2

Logo २०८३ बैशाख १४ सोमबार
ROYM नेपालद्वारा अन्तर्राष्ट्रिय युवा दिवसमा युवा मानवअधिकार रक्षकहरूको अनलाइन प्लेटफर्म शुभारम्भ

ROYM नेपालद्वारा अन्तर्राष्ट्रिय युवा दिवसमा युवा मानवअधिकार रक्षकहरूको अनलाइन प्लेटफर्म शुभारम्भ


Sabalnews प्रकाशित मिति : मंगलबार, साउन २८ २०८२
2K

ललितपुर, २७ साउन २०८२ — “Local Youth Actions for the SDGs and Beyond” भन्ने नारासहित अन्तर्राष्ट्रिय युवा दिवस २०८२ को अवसरमा, राष्ट्रिय युवा परिषद् र युवा तथा खेलकुद मन्त्रालयको सहकार्यमा, ग्रामीणमुखी युवा अभियान (ROYM) नेपालले नेपालभरका युवा मानवअधिकार रक्षकहरूको क्षमता अभिवृद्धि, आपसी सहकार्य र वकालतलाई सशक्त बनाउन अनलाइन इन्गेजमेन्ट प्लेटफर्म (Online Engagement Platform) को हिजो औपचारिक शुभारम्भ गरेको छ ।

एईईन (AEIN – Aide à l’Enfance de l’Inde et du Népal) को सहयोगमा सुरु गरिएको यो डिजिटल सञ्जाललाई ललितपुरस्थित राष्ट्रिय मानव अधिकार आयोगको सभाहलमा आयोजित विशेष समारोहमार्फत सार्वजनिक गरियो। कार्यक्रममा ROYM नेपालका अध्यक्ष रोशना गिरीको अध्यक्षता तथा राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष माननिय तपबहादुर मगरको प्रमुख आतिथ्यमा, कार्यकारी निर्देशक लुभराज न्यौपाने र आयोगका अधिकृत दिपेन्द्र सिंहलगायतले संयुक्त रूपमा प्लेटफर्म अनावरण गरिएको थियो । उक्त कार्यक्रममा मानव अधिकारकर्मी, युवा नेताहरू, सामाजिक अभियन्ता र विभिन्न क्षेत्रका प्रतिष्ठित व्यक्तिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

यो प्लेटफर्म केवल प्रविधि–आधारित उपकरण मात्र नभई, एक जीवन्त युवा–केन्द्रित समुदाय हो। प्रयोगकर्ताले यसमा विचार, ब्लग, समाचार, अभिमत र अभियान साझा गर्न, समूह गठन गर्न, संयुक्त पहल चलाउन, वास्तविक समयमै समन्वय गर्न तथा स्रोत–साधन र अनुभव आदान–प्रदान गर्न सक्नेछन्। निकट भविष्यमा यसको मोबाइल एप पनि सार्वजनिक गरिनेछ। साथै, www.yhrdnepal.org मार्फत युवा रक्षकहरूले प्रशिक्षण सामग्री, स्रोत, अवसर र अद्यावधिक सूचनामा सहज पहुँच पाउनेछन्।

प्रमुख अतिथि मगरले कर्णालीसहित विभिन्न प्रदेशमा सक्रिय युवा मानवअधिकार रक्षकहरूको आवाजलाई सबल बनाउन र उनीहरूको क्षमतावृद्धिमा यस्ता पहलले महत्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गरे। ग्रामीण जीवन, संस्कृति र सामुदायिक सम्बन्धहरूसँग पुनःजोडिन युवालाई आह्वान गर्दै उनले भने, “सहरी अनुभव र विदेशमा आर्जित सीप गाउँमा प्रयोग गर्ने समय आएको छ। हामी युवाले जहाँ भए पनि, गाउँको जीवनस्तर उकास्न, आधारभूत सेवा विस्तार गर्न र मानवअधिकारमैत्री समाज निर्माणमा योगदान पुर्याउनुपर्छ।”

