गाउँमै आएको एकीकृत घुम्ती शिविरमा उत्पादन देखाउन पाउँदा निस्दीका किसान हर्षित
पाल्पा ।
निस्दी गाउँपालिकाले सञ्चालन गरेको एकीकृत घुम्ती शिविरमा किसानले उत्पादन गरेका कृषि उत्पादन देखाउन पाउँद खुशी भएका छ्न् ।
घुम्ती शिबिर बिगतमा हुँदै आएपनि पहिलोपटक शिबिरमा कृषि उपज प्रदर्शनी राखिएको हो । साथै शैक्षिक सामाग्री पनि पहिलोपटक समेटिएको छ । गाउँका नागरिकलाई पालिकामा सेवा लिन जान टाढा हुने हुँदा निस्दीले बार्षिक कार्ययोजना बनाएर सबै वडामा शिबिर लगेको गाउँपालिका अध्यक्ष मुक्त बहादुर सारुले बताउनुभयो ।
एउटा सानो योजना सम्झौताको लागि पालिकासम्म धाउनुपर्ने कष्ट गाउँमा आएको एकीकृत शिबिरले हटाएको छ ।
झण्डै ४ वर्षदेखि व्यावसायिक रूपमा तरकारी खेती गर्दै आउनुभएका गल्धाका सुर्य बहादुर खाम्चाले आफू वडाभरिकै उत्कृष्ट कृषकको रूपमा पुरस्कृत हुँदा खुसी भएको बताउनुभयो । मसँग अन्य थुप्रै तरकारी पनि थियो तर लोकल साग त अन्य कृषकहरुले पक्कै ल्याउनुहुन्न होला भनेर लिएर गएँ, प्रथम पो भएछु-खाम्चाले भन्नुभयो-पुरस्कार पाउनु ठुलो कुरा होइन, सबैको अगाडि सम्मान हुन पाउदा काम गर्ने थप जाँगर आएको छ । खाम्चाले गल्धाको ढुंगानावेशीमा करिव ६ रोपनी जग्गामा बहत्तरी कृषि फार्म दर्ता गरेर व्यावसायिक रूपमा तरकारी खेती गर्दै आउनुभएको छ । शिविरमा अरु १ सय ९४ जना कृषकहरुले कृषि उपज सामग्री पर्दर्शनको लागि ल्याएका थिए । खाम्चा जस्तै अन्य कृषकहरुलाई पनि पालिकाले सम्मान गरेको छ ।
गएको पुस ६ गते बाकामलाङदेखि शुरूवात भएको शिविर १२ गते शनिबार अर्चलेमा पुगेर सम्पन्न भएको छ । पालिकाको सात वटै वडामा शिविर चलेको हो । शिबिरमा ७२ वटा योजनाको सम्झौता भएको छ । त्यसैगरी १३ वटा योजनाको पेश्की भुक्तानी, २३ वटा व्यवसायको दर्ता, ३८ वटा व्यवसायको नवीकरण भएको योजना अधिकृत तथा सूचना अधिकारी अर्जुन खनालले बताउनुभयो ।
शिविरमा ८४ जना कृषकले माटो परिक्षण गराएका छन् । ८० वर्ष माथिका २ सय २७ जना जेष्ठनागरिकलाई सम्मान गरिएको छ भने १६ जना असहाय महिलालाई राहत वितरण र ६ जनालाई अपांग परिचयपत्र वितरण गरेको खनालले बताउनुभयो ।
शिविरमा ५ सय ५१ जनाको स्वास्थ्य परीक्षण तथा औषधी वितरण, ६ सय ७८ जनाको दन्त परीक्षण, २ सय ५ जनालाई आयुर्वेदिक औषधी वितरण गरिएको छ । त्यसैगरी ४६ जना गरिब तथा असहायलाई सुरक्षा सामग्री वितरण गरिनुका साथै २९ हजार ५ सय ५६ वटा पशुपंक्षीको लागि औषधी वितरण भएको छ । यसपटकको शिविरमा पालिकाको ५१ वटा विद्यालयले ६ सय ७९ किसिमका शैक्षिक सामग्री पर्दर्शन गरेको गाउँपालिकाका प्रवक्ता मेख बहादुर सुनारीले बताउनुभएको छ ।