कृषिलाई प्रोत्साहन गर्न तानसेनको तिन्टीआँपमा कृषि मेला तथा प्रदर्शनी
पाल्पा ।
‘कृषि उत्पादनमा सहभागी बनौँ, परनिर्भरताको अन्त्य गरौं’ भन्ने मुल नाराका साथ तानसेन नगरपालिका–९ तिन्टीआँपमा तेस्रो कृषि मेला तथा प्रदर्शनी २०८१ सञ्चालन भएको छ ।
मदनपोखरा संगम बहुउद्देशीय सहकारी संस्था लिमिटेडको आयोजना, तानसेन नगरपालिका–९ वडा कार्यालयको प्रवद्र्धनमा भएको तेस्रो कृषि मेलामा प्रतियोगात्मक कृषि बाली प्रदर्शनी, प्रतियोगितात्मक बाख्रा, कुखुरा, प्रदर्शनी, रैथाने बाली प्रदर्शनी, कृषि औजार प्रदर्शनी, विउविजन प्रदर्शनी, पशु रोग निदान तथा गोवर परिक्षण, कृषि उद्यम अनुभव आदान–प्रदान भएको छ । मेलामा ३५ भन्दा बढी स्टल छ ।
किसानलाई आफै विउविजन उत्पादन गर्न सक्ने बनाउनु, उनीहरुलाई व्यवसायिक र उद्यमी बनाउँदै गाडी चढ्ने स्तरसम्म पुर्याउनुको साथै किसानहरुमा जागरण पैदा गर्ने, कृषि तथा कृषकमुखी नीति निर्माण तथा बजेटमा सरोकारवाला निकायको ध्यान आकर्षण गराउनु मेलाको मुख्य उद्देश्य रहेको वडा अध्यक्ष राजेश कुमार अर्यालले बताउनुभयो ।
मदनपोखरा क्षेत्र आफैमा कृषि उर्वर भूमि भएकाले यसको प्रचार–प्रसार र किसानलाई थप व्यसायिक बन्न उत्प्रेरणा जगाउन मेला आयोजना गरिएको मदनपोखरा संगम बहुउद्देशीय सहकारी संस्थाका अध्यक्ष घनश्याम घिमिरेले बताउनुभयो ।