पुर्वीपाल्पा समाज रुपन्देहीद्दारा रामपुरमा “जनतासंग समाज कार्यक्रम “
पाल्पा ।
देशकै आर्थिक राजधानी बुटवलमा स्थापना भएको पुर्वीपाल्पा समाज रुपन्देही, बुटवल–रामपुरले रामपुरमा ‘जनतासँग समाज कार्यक्रम’ गरेको छ ।
झण्डै ६ महिना अघि रुपन्देहीमा गठन भएको समाजले पहिलोपटक संस्थागत रुपमा जन्मथलोका सरोकारवाला जनतासँग सल्लाह सुझाब लिन र आफ्ना योजना कार्यक्रम राख्दै सहकार्य र समन्वय गर्न अन्तरक्रियामूलक कार्यक्रम गरेको हो ।
पाल्पाको रामपुर जन्मथलो भई हाल विभिन्न कारण रुपन्देही बस्दै आएका पुर्वी पाल्पालीहरुले एकबद्ध भई आफ्नो जन्मभुमिमा सहयोग तथा सेवा मार्फत योगदान दिन समिति गठन गरेका हुन् ।
समाजका अध्यक्ष सुनिल श्रेष्ठले रामपुर क्षेत्रको विकासको लागि सबै पुर्वी पाल्पालीहरु एक भएर विकास गर्ने संकल्प सहित समाज गठन गरेको बताउनुभयो । स्थापनाको छोटो समयमा नै समाजले विभिन्न कार्यक्रम अगाडी सारेको बताउदै उहाँले छात्रबृत्ति कोष स्थापना, छोरी शिक्षा कार्यक्रम, निशुल्क स्वास्थ्य शिविर, अस्पताललाई एम्बुलेन्स सेवा, शैक्षिक संस्थामा अन्य शैक्षिक क्रियाकलाप र समयसापेक्ष विभिन्न भेला कार्यक्रम गर्दै जाने बताउनुभयो ।

कार्यक्रममा बोल्दै लुम्बिनी प्रदेश सभा सदस्य एंव अर्थ, उद्योग तथा पर्यटन समिति सभापति राजु प्रसाद श्रेष्ठले पुर्वीपाल्पा समाज गठन गर्नु महत्वपुर्ण बिषय रहेको बताउदै अब यसले गर्ने हरेक सामाजिक काममा प्रदेश सभा सरकार र व्यक्तिगत तर्फबाट सदैव सहयोग रहने प्रतिवद्धता व्यक्त गर्नुभयो । उहाँले आम नागरिकको आधारभूत आवश्यकता स्वास्थ्य, शिक्षा, कृषि, पर्यटन र समग्र विकास यी ५ पक्षलाई समाजले प्राथमिकता दिएको र राज्यको लक्ष्य पनि यही भएको बताउनुभयो । प्रदेश सभा सदस्य श्रेष्ठले समग्र आर्थिक विकासको ढोका पर्यटन र ससाना उद्योगमा लगानीबाट हुने बताउदै सरकारले ५ लाख तलको स्थानीय सरकार र ५ लाख बढीको लगानीमा खोलिने उद्योग स्थानीय सरकारमा अधिकार नदिएकोमा समितिले आर्थिकको दायरामा बिभाजन गर्न नहुने भन्दै स्थानीयको अधिकार स्थानीय र प्रदेशको अधिकार प्रदेशको हिसाबले अधिकार बाड्नुपर्ने बिषय छलफलमा ल्याएको उल्लेख गर्नुभयो । उहाँले संघीयताको मर्म बिर्सेर राजनिति अर्कै ढंगमा लागेको बताउदै स्थिर सरकारको म्याडेड नपाउदा पनि जनताले चाहेजस्तो बिकास राज्यले गर्न नसकेको बताउनुभयो ।

रामपुर नगरपालिकाका प्रमुख रमण बहादुर थापाले रामपुर रुपन्देही समाजले जन्मथलो विर्सेवर नकारात्मक टिप्पणी गर्नेलाई पुर्वीपाल्पा समाज रुपन्देहीले राम्रो सन्देश दिएको बताउनुभयो । पाल्पा र रामपुरसँग जोडिएका केही समाज संस्था र सम्पर्क समिति छ यिनीहरुले यहीको विकासका लागि गरेको कामले सुखी लागेको छ उहाँले भन्नुभयो ।

