स्थानीय तह उपनिर्वाचनको तयारी पूरा, आइतबार मनोनयन दर्ता हुने
काठमाण्डौ ।
आगामी मंसिर १६ गते हुने पालिका तह स्तरीय उपचुनावका लागि मनोनयन पत्र दर्ता हुँदैछ ।
आइतबार बिहान १० देखि बेलुका ५ बजेसम्म सम्बन्धित पालिकामा स्थापना भएका निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारको मनोनयन दर्ता हुने निर्वाचन आयोगका सहसचिव एवम् प्रवक्ता नीता पोखरेल अर्यालले जानकारी दिनुभयो ।
भोलि बेलुका ६ बजेपछि उम्मेदवारको सूची प्रकाशन हुनेछ । उम्मेदवारको मनोनयन दर्ताको सम्पूर्ण तयारी पूरा भएको आयोगले जनाएको छ । उपचुनावका लागि ३८ वटा निर्वाचन अधिकृतका कार्यलय स्थापना भएका छन् ।
निर्वाचन कार्यतालिका अनुसार मंसिर ३ गते बिहान १० देखि दिउँसो ३ बजेसम्म उम्मेदवारको विरोधमा उजुरी दिने, दिउँसो ३ बजेपछि मनोनयपत्र र उजुरीमाथि जाँचबुझ एवम् निर्णय गरी मङ्सिर ४ गते बेलुका ५ देखि ६ बजेसम्म उम्मेदवारको नामावली प्रकाशन हुनेछ ।
मङ्सिर १६ गते बिहान ७ देखि अपराह्न ५ बजेसम्म मतदान हुनेछ । विभिन्न कारणले रिक्त जिल्ला समन्वय समितिका प्रमुख दुई, गाउँपालिका अध्यक्ष दुई, उपाध्यक्ष चार, नगरपालिका प्रमुख र उपप्रमुख एक/एक र वडाध्यक्ष ३४ गरी जम्मा ४४ रिक्त पदमा चुनाव हुँदैछ ।