2

Logo २०८३ बैशाख १३ आइतबार
देशकै सबैभन्दा ठूलो महिला ह्याकाथन सम्पन्न, प्रविधिमा महिलाको नेतृत्वले नयाँ इतिहास रच्यो

देशकै सबैभन्दा ठूलो महिला ह्याकाथन सम्पन्न, प्रविधिमा महिलाको नेतृत्वले नयाँ इतिहास रच्यो


गोमा बिष्ट प्रकाशित मिति : शुक्रबार, असार २७ २०८२
1.8K

काठमाडौँ ।

नेपालको प्रविधि इतिहासमा पहिलोपटक देशकै सबैभन्दा ठूलो महिला-केन्द्रित ह्याकाथन सम्पन्न भएको छ। Shequal Foundation को आयोजनामा र EU-UN संयुक्त कार्यक्रम Empowered Women, Prosperous Nepal (EWPN) को साझेदारीमा आयोजित तीनदिने ह्याकाथनले देशभरिका युवतीहरूलाई प्रविधिको माध्यमबाट सामाजिक रूपान्तरणमा योगदान दिन उत्प्रेरित गरेको छ।

“Hacking for Empowered Women” शीर्षकमा आयोजित यो प्रतियोगितामा देशका विभिन्न भूभागबाट छानिएका १६ समूहमा ४८ जना युवती सहभागी भएका थिए। उनीहरूले अवैतनिक हेरचाह कार्य, डिजिटल वित्तीय पहुँच, डिजिटल साक्षरता र महिला-उत्तरदायी स्वास्थ्य सेवा जस्ता विषयहरूमा केन्द्रित रहेर प्रविधि समाधानहरू विकास गरेका छन् ।

कार्यक्रमको पहिलो दुई दिन सहभागीहरूले विभिन्न प्रविधिगत तालिम, मञ्च सञ्चालन, कोड लेखन, समस्या समाधान र विशेषज्ञ मार्गदर्शनमा सहभागिता जनाएका छन् । तेस्रो दिन आयोजित अन्तिम प्रस्तुति चरणमा ६ समूहले आफ्नो नविनतम प्रविधि परियोजनाहरू निर्णायक प्यानलसमक्ष प्रस्तुत गरे।

निर्णायक समूहद्वारा मूल्यांकनपछि उत्कृष्ट तीन समूहलाई विजेता घोषित गरिएको थियो। बुटवलका सहभागीहरूले बनाएको “SewaDit” नामक डिजिटल  प्रथम स्थान प्रदान गरियो। यो प्लेटफर्मले महिलाहरूले गर्ने अवैतनिक हेरचाह कार्यलाई दृश्यात्मक र मूल्याङ्कनयोग्य बनाउँदै रिपोर्टिङ प्रणालीमार्फत आर्थिक समावेशितासमेत सम्भव बनाउने प्रयास गरेको छ।

झापाका सहभागीहरूले प्रस्तुत गरेको “Care Bridge” परियोजना दोस्रो स्थानमा रह्यो। उक्त परियोजनाले हेरचाह अध्ययनमा संलग्न छात्राहरुलाई सेवाको आवश्यकता परेका व्यक्तिसँग जडान गर्ने वेब प्लेटफर्म विकास गरेको छ। यसले प्रयोगकर्ताको सीप, अनुभव र तालिमलाई एक पोर्टफोलियोमा दस्तावेजित गर्दै व्यावसायिक मान्यता प्राप्त गर्न सघाउ  पुर्‍याउँछ।

तेस्रो स्थान काठमाडौँका सहभागीहरूको टोलीले प्राप्त गर्‍यो, जसले “HeritEdge” नामक सांस्कृतिक कथावाचन एप विकास गरेका थिए। यो एपले स्थानीय संस्कृतिलाई प्रवर्धन गर्न AR र AI प्रविधिको प्रयोग गर्दै युवाहरूलाई प्रेरित गर्ने प्रयास गरेको छ।

ह्याकाथनमा प्रस्तुत भएका परियोजनाहरूले नेपालको सामाजिक संरचनामा विद्यमान चुनौतीहरूलाई केन्द्रमा राखी व्यवहारिक समाधानहरू प्रस्तुत गरेका थिए। कार्यक्रममा सरकारी, निजी र विकास साझेदार संस्थाबाट आएका प्रतिष्ठित व्यक्तित्वहरूले निर्णायकको रूपमा सहभागी भएका थिए, जसमा सूचना तथा सञ्चार प्रविधि मन्त्रालयका सहसचिव मुकेश रेग्मी, पूर्व एफएनसीसीआई अध्यक्ष भवानी राणा, Oxfam, IFC, NMB लगायतका संस्थाका प्रतिनिधिहरू थिए।

समारोहमा बोल्दै नेपालका लागि युरोपियन युनियनकी राजदूत भेरोनिके लोरेन्जो ले महिलाको आर्थिक सशक्तिकरणमा प्रविधिको पहुँचको महत्वपूर्ण भूमिका रहेको बताइन्। उनले भनिन्, “प्रविधि सबैका लागि पहुँचयोग्य र समावेशी हुनुपर्छ। महिला स्वयंको अनुभवमा आधारित समाधानहरूबाट समाजमा दीर्घकालीन परिवर्तन सम्भव हुन्छ।”

UN Women नेपाल की प्रतिनिधि प्याट्रिसिया फर्नान्डेज–पाचेको ले भनिन्, “जब महिलाहरूले भविष्य निर्माण गर्छन्, त्यो भविष्य सबैका लागि समान, रचनात्मक र शक्तिशाली बन्छ।”

Shequal Foundation का सह-निर्देशक मेलिशा घिमिरे र आस्था शर्मा ले ह्याकाथनलाई एउटा आन्दोलनको रूपमा व्याख्या गरे। उनीहरूले भने, “हामी प्रविधिमा मात्र होइन, नेतृत्व र दृढ विश्वास निर्माणमा पनि महिला युवाहरूलाई अगाडि ल्याउने यात्रा सुरु गरेका छौँ।”

यस ह्याकाथनअघि IDEATHON 2025, Human-Centered Design Workshop र Hack the Narrative जस्ता पूर्वकार्यक्रममार्फत देशभरिका एक हजारभन्दा बढी युवतीलाई प्रशिक्षण, विचारमन्थन र नवप्रवर्तनमा संलग्न गराइएको थियो।

यो ह्याकाथनले नेपालमा महिलाहरू प्रविधिमा अगाडि बढ्न सक्ने स्पष्ट सन्देश दिएको छ। प्रविधिमा महिला नेतृत्वको स्थापना र समावेशी डिजिटल समाज निर्माणतर्फ यो कार्यक्रमले ऐतिहासिक पाइला चालेको छ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

सबल नेटवर्क प्रा. लि. द्दारा संचालित
सबल न्युज डटकम
अध्यक्ष / प्रधान सम्पादकः सीता डोटेल
📞 बिज्ञापन ९८४७१७०२८५, ९८४३८८१०२२
📧  समाचार  sita.dotel@gmail.com
बिज्ञापन– sabalnews2078@gmail.com
कम्पनी दर्ता नं.  –२८८३६१/०७८/०७९
सूचना विभाग दर्ता नं.–३४५५/२०७८/०७९
प्रेस काउन्सिल नं. –३४४२

सम्पर्क

सामाजिक सञ्जाल

© 2022 copyright and all right reserved to sabalnews.com