निस्दीमा शतप्रतिशत एसईई नतिजा ल्याउने जनप्रिय माविद्धारा विद्यार्थी सम्मान
पाल्पा ।
निस्दी गाउँपालिका भरिमा नै शतप्रतिशत विद्यार्थी उतीर्ण गराउन सफल निस्दी गाउँपालिकाको ४ मित्याल धिर्जेमा अवस्थित जनप्रिय माविले बिद्यार्थीलाई बधाई तथा सम्मान कार्यक्रम गरेको छ ।
निस्दी गाउँपालिकाको विकट मानिने मित्यालको पुछार धिर्जे अरुणखोेला किनारमा रहेको यस विद्यालयमा यस बर्ष कक्षा १० मा अध्ययनरत सबै १९ विद्यार्थी उत्तीर्ण हुन सफल भएका हुन् । १० छात्र र ९ छात्राले यसवर्ष एसइई परीक्षा दिएका थिए । पालिका भरमा उत्कृट नजिता ल्याउन सफल भएकोमा यहाँका शिक्षक अभिभावक औधी खुसी छन् ।

शुक्रबार विद्यालयले एसईई उतीर्ण विद्यार्थी र अभिभावकलाई नगद, मायाँको चिनो र खादा लगाईदिएर सम्मान व्यक्त गरेको छ । निस्दी गाउँपालिका ४ का वडा सदस्य रोमकला वि.क.को प्रमुख आथिथ्यतामा भएको सम्मान कार्यक्रममा बोल्दै बि.क.ले आफ्नै वडा भएपनि चाहेजस्तो विकास गर्न नसकिएको बताउनुभयो । उहाँले ४ नम्वर वडा ठुलो रहेको छ, विकास हराएर जाने खासै नदेखिने उल्लेख गर्नुभयो । उहाँले आगामी आर्थिक वर्षको बजेट पालिकाले सार्वजनिक गरेको र निरन्तर विद्यालयलाई सहयोग गर्दै जाने बताउनुभयो । धिर्जे र आसपासका नागरिक पालिका तथा वडा कार्यालय सम्म आउन ३ देखि ५ घण्टासम्म लाग्ने गर्दछ । यही अभावको सामुदायिक विद्यालयले यसवर्षको नजिता शतप्रतिशत ल्याएको हो ।
अन्तराष्ट्रिय वि.पि.चिन्तन प्रतिष्ठानका अध्यक्ष तथा कालीगण्डकी फाउण्डेशन नेपालका सल्लाहकार युवा समाजसेवी सन्दिप रानाको प्रमुख उपस्थितिमा भएको सम्मान कार्यक्रममा बोल्दै रानाले सतप्रतिशत उत्तीर्णको प्राप्त गरि विद्यार्थी, अभिभावक र विद्यालयलाई गर्व गर्न लायक बनाउने विद्यार्थीहरुलाई बधाई दिनुभयो । हरेक सकारात्मक, मेहनत र संकल्पले सफलता मिल्ने बताउनुभयो । पालिकाको दुरी र नजरमा टाढा भएर पनि धिर्जे र विद्यालयले गरेको संघर्षको फल विद्यार्थीको सफलतामा पुगेको छ उहाँले भन्नुभयो । रानाले सामान्यतया आधारभूत आवश्यता यातायात र जीवन स्तर उकास्ने खालको अबस्था नहुनु दुःखद रहेको बताउदै सबैजना मिलेर गाँउ समाज विकासमा लाग्न प्रेरित गर्नुभयो ।

सम्मान कार्यक्रमकै अबसरमा कालीगण्डकी फाउण्डेशन नेपालका अध्यक्ष निलकण्ठ भण्डारीले एसईई परिक्षामा शतप्रतिशत विद्यार्थी उत्र्तीण गराउन सफल विद्यालयलाई फाउण्डेशनले पुस्तक प्रदान गरेको बताउनुभयो । मेहनत विना यो प्रतिफल आएन उहाँले भन्नुभयो–मेहनती विद्यालयलाई केही सहयोग गरौं भन्ने चाहानाले पुस्तक हस्तान्तरण गरिएको हो ।
कालीगण्डकी फाउण्डेशन नेपालका सचिव सीता डोटेलले फाउण्डेशन नेपाल सामाजिक कार्यमा निरन्तर रहेको बताउदै स्थापना लगत्तै एम्बुुलेन्स सेवा, विद्यामन्दिर सार्वजनिक पुस्तकालय सञ्चालन, कोभिडको समयमा स्वास्थ्य संस्था र पालिका, प्रहरी, एम्बुलेन्स चालक, संघसंस्था बजार क्षेत्रमा विविध स्वास्थ्य सामाग्री, किसानलाई बाँदर धपाउने प्लाष्टिकको बन्दुक, विभिन्न मठमन्दिर, प्रहरी कार्यालय, कारागारमा पुस्तक, कृषक तालिममा सहयोग लगायतका काम गर्दै आएको जानकारी गराउनुभयो । उहाँले पाल्पाको रामपुरमा कार्यालय रहेपनि जिल्लाभर र बाहिरी जिल्लामा समेत विभिन्न सहयोग र समन्वय गर्दै आएको उल्लेख गर्नुभयो ।
यसैबीच, २०५० सालमा स्थापना भएको जनप्रिय माविमा २०६९ सालदेखि माध्यमिक कक्षा सञ्चालन हुदै आएको छ । १९ विद्यार्थीले एसईई उत्तीर्ण गरेको यस विद्यालयमा यस शैक्षिक सत्रमा पनि २० जना विद्यार्थी कक्षा १० मा अध्ययनरत छन् ।
विद्यालयले सोही अबसरमा एसईई उत्तीर्ण विद्यार्थीलाई नगद पुरस्कार, मायाँको चिनो र खादा लगाएर सम्मान गरेको छ । विद्यालयले विद्यार्थीका अभिभावकलाई समेत सम्मान गरेको जनाएको छ । साथै, बिषय शिक्षकले आफ्नो विषयमा सर्वोत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई नगद सहित सम्मान गर्नुभएको छ । विद्यालयले राम्रो नजिता ल्याउनु शिक्षकहरुको मेहनत र परिश्रम हो भन्ने बुझेको छ विद्यालयका प्रध्यानध्यापक हस्त बहादुर गाहाले भन्नुभयो–यसका लागि सबैलाई धन्यवाद व्यक्त गर्दछु । विद्यालयले शिक्षकहरुलाई समेत सम्मान गरेको छ ।
यही मेसो पारेर विद्यालयले कक्षा १ देखि ५ सम्मका ५० जनालाई बालिका छात्रबृत्ति र ५ जना दलित विद्यार्थीलाई दलित छात्रबृत्ति साथै १जना अपाङ्गता विद्यार्थीलाई छात्रबृत्ति प्रदान गरेको छ ।
विद्यालयका अध्यक्ष अर्जुन सोमैको अध्यक्षतामा भएको कार्यक्रममा उहाँले विद्यालयको प्रगति र मेहनतको अर्थ बोकेको स्मरण गराउनुभयो । उहाँले बिद्यालयको यस सफलतामा भुमिका खेल्ने सबैलाई धन्यवाद व्यक्त गर्नुभयो ।