तानसेन बजारको विद्युत् आपूर्ती सहज हुने
पाल्पा ।
तानसेन बजार क्षेत्रको विद्युत् आपूर्ति सहज बनाउन सिटी फिडरको शुभारम्भ गरिएको छ । नेपाल विद्युत प्राधिकरण पाल्पा वितरण केन्द्रले तानसेन १, बराङ्दीमा फिडरकाे व्यवस्था गरेकाे हाे ।
लुम्बिनी प्रदेशका सांसद वीरबहादुर राना र तानसेन नगरपालिकाका नगर प्रमुख सन्तोषलाल श्रेष्ठले संयुक्त रुपमा तानसेन नगरपालिका–१ बराङ्दीमा रहेको मुख्य ट्रान्सफर्मरको स्वीच अन गरेर विद्युत् फिडर सेवाको शुभारम्भ गर्नुभयो । सेवा सुरु भएसंगै बजार क्षेत्रमा लाइन जाने समस्याको अन्त्य भएको छ ।
ग्रामीण क्षेत्रमा हावा, हुरी र अन्य कारणले विद्युत अवरुद्ध हुँदा तानसेन बजारको लाइन अवरुद्ध हुने अवस्था बजारबासीले झेल्दै आएका थिए । समस्या समाधानका लागि सिटी फिडर जडान गरी बजार क्षेत्रको विद्युत् आपूर्ति सहज बनाइएको केन्द्रका प्रमुख दिलिप मरासिनीले बताउनुभयो ।
उहाँले ग्रामीण क्षेत्रको लाईन र बजार क्षेत्रका केही टोलहरुमा सप्लाई हुने विद्युत एउटै फिडरबाट आपूर्ति हुँदा बजार क्षेत्रको विद्युत् आपूर्ति असहज हुने गरेकोमा आगामी दिनमा बजार क्षेत्रको विद्युत् आपूर्ति सहज हुने बताउनुभयो । केन्द्रले अब गाउँतिरको विद्युतमा कतै समस्या भए पनि बजार क्षेत्र अन्धकारमा बस्नुपर्ने अवस्थाको अन्त्य भएको जनाएको छ । उहाँले गाउँमा पनि बिजुली जाने समस्याको अन्त्य गर्न पहल गरिरहेको बताउनुभयो ।