२२ सदस्यीय मन्त्रीपरिषद् गठन, नयाँ देखि पटकौ-पटक मन्त्री हुनेसम्म
काठमाडौँ ।
प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको २२ सदस्यीय मन्त्रिपरिषद्मा १२ जना पुराना र ९ जना नयाँ मन्त्री बनेका छन् । मन्त्रिपरिषद्मा नयाँ र पुरानाको समिश्रण देखिएको छ । पुराना मन्त्रीहरूमा भने दोस्रोपटक बन्नेदेखि १३ औं पटकसम्म दोहोरिने समेत छन् ।
ओली नेतृत्वको यो मन्त्रिपरिषद्मा दुई उपप्रधानमन्त्री बनेका छन् । कांग्रेसबाट प्रकाशमान सिंह र एमालेबाट विष्णु पौडेल उपप्रधानमन्त्री बनेका छन् । सिंहलाई सहरी विकास र पौडेललाई अर्थमन्त्रालयको जिम्मेवारी दिइएको छ । सिंह र पौडेल विगतमा पनि पटक-पटकमन्त्री भएका व्यक्ति हुन् ।
यसपटक कांग्रेस र एमालेले मन्त्रिपरिषद्मा ९ जना नयाँ अनुहार पठाएका छन् । कांग्रेसबाट परराष्ट्रमन्त्री आरजु राणा, वनमन्त्री ऐनबहादुर शाही, स्वास्थ्यमन्त्री प्रदीप पौडेल, पर्यटनमन्त्री बद्री पाण्डे र कृषिमन्त्री रामनाथ अधिकारी पहिलोपटक मन्त्री बनेका हुन् ।
उर्जामन्त्री दीपक खड्का र युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरी यसअघि राज्यमन्त्री बनेका थिए । राज्यमन्त्री बनिसकेकाले सरकारमा उनीहरू पहिलोपटक नभएपनि क्याबिनेट मन्त्रीको रुपमा पहिलोपटक छिरेका हुन् । कानुनमन्त्री अजय चौरसिया २०५८ सालमा स्थानीय विकास सहायक मन्त्री बनेका थिए । क्याबिनेट मन्त्रीको रुपमा चाहिँ उनी पनि पहिलोपटक छिरेका हुन् ।
एमालेबाट रक्षामन्त्री मनवीर राई, शिक्षामन्त्री विद्या भट्टराई, भौतिक पूर्वाधारमन्त्री देवेन्द्र दाहाल र संघीय मामिला मन्त्री राजकुमार गुप्ता पहिलोपटक मन्त्री बनेका हुन् ।