रामपुर नगरपालिका वडा नम्बर ५ का वडाअध्यक्ष दुर्गा प्रसाद पोखरेलले जन्मस्थललाई माया गरेर सबैले दायित्व बुझेर खडा बढेको समाजले मिलेर गर्नुपर्छ भन्ने भावना उत्कृष्ट भएको बताउनुभयो । उहाँले रामपुरमा भौतिक विकाससँगै आत्मनिर्भर गराउन कृषिमा लगानीलाई प्राथमिकता दिनुपर्ने बताउनुभयो । वुटवलका तरकारी गाडी भरिएर रामपुर आउने र रित्तो गाडी बुटवल फर्किने हुँदा भरिएरै पठाउने गरि कृषिकर्ममा लाग्न र लगाउन तथा त्यो किसिमको प्रतिफल पाउने गरि काम गर्नुपर्नेमा जोड दिनुभयो ।

उद्योग वाणिज्य संघ रामपुरका अध्यक्ष भोजेन्द्र प्रकाश ढकालले रामपुरको औधोगिक, पर्यटन र कला संस्कृतिको महिमालाई पहिचान दिन समाजले सहकार्य गर्ने हो भने धेरै पर्यटन ल्याउन सकिने वातावरण बन्ने बताउनुभयो । उहाँले आत्मनिर्भर गराउन र विशेष गरि छोरी शिक्षासँगै महिला उद्यमीलाई अगाडी सार्न सके आर्थिक उपार्जनले घर बलियो बन्ने बताउनुभयो । निजि क्षेत्र र व्यापारी व्यबसायीको सस्था उद्योग वाणिज्य संघ भएकोले मिलेर काम गर्न आफुहरु तयार रहेको बताउनुभयो ।

रोटरी क्लब अफ रामपुरका अध्यक्ष किर्तिनाथ श्रेष्ठले समाजले रोटरी सँग सहकार्य गरेकोमा धन्यवाद दिदै सामाजिक भावनाको विकासमा प्रतिबद्ध रोटरी सदैव यस्ता महान् उद्देश्य लिएर समाजको हितमा लाग्ने संस्थासँग समन्वय सहकार्य गर्दै अगाडी बढ्ने बताउनुभयो ।
पुर्वीपाल्पा समाज रुपन्देहीका सदस्य तथा कार्यक्रम संयोजक गणेश प्रसाद सेढाईले स्वास्थ्य क्षेत्रमा लामो समयको अनुभवले स्वास्थ्य र शिक्षामा सहयोग गरेर आधारभूत अधिकारप्रति लगानी गरि अब्बल जनशक्ति उत्पादनको लागि समाजले विभिन्न योजना ल्याएको बताउनुभयो । उहाँले कार्यक्रममा महत्वपुर्ण उपस्थिति, सबैको साथ र सहकार्य निरन्तर आबश्यक रहेको बताउदै समाजले आगामी दशैको अबसरमा शुभकामना आदानप्रदान सहित बिशेषज्ञ डाक्टर सहितको निशुल्क स्वास्थ्य शिविरबाट धेरै नागरिकको स्वास्थ्य जाच र उपचारमा सहयोग गर्ने गरि कार्यक्रम ल्याउने योजनामा लागेको जानकारी दिनुभयो ।

नमस्ते पाल्पा होटेल रामपुरमा चलेको कार्यक्रम पुर्वीपाल्पा समाज रुपन्देही बुटवल–रामपुरका अध्यक्ष सुनिल श्रेष्ठको अध्यक्षता सहकार्य संस्था रोटरी क्लब अफ रामपुरका पुर्व अध्यक्ष सागर प्रसाद देवकोटाको स्वागत तथा पुर्वीपाल्पा समाज रुपन्देही बुटवल–रामपुरका महासचिव भोजराज न्यौपानेको सञ्चालनमा चलेको हो ।


