रेसुङ्गा विमानस्थलबाट महिना दिनदेखि उडान हुन सकेन
गुल्मी ।
गुल्मी जिल्लाको रेसुङ्गा विमानस्थलमा एक महिना यता उडान हुन सकेकाे छैन । वर्षातकाे समय सुरू भएदेखि नै यहाँदेखि उडान हुन नसकेकाे हाे ।
असार दोस्रो सातादेखि उडान अवरुद्ध बनेको रेसुङ्गा विमानस्थलका प्रमुख सुमन थापाले जानकारी दिनुभएकाे छ ।
पछिल्लो समयमा साताको तीनपटक नियमित उडान गर्दै आएको नेपाल एयरलाइन्सले असार १४ गतेपछि उडान गर्न सकेको छैन ।
रेसुङ्गा‐काठमाडौँ र काठमाडौँ‐रेसुङ्गाका लागि टिकट काटेका यात्री दैनिक विमानस्थल पुगेर फर्किने गरेको उहाँले बताउनुभयाे । मौसममा सुधार नआउँदासम्म नियमित उडानमा समस्या हुने भएकाले यात्रीको सुरक्षालाई ध्यान दिँदै उडान रोकिएको प्रमुख थापाले बताउनुभयाे । गुल्मीको रेसुङ्गा विमानस्थल निगमको १८ सिट क्षमताको ट्विनअटर जहाजले उडान गर्दै आइरहेको छ । निगमले काठमाडौँबाट रेसुङ्गा लागि सात हजार पाँच सय र रेसुङ्गाबाट काठमाडौँका लागि सात हजार तीन सय भाडादर निर्धारण गरेको छ ।
रेसुङ्गा विमानस्थलमा दिउँसोको समयमा अत्यधिक हावा चल्ने भएकाले प्राविधिक दृष्टिकोणले बिहान ११ बजेसम्म मात्र उडान भर्न उपयुक्त मानिन्छ ।