आयोजना प्रभावित हुन नदिन जनप्रतिनिधि सहितको टोली मन्त्रालयमा
लुम्बिनी ।
पाल्पाको रामपुरमा सञ्चालित सडक स्तरोन्नतिको कामलाई प्रभावित हुन नदिन जनप्रतिनिधि सहितको टोलीले प्रदेश सरकारलाई ध्यानाकर्षण गराएका छन् । लुम्बिनी प्रदेश आर्थिक मामिला तथा योजना मन्त्रालयमा पुगेर बजेटकै कारण योजना प्रभावित हुन नदिन र योजनाको काम समयमै सम्पन्न गर्ने वातावरण बनाई दिन टोलीले आग्रह गरेको हो ।
लुम्बिनी प्रदेश सभा सदस्य विर बहादुर राना, रामपुर नगरपालिकाका नगर प्रमुख रमण बहादुर थापा, नेपाली काङ्ग्रेस लुम्बिनी प्रदेश सदस्य तथा युवा नेता सन्दिप राना र रामपुर–५ का वडाध्यक्ष दुर्गा प्रसाद पोखरेल सहितको टोलीले लुम्बिनी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री धनेन्द्र कार्कीलाई भेटेर योजना समय मै सम्पन्न गर्नका लागि बजेटको व्यवस्था गर्न आग्रह गर्नुभएको हो ।
आर्थिक वर्ष २०७९/०८० मा लुम्बिनी प्रदेशका तत्कालीन मुख्यमन्त्री डिल्ली बहादुर चौधरीको पहलमा ग्रामीण विकास तथा साना सहरी पूर्वाधार आयोजना अन्तर्गत रामपुरमा बजेट विनियोजन भएको थियो । २०८०/०८१ मा ठेक्का सम्झौता भई आगामी असार भित्र निर्माण सम्पन्न गर्ने गरी योजना कार्यान्वयनमा छ । आयोजना अन्तर्गत अहिले बेझाँड बजार, बसपार्क र आसपासका क्षेत्रका सडक स्तरोन्नतिको काम चलिरहेको छ । रामपुर नगरपालिका वडा नम्बर ५ र ६ का बजार क्षेत्र तथा सहायक सडक गरी कुल १३ वटा सडक स्तरोन्नतिको काम भइरहेको छ ।
कालीगण्डकीवेशी क्षेत्रको मुख्य बजार बेझाँड क्षेत्रमा सडक स्तरोन्नतिको काम धमाधम भएपनि समयमै बजेट निकासा नहुँदा योजनाको काम प्रभावित हुने देखिएकाले मन्त्रालयमा पुगेर समय मै योजना सम्पन्न गर्ने वातावारण बनाईदिन आग्रह गरिएको रामपुर नगरपालिका प्रमुख रमण बहादुर थापाले जानकारी दिनुभयो ।
आयोजनाको विषयमा छलफल पश्चात आर्थिक मामिला तथा योजना मन्त्री धनेन्द्र कार्कीले प्रदेश बाट योजनाको लागि आवश्यक स्रोतको व्यवस्था गरे पनि समपुरक योजना भएकाले संघीय सरकार बाट बजेट नआउँदा समस्या भएकाले आवश्यक बजेटको लागि संघमा पहल गर्ने प्रतिवद्धता जनाउनुभएको छ । टालीले आर्थिक मामिला संगै प्रदेशका अन्य मन्त्रालयहरुमा रामपुर नगरपालिका सहित जिल्लाको विकास निर्माणका थप योजनाहरुको माग पेश गरेको छ ।
प्रदेश र संघ सरकारको समपूरक कोषबाट २६ करोड ७१ लाख विनियोजनमा २०८२ असार १५ भित्र निर्माण सम्पन्न गर्ने गरी गजेन्द्र/बि केबि जेभी वालिङले भ्याट र कन्टेन्जेन्सी बाहेक १५ करोड एक लाख ७६ हजार ९७८ रुपियाँ २० पैसामा आयोजनाको सम्झौता गरि आयोजनाको काम अगाडी बढेको छ। शहरी विकास तथा भवन कार्यालय मार्फत योजनाको काम भैरहेको छ । निर्माण व्यवसायीले भएका कामको भुक्तानी समय मै नआउँदा आयोजना अघि बढाउन समस्या भएको बताएको थियो ।
जस अनुसार बेझाँड बजार क्षेत्रको बाङ्गेपसल, सहकारी भवन र सहिदपार्क सम्म एक हजार ८३० मिटर, सिमलघारी बसपार्कदेखि सहिदपार्क सम्म ४ सय मिटर, ठूलोटार सम्म ५ सय मिटर, रामघाट सम्म ९२० मिटर, भम्बक करिडोरसम्म एक हजार १४० मिटर, राम्चेमार्गसम्म ३१० मिटर, सुन्दरटोल गैरीपथ नौ सय मिटर, हडेनी खोल्सीसम्म ३६० मिटर, मालपोत कार्यालय सम्म ३ सय मिटर, बाँझोबारी ६७० मिटर, गौशाला सम्म एक हजार १९० मिटर, गौरीघाट सडकसम्म ५३८ मिटर, दध्रानदेखि इलाका प्रहरी चौकी सम्म ३७० मिटर सडक स्तरोन्नतिको काम भैरहेको छ ।
नाली निर्माण सकिए संगै कल्भर्ट निर्माण र सडक पिचको काम चलिरहेको छ । साथै नगरपालिका परिसरमा कम्पाउण्ड सहितको पार्क निर्माण भैरहेको छ ।