सरकारले १६ लाख किशोरीलाई क्यान्सरविरुद्धको खोप दिदै
काठमाडौँ ।
स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले सरकारले १६ लाख किशोरीलाई क्यान्सरविरुद्धको खोप लगाउन लागेको बताउनुभएको छ ।
काठमाडौँको टोखामा भएको एक कार्यक्रमको उद्घाटन गर्दै उहाँले १० देखि १४ वर्षसम्मका १६ लाख किशोरीलाई क्यान्सरविरुद्धको खोप लगाउन सरकार लागिपरेको बताउनुभयो ।
“महिलामा क्यान्सर हुन नदिन सरकारले यही माघ २२ देखि देशभरका १६ लाख किशोरीमा क्यान्सरविरुद्धको खोप प्रदान गर्न लागेको छ”स्वास्थ्यमन्त्री पौडेलले भन्नुभयो – पाँच वटा अस्पतालमा किशोरीका लागि क्यान्सरको निःशुल्क उपचारको व्यवस्था सरकारले मिलाएको छ । सरकारले पक्षघातको औषधि निःशुल्क वितरण गर्ने गरी कार्ययोजना अगाडि बढाएको पनि उहाँले जानकारी दिनुभयो ।
स्वास्थ्यमन्त्री पौडेलले नागरिकको योगदानमा आधारित कोष बढाएर स्वास्थ्य बिमाको रकमसमेत बढाउँदै आमनागरिकको उपचारमा खर्च गर्नेगरी सरकारले योजना बनाएको उल्लेख गर्नुभयो ।“हाल स्वास्थ्य विमाको रकम १ लाख रहेको छ, हामी त्यसलाई बढाएर ५ लाख बनाउने गरी योजना बनाइरहेका छौँ”, उहाँले भन्नुभयो । छरिएर रहेको स्वास्थ्य रकमलाई बिमा कोषमार्फत उपचार गराउने प्रबन्ध गरिने उहाँको भनाइ थियो ।
उहाँले नेपालको स्वास्थ्य क्षेत्र धेरै सुधारिएको भए पनि अझै पर्याप्त नभएको उल्लेख गर्नुभयो ।