रामपुर नगरपालिकाका १९ सय ४४ किशोरीलाई “एचपिभी” खोप दिईने
पाल्पा ।
रामपुर नगरपालिका स्वास्थ्य शाखाको आयोजना एवं जनस्वास्थ्य कार्यालय पाल्पाको प्राविधिक सहयोगमा ‘ह्युमन प्यापिलोमा भाइरस’ (एचपिभी) खोप अभियान–२०८१ माघ २२ गतेबाट रामपुर नगरपालिकामा चल्ने भएको छ ।
नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख गिरीराज घिमिरेले यही माघ २२ देखि २८ गतेसम्म पहिलो चरणमा नगरका १ हजार ९ सय ४४ किशोरीलाई खोप दिइने जानकारी दिनुभयो । नगरपालिका भित्रका विद्यालयका कक्षा ६ देखि १० सम्मका र विद्यालय बाहिरका १० देखि १४ वर्ष उमेरसम्मका किशोरीलाई एचपिभी खोप लगाइने घिमिरेले बताउनुभयो ।
एचपिभी खोप अभियानका लागि नगरका सबै स्वास्थ्य संस्थाका प्रमुख र वडाका स्वास्थ्यकर्मीलाई तालिम दिइने र पत्रकार, विद्यालयका प्रध्यानध्यापक तथा प्रतिनिधिलाई तालिम दिइनेछ ।
यसै वर्षदेखि अभियानसहित नियमित खोप कार्यक्रममा समावेश गरेको एचपिभी खोप अभियानका लागि शतप्रतिशत लक्ष्य प्राप्ति हुने गरी तयारी गरिएको नगरपालिकाका नर्र्सिङ अधिकृत पुनम धितालले बताउनुभयो । उहाँका अनुसार रामपुर नगरपालिकामा माघ २२ देखि २८ गतेसम्म विद्यालयमा नै पुगेर खोप सञ्चालन गरिनेछ । रामपुर नगरपालिकाका सबै विद्यालयमा गरि कक्षा ६ का ३७६ जना र कक्षा ७ देखि १० सम्मका १५ सय ६८ जना विद्यार्थी गरि नगरपालिकाका १ हजार ९ सय ४४ बिद्यार्थी र स्कुल बाहिर रहेका किशोरीलाई खोप लगाइनेछ । विद्यालयमा खोप लगाएको भोलिपल्ट छुटपुट भएका सो समुहका किशोरीलाई सम्बन्धित वडाको स्वास्थ्य संस्थामा खोप दिइनेछ ।
रामपुर नगरपालिकामा वडा नम्बर १ मा ४४ जना, २ मा ८२ जना, ३ मा १५३ जना, ४ मा १११ जना, ५ मा ७२६ जना, ६ मा २१८ जना, ७ मा १४३ जना, ८ मा १४५ जना, ९ मा १०९ जना र १० नम्बर वडामा २१३ जना छात्रालाई खोप दिइनेछ ।
जिल्लामा एचपिभी खोपको सबै मात्रा बिहिबारसम्ममा आइपुगिसक्ने स्वास्थ्य कार्यालय पाल्पाका निमित्त प्रमुख टुक प्रसाद पोखरेलले जानकारी दिनुभयो । यसका लागि जिल्लाका सबै पालिकाका स्वास्थ्यकर्मीलाई अभिमुखीकरण चलाईसकिएको उहाँले बताउनुभयो । जिल्लामा पनि २ चरणमा खोप लगाईनेछ ।
महिलाहरूमा पाठेघरको मुखको क्यान्सर हुनबाट जोगाउन ग्लोबल एलायन्स (गाभी)को सहयोगमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले एचपिभी खोप ल्याएको हो ।
आ.ब.२०७२/०७३ मा चितवन र कास्कीमा परिक्षणका लागि यो खोप सञ्चालन भएको थियो । तत्कालिन अबस्थामा २ खोप लगाइएको खोप अहिले १ खोप लगाए पुग्ने स्वास्थ्यकर्मीको भनाई छ । २०७६/०७७ सालदेखि नेपाल सरकारले एचपिभी खोपलाई नियमित गराएको हो । गतबर्ष प्रत्येक प्रदेशका १/१ अस्पताल तोकेर यो खोप सञ्चालन गरिएकोमा नेपाल सरकारले यसबर्ष “एचपिभी खोप अभियान २०८१ सञ्चालन कार्यनिति” बनाई देशभरका किशोरीलाई खोप दिने गरि अभियान चलाएको हो ।
आगामी आर्थिक बर्षदेखि नेपाल सरकारले यो खोपलाई अन्य खोप जस्तै नियमित खोपमा लैजाने निर्णय गरिसकेको छ ।