ROYM नेपालका कार्यकारी निर्देशक न्यौपानेले यो प्लेटफर्मलाई डिजिटल वकालतको क्षेत्रमा कोशेढुङ्गाको रूपमा चित्रित गर्दै,युवा वर्ग हाम्रो देशको मेरुदण्ड हो। ROYM नेपालले युवाको हरेक समस्या समाधानमा हातेमालो गर्दै, उनीहरूलाई देशको नीति–निर्णय प्रक्रियामा सक्रिय रूपमा सहभागी गराउनेछ। हामी युवालाई नेतृत्वमा अघि सार्ने, उनीहरूको आवाज सुन्ने र हरेक गतिविधिमा उनीहरूको पहुँच सुनिश्चित गर्ने दृढ संकल्पमा छौं। हाल १६ जिल्लामा सक्रिय रहेको नेटवर्कलाई छिट्टै ७७ वटै जिल्लामा विस्तार गर्ने लक्ष्य प्रस्तुत गरे।

पूर्व मानव अधिकार महा–भेला संयोजक नरेन खतिवडाले यसलाई मानवअधिकार वकालतका लागि साझा र समावेशी डिजिटल फोरमका रूपमा उपयोग गर्न सुझाव दिँदै, कागजी सीमामा मात्र नभई आर्थिक समानता र व्यवहारिक अधिकार सुनिश्चिततामा प्राथमिकता दिनुपर्नेमा जोड दिए।

कर्णाली प्रदेशको प्रतिनिधित्व गर्दै युवा मानवअधिकारकर्मी नवीनले भने, “हामी निरन्तर युवा हक र मुद्दाहरूमा वकालत गर्दै आएका छौं। हालै मात्र कर्णाली प्रदेश सरकारलाई युवा मानवअधिकार रक्षकहरूको सुरक्षासहित आवश्यक सहयोगका लागि लिखित पत्र बुझाएका छौं। राज्यले सुरक्षा, स्रोत–साधन र आवश्यक नीतिगत सहयोगमा ध्यान दिन जरुरी छ। ROYM नेपालका कार्यक्रमहरूले हामीलाई कार्य गर्न थप सहजता प्रदान गरेका छन् र प्रदेशभरका युवा मानवअधिकारकर्मीहरूलाई एकीकृत गर्दै हाम्रो आवाजलाई अझ बलियो बनाएका छन्।”

मानव अधिकार एलायन्सकी उपाध्यक्ष मञ्जु गुरुङ, विजया राई, राज मानन्धर,अधिवक्ता कृष्ण न्यौपाने लगायतका वक्ताहरूले युवाको नेतृत्व, सामाजिक न्याय र दिगो विकास लक्ष्य (SDGs)प्रति प्रतिबद्धताको महत्त्वबारे विचार व्यक्त गरे। स्वागत मन्तव्य ROYM सदस्य गोमा बिष्टले प्रस्तुत गरिन्।

अध्यक्ष रोशना गिरीले कार्यक्रममा उपस्थित सबैलाई धन्यवाद ज्ञापन गर्दै भनिन्,“आजको यो कार्यक्रम युवाको दुख–सुखमा हातेमालो गर्दै, मानवअधिकारमैत्री समाज निर्माणतर्फ अघि बढ्ने हाम्रो साझा यात्राको अर्थपूर्ण सुरुवात हो। राष्ट्रिय मानव अधिकार आयोग र राष्ट्रिय युवा परिषदसँगको सहकार्यले यस अभियानलाई अझ सशक्त बनाएको छ।

ROYM नेपालले गाउँ–सहरको अन्तर घटाउँदै, युवाको सीप, अनुभव र ऊर्जालाई समाज रुपान्तरणका लागि परिचालन गर्ने र नेपालको मानवअधिकारमैत्री भविष्य निर्माण गर्ने दृष्टिकोणसहित यो डिजिटल प्लेटफर्म अघि सारेको रोयम नेपालका कार्यक्रम संयोजक अनुप खनाले जानकारी दिएका छन्।

कार्यक्रमको सहजीकरण माइण्ड प्लसका निर्देशक नवीन पल्लवले गरेका थिए।

 

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ
चर्चित
ताजा अपडेट

हाम्रो बारेमा

हाम्रो टिम

सबल नेटवर्क प्रा. लि. द्दारा संचालित
सबल न्युज डटकम
अध्यक्ष / प्रधान सम्पादकः सीता डोटेल
📞 बिज्ञापन ९८४७१७०२८५, ९८४३८८१०२२
📧  समाचार  sita.dotel@gmail.com
बिज्ञापन– sabalnews2078@gmail.com
कम्पनी दर्ता नं.  –२८८३६१/०७८/०७९
सूचना विभाग दर्ता नं.–३४५५/२०७८/०७९
प्रेस काउन्सिल नं. –३४४२

सम्पर्क

सामाजिक सञ्जाल

© 2022 copyright and all right reserved to sabalnews.com