हरिशयनी एकादशीका अवसरमा आज बिहानैदेखि देशभरका नदी, ताल तलैयामा स्नान गर्न पुग्ने, राजधानीको बूढानीलकण्ठ, उपत्यकाका चार नारायणलगायत देशभरका नारायण एवं विष्णु मन्दिरमा विशेष पूजा गरिएको छ ।
हिन्दू धर्मावलम्बीका लागि महत्वपूर्ण दिनका रूपमा लिइने यो दिन निराहार व्रत बसी भगवान् श्रीविष्णु (हरि) र तुलसीको पूजा अर्चना गरेमा आफ्नो मनोकामना पूरा हुने जनविश्वास छ । एकादशीका दिन विशेषगरी चामलबाट बनेका परिकार नखाई रोटी, ढिँडोलगायत फलाहार गर्ने गरिन्छ ।
आज रोपिएको तुलसी भगवान् विष्णु र विष्णुप्रियाका नामले चार महिनासम्म पूजा गर्ने परम्परा छ । यो अवधिलाई चतुर्मास पनि भनिन्छ । कार्तिक शुक्ल (हरिबोधिनी) एकादशी का दिन तुलसीविवाह गरेपछि चतुर्मास अनुष्ठान सम्पन्न हुने गर्दछ ।
आयुर्वेदिक औषधिका रूपमा समेत तुलसीको अत्यधिक उपयोग गरिन्छ । अत्यधिक अक्सिजन पाइने वनस्पतिका रूपमा तुलसीको वैज्ञानिक महत्व छ । आयुर्वेद चिकित्सामा तुलसीलाई बहुउपयोगी औषधिको रूपमा हजारौं वर्षदेखि प्रयोग गरिँदै आएको छ ।