नेवा समाज रामपुरको बृहत लाखेनाच प्रदर्शनी, २८ समूहले देखाए लाखेनाच
पाल्पा ।
विगत १६ बर्षदेखि रामपुरमा प्रर्दशन हुदै आएको लाखेनाच ४ जिल्लाको संगम पाल्पाको रामपुर बेझाँडबजारमा बुधबार प्रर्दशन बृहत रुपमा प्रदर्शन गरिएको छ ।

“हाम्रो पहिचान, संस्कृतिको सम्मान” भन्ने उद्घोष सहित भएको १४ औं बृहत लाखेनाच प्रद्र्धशनीमा पाल्पा सहित छिमेकी जिल्ला स्याङ्गजा, तनहुँ र नवलपरासी पुर्व नवलपुर जिल्लाबाट विभिन्न २८ लाखे समुहको सहभागिता रहेको थियो । पाल्पामा गाठेमंगलदेखि शुरु हुने विविध जात्रा भाद्र शुक्ल पुर्णिमा अर्थात् श्राद्ध पुर्णिमामा बृहत लाखे प्रदर्शन गरि लाखे बिसाउने गर्ददछ्न्।

लाखेनाच संरक्षण प्रर्बद्धन र पुस्ता जगेर्ना गर्ने उद्देश्यले रामपुर नेवाः समाज रामपुर पाल्पाको आयोजनामा चल्दै आएको प्रद्र्धशनी नेवाः देय दवु रामपुर नगर समितिको संरक्षणमा भएको हो ।
कार्यक्रममा लुम्बिनी प्रदेश सदस्य एवं नेवा समाज रामपुरका संस्थापक अध्यक्ष राजु प्रसाद श्रेष्ठले पुर्खादेखि चल्दै आएको संस्कृति नेवा समाजले संरक्षण गर्दै आएको बताउनुभयो । उहाँले रामपुर उपत्यकाका नेवार समुदाय र हटियाका कला, बस्तु, संस्कृति समेटेर यस वर्ष साझा सांस्कृतिक संग्राहालय निर्माण हुने बताउनुभयो ।

रामपुर नगरपालिकाका नगर प्रमुख रमण बहादुर थापाले नगर भित्रका सबै संस्कृतिको प्रवद्र्धनको लागि रामपुर नगरपालिकाले आवश्यक सहयोग गर्दै आएको बताउनुभयो । रामपुर उद्योग वाणिज्य संघ भोजेन्द्र प्रकाश ढकालले नेवारी संस्कृतिले पर्यटन प्रर्बद्धनमा जोड दिएको बताउनुभयो । कार्यक्रममा नेवाः देय दवु रामपुरका अध्यक्ष रुद्रनारायण श्रेष्ठले नेवार समुदायलाई एकतृत गर्ने काम गरेको बताउनुभयो । नेवाः देय दवु चापाकोटका सल्लाहाकार तथा चापाकोट नगरपालिकाका पूर्व उपप्रमुख विमला श्रेष्ठले कालीगण्डकी उपत्यकामा लाखेनाच प्रर्दशनीले महत्व बढेको बताउनुभयो । आदिबासी जनजाति महासंघ रामपुर नगर समन्वय परिषद्का अध्यक्ष बोम बहादुर नामजालीले संस्कृति संरक्षणमा यस्ता अभियान सार्थक हुने बताउनुभयो ।
रामपुर नेवाः समाजका अध्यक्ष बाबुराम श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा अध्यक्ष श्रेष्ठले नेवार समुदायको गहना संरक्षण सँगै नयाँ पुस्ताले पुर्खाको इतिहास बुझ्ने र अबलम्बन गर्ने परिपाटीको विकास नेवा समाजले गरेको बताउनुभयो । एकै थलोमा ४ जिल्लाको लाखेनाच प्रद्र्धशनीले एक ठाउँको लाखे नाच अर्को ठाउँको लाखेनाच बारे जानकार हुने अबसरले विविधतामा एकता थपिदिने समाजका सचिव बिमल श्रेष्ठले बताउनुभयो ।

आफ्नो समुदाय र क्षेत्रबाट व्यानर, भेषभुषा पोषाक सहित गानबजान लिएर सहभागी लाखेनाच समुहले लामबद्ध रुपमा रामपुरको बेझाँड बजार क्षेत्र परिक्रमा गरि बेझाँड कार्यक्रम स्थलमा जम्मा भएपछि पालैपालो बाधेर नाच प्रदर्शन गरेका थिए । पहिले पर्व विशेषमा निकालिने जात्रा पछिल्लो समय लाखेनाच प्रदर्शनीका रुपमा विकसित भएको हो । पछिल्ला केही बर्ष भएका लाखेनाच प्रदर्शनी अवलोकनका लागि हजारौंको संख्यामा दर्शकको सहभागिता रहने गरेको छ । पछिल्लो समय नेवार समुदाय संगै अन्य जातजाति समुदायमा पनि उत्तिकै लोकप्रिय बन्दै आएको छ ।

नेवाः देय दवु रामपुर नगरका वरिष्ठ उपाध्यक्ष मोहन प्रसाद श्रेष्ठको स्वागतबाट सुरु भएको लाखे प्रद्र्धशनी कार्यक्रमको सञ्चालन रामपुर नेवाः समाजका सचिव विमल श्रेष्ठ र सहसचिव सूर्य प्रसाद श्रेष्ठले गर्नुभएको हो । यसैबीचमा समाजले सधै जस्तो ८० बर्ष उमेर माथिका नागरिकलाई सम्मान गरेको छ । कार्यक्रमकै अबसरमा ८० वर्ष माथिका जेष्ठ नागरिकहरु समाङसिंका लालमति श्रेष्ठ, बेझाँडका शिव कुमारी श्रेष्ठ, द्रधानका मित्रीकुमारी श्रेष्ठ, भीमसेनटोलका चन्द्र बहादुर श्रेष्ठ र थलीकुमारी आले श्रेष्ठ, र ज्ञानकुमारी श्रेष्ठलाई सम्मान गरिएको समाजले जनाएको छ ।




