रामपुर नगरपालिकाले चलाएको एक महिने खेलकुद प्रशिक्षण सम्पन्न
पाल्पा ।
पाल्पाको रामपुर नगरपालिकाले उत्कृष्ट खेलाडी उत्पादन गर्ने उद्देश्यले आयोजना गरेको विविध खेल प्रशिक्षण सकिएको छ । मेयर कपमा बिगतमा विभिन्न खेल आयोजना गरेको नगर खेलकुद विकास समितिले यसवर्ष खेलाडीमा प्रशिक्षण मार्फत लगानी गरि उत्कृष्ट खेलाडी उत्पादनमा जोड दिएको हो ।
नगरपालिकाका महिला र पुरुष बालबालिकालाई भलिबल तथा फुटबल खेल सम्बन्धी १ महिना लामो तालिम चलाइएको हो । रामपुर नगरपालिकाको आयोजना र नगर खेलकुद विकास समितिको सञ्चालनमा गत जेठ ६ गते देखि भएको प्रशिक्षण कार्यक्रमको असार ७ गते शनिबार समापन गरिएको छ ।

प्रशिक्षण कार्यक्रमको समापनमा रामपुर नगरपालिकाका नगर प्रमुख रमण बहादुर थापाले सक्षम खेलाडी उत्पादनका लागि तालिम सञ्चालन गरिएको बताउनुभयो । बालबालिकाको प्रतिभालाई उजागर गरि सक्षम खेलाडी उत्पादन गर्न प्रशिक्षण चलाइएको हो,नगर प्रमुख थापाले भन्नुभयो- बालबालिकालाई खेलकुदको माध्यमबाट अनुशासन, शारीरिक, मानसिक तथा भावनात्मक विकासमा टेवा पुर्याउने उद्देश्य प्रशिक्षणको छ । “मेयर कप सञ्चालन हुँदा धेरै बालबालिकाले यस्तो अवसर नपाएको, सिक्ने उमेरका बालबालिकालाई खेल सिकाउन र खेलमा प्रोत्साहन गर्न मद्दत पुगेको उहाँको भनाई छ । आगामी दिनमा अन्य खेल विधाहरूलाई पनि प्रशिक्षण विस्तार गर्ने उहाँले जानकारी दिनुभयो ।
कार्यक्रममा इलाका प्रशासन कार्यालय रामपुरका प्रमुख उदयराज भट्टराईले बालबालिकाको प्रतिभा देखाउने अवसर प्रशिक्षणले प्रदान गरेको बताउनुभयो । रामपुर नगरपालिका वडा नं.५ का अध्यक्ष दुर्गा प्रसाद पोखरेलले खेलाडीहरूले खेलको माध्यमबाट नगरको पहिचान स्थापित गर्न सफल भएको उल्लेख गर्नुभयो। वडा नं.६ का वडा अध्यक्ष दिवाकर देवकोटाले प्रशिक्षणले बालबालिकाको सोच र व्यवहारमा परिवर्तन ल्याएको बताउनुभयो । वडा नं. ७ का अध्यक्ष दोवराज तिवारीले नगरपालिकाले खेल क्षेत्रमा आवश्यक लगानी गर्दै आएको बताउनुभयो ।

दरैठाँटी माध्यमिक विद्यालयको सभाहल विजयपुरमा भएको कार्यक्रममा नेपाली कांग्रेस रामपुर नगर सभापति नेत्र प्रसाद भट्टराईले प्रशिक्षणले सिकाइसँगै बालबालिकाको प्रतिभा उजागर गर्न मद्दत गरेको बताउनुभयो। नेकपा माओवादी केन्द्रका उपाध्यक्ष गिता वि.क.ले महिलाहरूको सहभागिता गौरवको विषय भएको बताउनुभयो। राष्ट्रिय जनमोर्चा रामपुर नगर अध्यक्ष रामप्रसाद गैरेले विद्यालय स्तरमै प्रशिक्षण कार्यक्रम सञ्चालन गर्नु अति उत्तम रहेको उल्लेख गर्नुभयो ।
दरैंठाँटी माध्यमिक विद्यालयका प्रधानाध्यापक सुन्दर प्रसाद देवकोटाले प्रशिक्षणले खेलकुद सीप मात्र नभई अनुशासन र मेहनत गर्न सिकाएको बताउनुभयो। यसैगरी, नगर खेलकुद विकास समितिका अध्यक्ष कमल सेनले खेलाडी उत्पादनसँगै खेल क्षेत्रको विकासका लागि कार्यक्रमलाई अझ परिस्कृत बनाउँदै लैजाने प्रतिबद्धता व्यक्त गर्नुभयो।

समापनका अवसरमा लुम्बिनी प्रदेशस्तरीय विभिन्न खेलकुद प्रतियोगिता, राष्ट्रपति रनिङ शिल्ड, तथा पालिका स्तरीय प्रतियोगितामा विजयी खेलाडी र प्रशिक्षकहरूलाई सम्मान गरिएको छ। प्रशिक्षणमा फुटबल तर्फ ८ देखि १२ वर्ष सम्मका बालबालिका र भलिबल तर्फ २० वर्ष मुनिका बालबालिका तथा किशोरकिशोरी गरि झण्डै ६ सय सहभागी भएका थिए ।

नगर खेलकुद विकास समितिका अध्यक्ष कमल सेनको अध्यक्षतामा भएको खेल प्रशिक्षण समापन कार्यक्रम नगर खेलकुद विकास समिति सदस्य डोलराज श्रेष्ठको स्वागतबाट र सचिव जमुना रानाको सञ्चालनम भएको हो।