काङ्ग्रेस पाल्पाका पूर्वसभापति ठाकुरचन्द्र (विप्र) कोइरालाको निधन
पाल्पा ।
नेपाली काङ्ग्रेस पाल्पाका पूर्वसभापति ठाकुरचन्द्र (विप्र) कोइरालाको बिहीबार निधन भएको छ । प्रजातन्त्र सेनानी एवं नेपालको लोकतान्त्रिक आन्दोलनका अगुवा कोइरालाको ८५ वर्षको उमेरमा आफ्नै निवासमा निधन भएको हो ।
तानसेन नगरपालिका ६ बर्तुङमा निधन भएको हो । कोइराला २०४८ देखि २०५२ सालसम्म कांग्रेस पाल्पाको सभापति हुनुभएको थियो ।
संगठन निर्माणका क्रममा वि.सं. २०१५ सालमा युवा कांग्रेस पाल्पाको अध्यक्ष समेत हुनुहुन्थ्यो। कांग्रेसमा सादगी नेताको रुपमा परिचित कोइराला प्रजातन्त्रको पुन:स्थापनाका निम्ति वि.सं. २०१७ देखि ०४६ सालसम्मका आन्दोलनमा नेतृत्वदायी भूमिका खेल्नुभयो। सत्याग्रहमा समेत सक्रिय सहभागी उहाँ आन्दोलनका क्रममा पटक–पटक जेल जीवन बिताउनुभयो । निडर, प्रखर, अग्रणी र बफादार भूमिकामा रहनुभएका कोईरालाका स्वर्गीय कोइरालाका एक छोरी र तीन छोरामध्ये दुई छोरा र श्रीमतीको निधन भइसकेको छ ।
कोइरालाको निधनबाट पार्टीले अग्रज र अनुभवी अभिभावकलाई गुमाएको कांग्रेस पाल्पाले जनाएको छ । जिल्ला सभापति हिमालदत्त श्रेष्ठले विज्ञप्ति निकाल्दै कोइरालाको निधनमा दु:ख व्यक्त गर्दै दुई दिन पाल्पा तानसेनस्थित कांग्रेस पार्टी कार्यालय बन्द रहने र पार्टीको झण्डा आधा झुकाइने बताउनुभयो ।
कोइरालाको पार्थिव शरीरलाई श्रद्धाञ्जलीका लागि जिल्ला समिति, नगर समितिका पदाधिकारी, सदस्यहरु निवास पुगेका थिए । उनको पार्थिव शरीरलाई कालीगण्डकी नदीको राम्दी घाटमा बिहीबार नै दाहसंस्कार गरिएको वडाध्यक्ष सागरमान महर्जनले बताउनुभयो।
यसैबीच, कांग्रेस सभापति शेरबहादुर देउवाले प्रजातन्त्र सेनानी तथा पाल्पा कांग्रेसका पूर्वसभापति कोइरालाको निधनमा दुःख व्यक्त गरेका छन् । कांग्रेस पाल्पाका पूर्वसभापति ठाकुरचन्द्र (विप्र) कोइरालाको निधनको खबरले आफूलाई स्तब्ध र दुःखित बनाएको पार्टी सभापति देउवाको भनाइ उदृत गर्दै मुख्य सचिव कृष्णप्रसाद पौडेलले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।