पाल्पाको सत्यवतीमा यसबर्ष ४ दिन मेला लाग्ने
पाल्पा ।
पाल्पाको तिनाउ गाउँपालिका–४ सत्यवती मन्दिरमा कात्तिक पूर्णिमाको अवसरमा हरेक वर्ष लाग्ने सत्यवती मेला यसबर्ष ४ दिन लाग्ने भएको छ । कात्तिक २७ एकादशीबाट ३० गतेसम्म सञ्चालन हुने मेलाको तयारी गरिएको सत्यवती ताल तथा मन्दिर व्यवस्थापन समितिले जनाएको छ ।
मेला व्यवस्थापनका लागि मन्दिर परिसरमा सर्वपक्षीय छलफल सम्पन्न भएको छ । तिनाउ गाउँपालिकाको आयोजनामा ताल तथा मन्दिर व्यवस्थापन समिति, वडाका जनप्रतिनिधि, प्रमुख जिल्ला अधिकारी, नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना लगायत सबै सुरक्षा निकायका प्रतिनिधिहरुको सहभागितामा मेला व्यवस्थापन, शान्ति सुरक्षा, भक्तजनका लागि यातायात लगायतका विषयमा छलफल भएको हो ।
तिनाउ गाउँपालिका अध्यक्ष प्रेम श्रेष्ठले भक्तजनले दुःख नपाउने गरी व्यवस्थापनलाई चुस्त राख्न सुरक्षा निकाय, यातायात व्यवसायी, ट्राफिक प्रहरी, स्थानीय जनप्रतिनिधि तथा सरोकारवाला निकायसँग आवश्यक सुझावसहित अनुरोध गर्नुभयो । भक्तजनको सहजका लागि मोटरबाटो मर्मत तथा सुधार गरिनुका साथै यातायात भाडादरमा समेत एकरुपमा कायम गरिएको अध्यक्ष श्रेष्ठले बताउनुभयो ।
गाउँपालिका उपाध्यक्ष लालबहादुर थापाले मेला व्यवस्थापन तथा शान्ति सुरक्षाका लागि शिल्ला प्रशासनसहित सुरक्षा निकायका प्रनिधिहरुसँग छलफल गरी आवश्यक समन्वय गरिएको जानकारी दिनुभयो। मन्दिर परिसरमा लाइटिङको व्यवस्था तथा ठाउँ–ठाउँमा सिसिटिभी क्यामेरा जडान गरिनुका साथै मदिराजन्य पदार्थलाई निषेधित गरिएको छ ।
भाडादरमा एकरुपता ल्याउँदै मन्दिरसम्म पुग्नका लागि सिद्धार्थराजमार्गदेखि मन्दिरसम्म २ सय रुपैयाँ कायम गरिएको छ । मेला अवधिमा सवारी साधनमा क्षमताभन्दा बढी यात्रु बोक्न नपाइने, ठाउँ–ठाउँमा ट्राफिक प्रहरी परिचालन गरी कडाईकासाथ लागू गरिनेछ ।
पाल्पाका प्रमुख जिल्ला अधिकारी तोयनारायण अधिकारीले मेलालाई सभ्य र भव्य बनाउन आवश्यक सुरक्षा गस्तिको व्यवस्था गरिने जानकारी दिनुभयो । मेला अवधिमा भक्तजनले सजगता अपनाउनु पर्ने र भिडभाडमा हराउन सक्ने भएकाले बहुमुल्य सामान तथा गरहँना नल्याउन आग्रह गर्नुभयो।
यहाँ परम्परादेखि नै चिच्याएर बर माग्ने अनौठो मेला लाग्ने गर्दछ । यस वर्ष जोग परेका कारण विगतका वर्षभन्दा भक्तजनको सङ्ख्या बढी हुने समितिका अध्यक्ष दानबहादुर गाहाले बताउनुभयो। तिहारपछिको पूर्णिमामा सत्यवती मेला लाग्ने गर्दछ भने उक्त पूर्णिमा कात्र्तिक महिनाभित्र परेमा जोग परेको मानिने प्रचलन रहेको छ । उक्त प्रचलन अनुसार जोग परेको समयमा मन्दिरमा पूजा गरेर वर मागेमा सत्यवती बजैले पूरा गरिदिने जनविश्वास रहेको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष गाहाले जानकारी दिनुभयो । परापूर्व कालमा सत्यवती बज्यै घना जङ्गलकोबीचमा आई तपस्या गरेपछि शक्ति प्राप्त गरेको किमबदन्तीमा उल्लेख छ ।
सत्यवती बज्यै कानले नसुन्ने बहिरी भएकाले भक्तजनले सत्यवती ताल नजिकै पुगेर चिच्याएर मनमा चिताएको बर मागेमा बज्यैले पूरा गरिदिने जनविश्वास रहेको छ । यही विश्वासका कारण यहाँ हरेक वर्ष तिहारपछिको पूर्णिमामा मेलामा हजारौँ भक्तजन बर माग्ने मेलामा सहभागी हुने गर्दछन् ।
बर माग्ने भक्तजनले बाँस, निगालो, साल आदि जातका लिङ्गो लिएर रातिको समयमा तालमा गाड्ने र आफूले गाडेको लिङ्गो भोलिपल्ट चिनेर त्यही पूजा गरेपछि घरमा फर्कने परम्परा रहेको छ । ताल नजिकै रहेको मन्दिरमा बोका, पाठी लगायतको बली चढाउनुका साथै परेवा उडाउने प्रचलन छ ।
यहाँ परापूर्व कालदेखि नै बर माग्नका लागि नेपालका विभिन्न जिल्लासहित भारतबाट समेत ठूलो संख्यामा भक्तजन आउने गरेको स्थानीयहरु बताउँछन् । यो वर्ष दुई लाखभन्दा बढी भक्तजन मेलामा सहभागी हुने अपेक्षा मेला व्यवस्थापन समितिले गरेको छ ।