जनतालाई विकासको अनुभुति दिलाउने गरि सरकार अघि बढेको छ- वन तथा वातावरण राज्यमन्त्री बि.क.
पाल्पा ।
नेपाल सरकारका वन तथा वातावरण राज्यमन्त्री एवं नेपाली कांग्रेसका केन्द्रिय सदस्य रुपा वि.क.ले परिवर्तनको पक्षमा काम गर्ने गरि वर्तमान सरकार अगाडी बढेको बताउनुभएको छ । दुई ठूला दलको संयुक्त सरकार जनतालाई विकासको अनुभुति दिलाउने प्रतिवद्धता सहित सरकारमा गएको बताउनुभयो ।
पाल्पाको रामपुरमा नेपाल महिला संघ रामपुर नगर कार्य समितिले रामपुरमा आयोजना गरेको ३१ औं खुल्ला तिजगीत प्रतियोगितालाई सम्बोधन गर्दै उहाँले ‘विगतका सरकारका गतिविधि र अहिले हामी सरकारमा जाँदै गर्दाको गतिविधिहरुमा पक्कै पनि परिवर्तनको खाका आइसकेकोले आशा सहित बिश्वास लिई सबैमा आग्रह गर्नुभयो। हामी मन्त्रीहरु सरकारमा गएका छौं । हामीले त्यो भन्दा उत्कृष्ट कार्य गछौं भन्ने प्रण पनि गरेका छौं ।’ उहाँले भन्नुभयो-सरकारमा आफ्नो प्रतिनिधित्व नेपाली कांग्रेसको तर्फ बाट मात्र नभएर समग्र दलित समुदायको प्रतिनिधित्व भएको समेत बताउनुभयो । आफ्नो पहिलो ध्येय दलित समुदायको हक अधिकार र संविधान प्रदत हक अधिकारहरुलाई जनतामा कार्यान्वयनमा लैजान रहेको बताउनुभयो ।

राज्यमन्त्रीको पदभार ग्रहण संगै पहिलो पटक आफ्नो जन्मथलो पाल्पा आउनु भएकि राज्यमन्त्री वि.क.ले पाल्पाको क्षेत्र नं. १ को नेताहरुबाट पाएको राजनैतिक संस्कारले नै वर्तमान अवस्था सम्म आउन सफल भएको बताउनुभयो । जन्मिएको, हुर्कएको र राजनैतिक संस्कार पाएको जिल्ला पाल्पाको माया र साथ नै आफ्नो मार्गदर्शन रहेको बताउँनुभयो । ‘म सामान्य घर परिवारको छोरी हुँ । विशेष गरी पाल्पा क्षेत्र नं. १ का मेरा अग्रजहरुले मलाई हात डोर्याएर राजनीतिमा अगाडी बढाउनुभयो । आज कपिलवस्तुबाट प्रतिनिधि भएपनि यही सिकेको कला, संस्कार र सबैलाई मिलाएर जाने सबैको प्रिय बनेर अगाडी बढ्ने जुन पाठ पढे । पाल्पाको विकासको लागि आफ्नो स्थानबाट सक्दो पहल गर्ने प्रतिवद्धता पनि उहाँले जनाउनुभयो ।
उहाँले विभिन्न स्थानमा हुने यस्ता प्रतियोगिता कार्यक्रमले विकृति र विसंगतिको अन्त्य गर्दै मौलिक संस्कृतिको प्रवद्र्धनमा टेवा दिने बताउनुभयो । कार्यक्रमले हुने खाने र हुँदा खाने विचको विभेद अन्त्यका लागि पनि यो कार्यक्रमले सन्देश दिएको बताउनुभयो ।

