रामपुरमा सञ्चालित महायज्ञमा अहिलेसम्मकै ठूलो दान, राना परिवारबाट ३१ लाख रकम दान
पाल्पा ।
शहिद बहुमुखी क्याम्पस रामपुर पाल्पामा जारी महायज्ञमा रामपुर ७ निवासी राना परिवारले ३१ लाख रुपैयाँ दान गर्नुभएको छ ।
महायज्ञमा रामपुर नगरपालिका ७ छहारापानी निबासी मान बहादुर राना र रामकुमारी रानाले ३१ लाख रुपैयाँ दान प्रदान गर्नु भएको हो ।
शहीद क्याम्पसमा संकाय थप, सिपमूलक शिक्षा र टाढाबाट आउने विद्यार्थीका लागि छात्राबासको स्थापना गर्ने उद्देश्यले गत पुस १६ देखि जारी धनधान्याञ्चल श्रीमद्भागवत् ज्ञान महायज्ञ एवं धार्मिक महोत्सवमा आइतबार अहिलेसम्मकै ठूलो रकम दान राना परिवारले गरेको हो ।
युवा नेता एवं समाजसेवी रहनुभएका सन्दिप राना र भक्त बहादुर रानाको बुवाआमाले क्याम्पसमा छात्रबास निर्माणका लागि २१ लाख र विद्यार्थी कल्याणकारी कोषको लागि १० लाख गरी ३१ लाख रुपैयाँ प्रदान गर्नुभएको आर्थिक संकलन समितिका संयोजक शुकदेव पोखरेलले बताउनुभयो ।
क्याम्पसको थप विकास र शैक्षिक उन्नयनका लागि युवा नेता रहनुभएका सन्दीप राना र उहाँका परिवारले गरेको सहयोग प्रति धन्यवाद दिदै क्याम्पस अध्यक्ष तथा मुल आयोजक समिति अध्यक्ष नेत्र प्रसाद भट्टराईले क्याम्पसले लिएको उद्देश्यमा आम यहाँका नागरिकले महायज्ञलाई भव्य बनाउदै आएको बताउनुभयो ।
आइतबार पनि उल्लेख्य भत्तजनको सहभागीता रहेको महायज्ञमा दानदाताहरुलाई मुल पण्डित वाचन प्रविण पण्डित दिनबन्धु पोखरेल र सभानायक मोहन प्रसाद भट्टराई सहितले सम्मान गर्नुभएको थियो । महायज्ञको दिन घर्किदै जादा भक्तजनको उपस्थिति उत्तिकै बाक्लिदै गएको छ । महायज्ञ पुष २३ गते समापन हुनेछ ।