प्रमुखको सरुवा हुँदै गर्दा पाल्पा प्रहरीले गर्याे १४ महिनाकाे काम सार्वजनिक
पाल्पा ।
जिल्ला प्रहरी कार्यालय पाल्पाले १४ महिनामा गरेको प्रगति सार्वजनिक गरेको छ । पछिल्लो १४ महिनामा प्रहरीले गरेको अपराध नियन्त्रण, आत्महत्या न्युनीकरण, दुर्घटना न्युनीकरण, फरार अभियुक्त पक्राउ, नदीजन्य पदार्थ चोरी नियन्त्रणमा गरेका काम प्रहरीले सार्वजनिक गरेको हो ।
जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रमुख प्रहरी उपरीक्षक नरेन्द्र चन्दले आफूले पाल्पाको प्रहरी नेतृत्व सम्हालेपछि गरेको कामबारे बुधबार पत्रकार सम्मेलन गरेर सार्वजनिक गर्नुभयो । उहाँले पछिल्लो समय पाल्पामा साइबर अपराध बढेको बताउनुभयो । विगतमा भन्दा पछिल्लो १४ महिनामा साइबर अपराध बढेको छ उहाँले भन्नुभयो ।
यहाँले कुसुमखोलामा भएको महिलाको हत्यारा पत्ता लगाउने, ख्याहामा भएको युवती हत्या प्रकरणमा प्रहरी सफल रहेको बताउनुभयो । यस्तै पाल्पाको विभिन्न स्थानमा चोरीमा संलग्नलाई पक्राउ गरी कारबाही प्रक्रिया अगाडि बढेको प्रहरी उपरीक्षक चन्दले जानकारी दिनुभयो । जिल्लामा केही स्थानमा भएका चोरीका घटनामा भने प्रहरीले सोचेअनुसारको काम गर्न नसकेको उहाँले स्वीकार गर्नुभयो ।
जिल्लामा दरबन्दी अनुसारको प्रहरी पदपूर्ति नभएपनि प्रहरीले जिल्लाको शान्तिसुरक्षामा उल्लेखनीय काम गरेको प्रहरी प्रमुख चन्दको भनाई छ । १४ महिना प्रहरीको नेतृत्व गर्दा आफू र प्रहरी संगठनलाई सहयोग गर्ने सबैलाई उहाँले धन्यवाद दिनुभयो । प्रमुख चन्द सरुवा भई काठमाडौँ जान लाग्नुभएको हो ।