्घाटन गर्दै नेपाली कांग्रेसका केन्द्रिय सहमहामन्त्री एवं संविधान सभा सदस्य महालक्ष्मी उपाध्याय ‘डिना’ ले अझै पनि समाजमा महिला र पुरुषलाई हेर्न दृष्टिको फरक रहेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘संविधानले दिएको अधिकारलाई स्थापित गर्ने हजारौं कानुनहरु अहिले हाम्रो सामु रहेपनि हाम्रो समाज रुपान्तरण अझ पनि भएको छैन । हाम्रो समाजमा महिलालाई हेर्ने दृष्टिकोण, पुरुषलाई हेर्ने दृष्टिकोण फरक छ ।’

जति सुकै सहभागीताको कुरा गरेपनि अझै पनि महिलाहरुले समान अवसर प्राप्त गर्न नसकेको उहाँको भनाई थियो । महिलाहरुको समस्या समाधानका लागि महिला र पुरुष सबै लाग्नु आवश्यक रहेको बताउनुभयो । पुर्व राज्यमन्त्री समेत रहनुभएकी उपाध्यायले महिलाको समस्या एउटा व्यक्तिको मात्र नभै, परिवार, समाज र देशको समस्या भएकाले समाधानको लागि पुरुषहरुको पनि उत्तिकै महत्वपूर्ण भुमिका रहने स्पष्ट पार्नुभयो । उहाँले तिज संस्कृतिक पर्व मात्र नभै महिलाहरुको मुद्दाहरु उठाउने फोरमको रुपमा स्थापित भएको बताउनुभयो । उहाँले तिजलाई हामीले महिलाको चाडको रुपमा लिए पनि यो चाड महिला र पुरुष दुवैको भएको बताउनुभयो । मंगलादेवी सिंहको समय देखि महिला हक अधिकारको लागि लाग्ने पार्टी नेपाली कांग्रेस भएको बताउनुभयो ।

कार्यक्रममा राष्ट्रिय सभा सदस्य राजेन्द्रलक्ष्मी गैरेले तिजको अवसरमा रामपुरमा हुँदै आएका प्रतियोगिताले महिला आन्दोलनमा महत्वपूर्ण टेवा दिएको बताउनुभयो । महिला अधिकारका लागि मंगलादेवीको पाला देखि महिलाहरु महिला अधिकारका लागि साझा रुपमा लाग्दै आएको बताउनुभयो । उहाँले फरक प्रसंथमा कालीगण्डकी नदीको संरक्षणको लागि हामी तयार हुनु पर्ने बताउनुभयो । साथै भारत र चिनको हेपाहा प्रवृतिको लागि सचेत हुन सरकार र जनतालाई आग्रह गर्नुभयो ।
त्यस्तै नेपाली कांग्रेसका लुम्बिनी प्रदेश सदस्य एवं महिला संघ क्षेत्रीय सभापति विष्णुमाया ढकालले संस्कृतिको संरक्षण संगै महिलाजागरणमा प्रतियोगिताले महत्वपूर्ण भुमिका खेलेको बताउनुभयो ।नेपाल महिला संघका केन्द्रीय सदस्य पवित्रा पौडेल ढकालले तिज पर्वले माईती र चेलिवेटीको सम्बन्ध थप प्रगाढ बनाउने बताउनुभयो । रामपुर नगरपालिकाका उपप्रमुख बाल कुमारी थापाले नगरपालिकाले महिलाहरुलाई आर्थिक रुपमा सक्षम बनाउन सहयोग गर्दै आएको बताउनुभयो । कार्यक्रममा नेपाल मुस्लिम संघका केन्द्रीय उपसभापति हजुलदिन मियाँले शुभकामना मन्तव्य सहित रामपुर साना शहरी खानेपानीको अध्यक्षमा आफ्नो उम्मेद्वारीको विषयमा जानकारी गराउनु भएको थियो ।

प्रतियोगितामा रामपुर क्षेत्रका विभिन्न स्थानका १४ समुहले सहभागीता जनाएका थिए । प्रतियोगितामा प्रथम रामपुर १० को मिना न्यौपाने समूह, द्वितीय नेपाल विद्यार्थी संघको शशी ढकालको समूह, तृतीय नारीजागरण आमा समूह चापाकोट ७, सान्तवना चापाकोट-७ केवलघारीका गोमा गैरे र मिना डोटेल रामपुर ६ विजयपुरको टोली भएको निर्णायक मण्डलका संयोजक दिपेन्द्र प्रसाद भट्टराईले जानकारी दिनुभयो । विजेता समूहलाई क्रमश नगद २० हजार, १५ हजार र १० हजार सहित प्रमाणपत्र प्रदान गरिएको थियो ।
कार्यक्रमको अवसरमा विगत देखि विशिष्ट योगदान दिने ४ जना जेष्ठ महिलाहरुलाई सम्मान गरिएको थियो । एसईईमा उत्कृष्ट फोर जिपिए अंक ल्याउन सफल २ विद्यार्थीहरुलाई पनि सम्मान गरिएको थियो । साथै प्रतियोगिताका बिचबिचमा राष्ट्रिय लोक तथा दोहोरी गायक घनश्याम रिजाल, गायिका तुलसा जिसी र मोहन खड्का लगाएतको बेजोड सांगितिक प्रस्तुति रहेको थियो ।

नेपाल महिला संघ रामपुर नगर समितिका सभापति शारदा आचार्यको अध्यक्षतामा भएको कार्यक्रम नेपाल महिला संघ रामपुरका उपसभापति सावित्रा गैह्रेको स्वागत र सचिव जमुना राना र पार्वती परियारको सञ्चालनमा चलेको थियो ।

