चिच्याएर वर माग्ने सत्यवतीको भेटी गन्न शुरु
पाल्पा ।
पाल्पामा मनाइने अनौठो सत्यवती मेलामा आएका भत्तजनले चढाएका भेटी गन्न थालिएको छ ।
पाल्पाको तिनाउ गाउँपालिका ४ सत्यवतीमा कात्तिक २७ गतेदेखि ३० गतेसम्म यस बर्स्ष ४ दिन मेला लागेको थियो । वर माग्ने मेलामा भक्तजनले मन्दिरमा चढाएका भेटी गन्न सुरु गरिएको हो । भक्तजनले मन्दिरमा चढाएका भेटी आतइबारदेखि गन्न सुरु गरिएको मन्दिर व्यवस्थापन समितिले जनाएको छ ।
तिनाउ गाउँपालिकाका प्रतिनिधि, कर्मचारी, प्रहरी, मन्दिर व्यवस्थापन समितिका पदाधिकारी भेटी गणनामा खटिएका छन् । पहिलो दिन आइतबार २६ लाख बढी भेटी गनेर सकिएको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष दानबहादुर गाहाले बताउनुभयो । गनिएको भेटी रकम बैँकमा जम्मा गरिएको गाहाले बताउनुभयो ।
बाँकी भेटी सोमबार गनिने उहाँले जानकारी दिनुभयो । भेटी गनेर सकिएपछि सदा झै सार्वजनिक गर्ने कार्यक्रम रहेको समितिले जनाएको छ ।
गत वर्ष सत्यवती मेलामा १८ लाख ५० हजार भेटी सङ्कलन भएको थियो । यो वर्ष जोग परेको र आउने भक्तजनको सङ्ख्या बढेकाले भेटी बढेको समितिको भनाई छ ।
चार दिनसम्म चलेको चिच्याएर वर माग्ने मेलामा ३ लाख भक्तजन सहभागी भएको अनुमान छ ।
पाल्पाको सत्यवतीमा हरेक वर्ष तिहारपछि पूर्णिमामा अनौठो मानिने चिच्याएर वर माग्ने मेला लाग्ने परम्परा रहेको छ । यहाँ नेपाल सहित भारतका विभिन्न शहरबाट भक्तजन मेला भर्न आउने गर्छ्न् । विशेष गरि सत्यवती बज्यै कान नसुन्ने भएकोले चिच्याएर वर माग्ने शैली नेपालमै एकमात्र सत्यवती भएकोले अनौठो मेलाको रुपमा भक्तजन आउने गर्दछन् ।
जहाँ प्रेमी प्रेमिका, घर परिवार सदस्य आफन्तको भलोको लागि बासको लिगो सत्यवती तलमा गाडेर पुजा गरेर चिच्याएर वर मागिन्छ ।