बालमैत्री: रामपुर ५ मा वडा स्तरीय बालक्लब गठन
पाल्पा ।
रामपुर नगरपालिका वडा नम्बर ५ मा बालभेला तथा बालक्लबलाई खेलकुद सामाग्री हस्तान्तरण गरिएको छ । बालमैत्री स्थानीय शासन अबलम्बन कार्यक्रम अन्तर्गत रामपुर नगरपालिका–५ मा भएको भेलाले वडा स्तरीय बालक्लब गठन समेत गरेको छ ।
रामपुर नगरपालिका ५ का वडा अध्यक्ष दुर्गा प्रसाद पोखरेलको अध्यक्षतामा भएको कार्यक्रममा वडा भित्रका सामुदायिक र सस्थापक गरि ५ विद्यालय र १२ वटा टोलका बालक्लवका पदाधिकारीहरुको सहभागीता रहेको थियो ।
भेलाले शारदा प्रसाद श्रेष्ठको अध्यक्षतमा १३ सदस्य वडा स्तरीय बालक्वल गठन गरेको छ । भेलामा बोल्दै रामपुर नगरपालिका ५ का वडा अध्यक्ष दुर्गा प्रसाद पोखरेलले बालबालिकाको अधिकार, सामुहिक भावना विकास, नेतृत्व क्षमताको विकास र खेलकुदको माध्यमबाट शारीरिक मानसिक तथा चौतर्फी ज्ञान बढाउन वडा तहमा बालक्लबको विकास गरिएको बताउनुभयो ।
भेलामा रामपुर नगरपालिकाका प्रशासन शाखा प्रमुख युवराज पन्थीले बालक्लब के हो? यसको महत्त्व, गठन प्रक्रिया, काम कर्तव्य अधिकारको बारेमा सहजीकरण गर्नुभएको थियो । महिला तथा बालबालिका शाखा प्रमुख पुजा परियारले बालमैत्री स्थानीय शासन संगै बाल अधिकार, कर्तव्य, गलत मानसिकता/ सही मार्गदर्शनबारे प्रकाश पार्नु भएको थियो ।
कार्यक्रममा ५ वटा विद्यालय १२ वटा बालक्लव तथा टोल विकास संस्थाका पदाधिकारीहरुको सहभागीता रहेको थियो । सोही अवसरमा १२ वटा टोलका बालबालिकाहरुलाई खेलकुदका सामाग्री व्यामिण्टन, क्रिकेट, भलिबल र फुटबल खेलका सामग्री प्रदान गरिएको थियो ।
रामपुर नगरपालिका ५ नं. वडा सभाहलमा भएको कार्यक्रम कार्यपालिका सदस्य मायाँ नेपालीको स्वागत र वडा सचिव रजनी भण्डारीको सञ्चालनमा भएको हो ।