नेपाली कांग्रेस पाल्पाका सभापति हिमालदत्त श्रेष्ठले कार्यक्रममा बोल्दै कांग्रेस जे बोल्छ सो काम पुरा गर्ने पार्टी भएको बताउनुभयो । सबैलाई मिलाएर अघि बढ्ने पाटी भएको बताउनुभयो । जिल्लामा कांग्रेस नेतृत्वको स्थानीय तहमा विकासले फड्को मार्दै गएको बताउनुभयो ।
नेपाली कांग्रेसका लुम्बिनी प्रदेश सदस्य विष्णु मायाँ ढकालले कांग्रेसको नेतृत्वमा विभिन्न समयमा मुलुकमा भएको परिवर्तनले महिलाहरुलाई अहिलेको अवस्थामा ल्याउन सफल भएको बताउनुभयो । उहाँले नेपालको संविधानले महिलाहरुलाई अधिकार सम्पन्न गराएको स्मरण गर्दै अब पूर्ण कार्यान्वयनको खाँचो रहेको बताउनुभयो । नेपाल महिला संघकी केन्द्रिय सदस्य पवित्रा पौडेल ढकालले पर्व र संस्कृति भड्किलो बन्दै गएको र त्यसका लागि महिला सशक्तिकरण र जागरणको खाँचो रहेको बताउनुभयो । रामपुर नगरपालिकाका उपप्रमुख बालकुमारी थापाले महिलाहरुको उत्थानका लागि नगरपालिकाले कार्यक्रम सञ्चालन गर्दै आएको बताउनुभयो ।
नेपाल महिला संघ रामपुरले विगत ३१ वर्ष देखि प्रत्येक वर्ष ऋषिपञ्चमीको भोलिपल्ट खुल्ला तीज गित प्रतियोगिता सञ्चालन गर्दै आईरहेको छ । सोही अनुसार ३१ औं खुला तीजगीत प्रतियोगिता आयोजना गरेको हो ।

भिन्न स्थानका १३ समुहको सहभागीता रहेको प्रतियोगितामा नेपाल विद्यार्थी संघ शहीद बहुमुखी क्याम्पसको समुह प्रथम, सीता पौडेल चापाकोट स्याङ्जाको समूह द्दितिय, क्षेत्री समाज रामपुर पाल्पाको समुह तृतीय, संयुक्त रुपमा सान्त्वना मिना पाठक रामपुर ६ को समुह र केवलघारी महिला उद्यमशिल समुह चापाकोट साखरको समूह भएको निर्णायक मण्डलका संयोजक रामप्रसाद ढकाल (रमेश)ले जानकारी दिनुभयो ।

प्रतियोगितामा विजयी समुहलाई नगद २० हजार , १५ हजार, १० हजार र ५ हजार सहित प्रमाण पत्र प्रदान गरिएको थियो । कार्यक्रमकमो अवसरमा संघले लोकतन्त्रमा स्थापनामा महत्वपूर्ण योगदान दिनुभएको व्यक्तित्वहरु रामपुर नगरपालिका ९ का लोक कुमारी सार्की, रामपुर ३ को तेजकुमारी घर्ती, रामपुर ७ को धनुमाया पौडेल, विष्णुमाया भट्टराई, रामपुर ५ का योगमाया गौतम, रामपुर ४ का जैतुन मियाँलाई सम्मान गरेको थियो । साथै २०८० सालको माध्यमिक शिक्षा परीक्षामा पाल्पा जिल्ला प्रथम हुन सफल दरैठाटी माबिका विद्यार्थी पूर्णिमा लक्ष्मी कुवँरलाई सम्मान गरेको छ । सो सम्मान पुर्णिमाका बुवा मान बहादुर र आमा विष्णु कुँवरले ग्रहण गर्नुभएको हो ।

कार्यक्रममा राष्ट्रिय लोक तथा दोहोरी गायिका शान्ति डोटेल,गायक सुरज भण्डारी, लक्ष्मी तिवारी (तिवारी आमा), मालती बि.क. लगाएतको प्रस्तुति रहेको थियो । प्रतियोगिता सफल बनाउन साथ र सहयोग गर्ने व्यक्तित्वहरुलाई सम्मान गरिएको थियो । बेझाँड बजार स्थित रामपुर युवा क्लवको मञ्चमा भएको प्रतियोगिता नेपाल महिला संघ रामपुर नगर समितिका सभापति शारदा आचार्यको अध्यक्षतामा भएको थियो । संघका उपसभापति सावित्रा गैरेको स्वागतबाट सुरु भएको कार्यक्रमको सञ्चालन संघका सचिव जमुना राना र पार्वती परियारले गर्नु भएको हो ।





