रामपुर साहित्यिक प्रतिष्ठानको दशौ बार्षिकउत्सव, कबितामा शारदा श्रेष्ठ प्रथम
पाल्पा ।
रामपुर साहित्यिक प्रतिष्ठानको दशौँ वार्षिकोत्सव कविता वाचन प्रतियोगिता सहित विविध कार्यक्रम गरि सम्पन्न गरेको छ।
प्रतियोगितामा प्रथम रामपुर अङ्ग्रेजी आवासीय माविका विद्यार्थी शारदा प्रसाद श्रेष्ठ, द्दितिय जन विकास माविका सिमा श्रेष्ठ, तृतीय रामतुलसी माविका विद्यार्थी सविक्षा न्यौपाने र रिद्दी अधिकारी सान्त्वना हुनुभएको छ । नगरपालिकाको मावि तह स्तरीय प्रतियोगितामा नगरका ६ विद्यालयले भाग लिएको थियो । जनकल्याण मावि रामटारका विद्यार्थी दिब्या चापागाईं र भानुभक्त माविका विद्यार्थी थानेश्वर बस्याललाई प्रोत्साहन पुरस्कार प्रदान गरिएको थियो।
प्रतिष्ठानका अध्यक्ष मित्रलाल गौतमको अध्यक्षतामा भएको कार्यक्रममा अध्यक्ष गौतमले वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै संस्थाले आर्थिक वर्षमा १ लाख २२ हजार १ सय ४७ रुपैयाँ आम्दानी गरेको र ४२ हजार ४ सय ३ रुपैयाँ खर्च भएको र ७९ हजार ७ सय ४४ रुपैयाँ आम्दानी रहेको जानकारी दिनुभयो।
शहीद बहुमुखी क्याम्पस रामपुरका प्रमुख मुरारी प्रसाद काफ्लेको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा बोल्दै काफ्लेले साहित्य समाजको ऐना भएको र साहित्य बिना समाज अधूरो हुने धारणा व्यक्त गर्नुभयो। उहाँले भन्नुभयो- “यस्ता कार्यक्रमले नयाँ पुस्तालाई साहित्य र संस्कृतितर्फ आकर्षित गर्ने मात्र होइन, उनीहरूको लुकेर रहेका प्रतिभालाई उजागर गर्न मद्दत गर्दछ। युवा पुस्ताले कलम समाउन सिक्नुपर्छ, किनभने आजको कलम नै भोलिको समाज परिवर्तनको मूल आधार हो- उहाँले थप्नुभयो ।
वडा नं. ७ का वडा अध्यक्ष दोबराज तिवारीले साहित्यक प्रतिष्ठानले गरेका गतिविधि अनुकरणीय छ भन्नुभयो । रामपुर साहित्यिक प्रतिष्ठानका सस्थापक अध्यक्ष बासुदेव ढकालले प्रतिष्ठानको शुरुवात संघर्षले गरेको र यसको निरन्तरताको शुभकामना दिनुभयो ।
वडा सदस्य गीता पौडेलले विद्यार्थीको प्रतिभा प्रस्फुटन गर्ने अबसर भएको बताउनुभयो । लुम्बिनी बाङ्मय साहित्यिक प्रतिष्ठान पाल्पाका अध्यक्ष कृष्णकला भन्डारी, कालीगण्डकी संरक्षण अभियान्ता कृष्ण प्रसाद पौडेल, दशअबतार बालन सास्कृतिक समुहका अध्यक्ष हरि प्रसाद खनालले सनातन र सस्कृतिसंगै जोडिएको दशाबतार बालन स्थलमा १४ करोडको डिपिआरबाट संरचना बनाउन थालिएको बताउनुभयो । नेपाल पत्रकार महासंघ जिल्ला उपाध्यक्ष बन्दना पोखरेलले प्रतिष्ठानले खुला गरि सबैलाई जुटाउने गरि कार्यक्रम राख्नुपर्ने बताउनुभयो ।
प्रगतिशील लेखक संघ पाल्पाका अध्यक्ष राम प्रसाद गैरे, सेवा निवृत्त संघ नगर अध्यक्ष शेषकान्त भट्टराई, लुम्बिनी वाङ्मय साहित्यिक प्रतिष्ठानका जिल्ला अध्यक्ष कृष्णकला भण्डारी, कालीगण्डकी संरक्षण अभियानका अभियन्ता कृष्ण प्रसाद पौडेल लगायतले आफ्ना विचार राख्नुभएको थियो।
रामपुर नगरपालिका ७ साउनेधारास्थित बालन घरमा भएको कार्यक्रम रामपुर साहित्यिक प्रतिष्ठानका सचिव दीपकमणि अर्यालको स्वागत मन्तव्यबाट सुरु भएको थियो भने सञ्चालन प्रभा न्यौपानेले गर्नुभएको हो ।