तानसेन नगरपालिकाको सभामा १ अर्ब ७६ करोड ७६ लाख २० हजारको बजेट प्रस्तुत
पाल्पा ।
पाल्पाको तानसेन नगरपालिकाको १५ औँ नगरसभाको पहिलो बैठकमा नीति तथा कार्यक्रम सहित बजेट प्रस्तुत भएको छ।
सभामा उपप्रमुख प्रतीक्षा सिंजालीले आगामी आर्थिक वर्षका लागि १ अर्ब ७६ करोड ७६ लाख २० हजार बराबरको आय-व्यय प्रस्तुत गर्नुभएको हो ।
आगामी आर्थिक वर्ष २०८१/८२ को लागि वित्तीय व्यवस्था समेत चालु खर्च ८४ करोड ७७ लाख ७ हजार अर्थात् ४७.९६ प्रतिशत र पुँजीगत खर्च ९१ करोड ९९ लाख १३ हजार अर्थात् ५२.४ प्रतिशत रहेको छ । आर्थिक विकास क्षेत्रतर्फ ६ करोड २ लाख ४६ हजार, भौतिक पूर्वाधारतर्फ ८३ करोड ८१ लाख ९२ हजार, सामाजिक विकासतर्फ ६९ करोड ३७ लाख ५९ हजार रहेको छ ।

सुशासन तथा संस्थागत विकासतर्फ १४ करोड ८८ लाख ३७ हजार, वातावरण तथा विपद् व्यवस्थापनतर्फ २ करोड ६५ लाख ८५ हजार छ ।
चालु आर्थिक वर्षमा तानसेन नगरपालिकाले १ अर्ब २ करोड ८० लाख ६४ हजार आय हुने अनुमान गरेकामा जेठ मसान्तसम्म ८० करोड २० लाख १९ हजार अर्थात् लक्ष्यको ७८ प्रतिशत आय भएको जनाएको छ । चालु खर्चतर्फ ५४ करोड १४ लाख २५ हजारमा ४७ करोड ९२ लाख ७२ हजार र पुँजीगततर्फ १९ करोड २९ लाख २१ हजार गरी ६७ करोड २१ लाख ९४ हजार अर्थात् ६५ दशमलव ३८ प्रतिशत खर्च गरेको उपप्रमुख सिंजालीले जानकारी दिनुभयो ।
कृषिको व्यवसायीकरण र पर्यटन विकास मार्फत् रोजगारी सृजना गर्ने र गरिबी न्यूनीकरण गर्ने बजेटको उद्देश्य छ ।सार्वजनिक, निजी र सहकारी क्षेत्रलाई प्रोत्साहित गर्दै विकासमा साझेदार बनाउने प्रेरित गर्ने, उपलब्ध स्रोत र साधनको अधिकतम् प्रयोग गर्ने, समाजवाद उन्मुख आत्मनिर्भर समाज निर्माण गर्न सयहोग पुर्याउने, बजेट नीति तथा कार्यक्रमलाई दिगो विकास लक्ष्यसँग तादम्यता कायम गर्ने उद्देश्य रहेको छ ।
तानसेन नगरपालिकाको आगामी वर्ष २०८१/८२ को वार्षिक नीति तथा कार्यक्रमा नीति तथा कार्यक्रममा बजेट विनियोजन गर्दा बहुवर्षीय घर आँगनमै नगरप्रमुख, मेयर उत्कृष्ट उद्यमी व्यवसायी, नगर प्रज्ञा प्रतिष्ठान, उपप्रमुखसँग महिला स्वास्थ्य कार्यक्रम, नगरप्रमुख छात्रवृत्ति, महिला मैत्री सहर जस्ता लोकप्रिय कार्यक्रम तानसेन नगरपालिकाले समेटेको छ । स्थानीय साधन श्रोत, सीप प्रयोग हुने एवं तत्काल रोजगारी सिर्जना गर्ने आयोजनाहरू छनोट गर्ने नगरप्रमख सन्तोषलाल श्रेष्ठले जानकारी दिनुभयो । तानसेन नगरपालिकाले स–साना नगरस्तरीय र वडास्तरीय योजनाको संख्या घटाउन निश्चित सिलिङ र मापदण्ड निर्धारण गरिएको नगर प्रमुख श्रेष्ठले बताउनुभयो ।
बालमैत्री, वातावरणमैत्री, लक्षितवर्गमैत्री, स्थानीय शासन, दिगो विकास र विकासका साझा सवाललाई नीति तथा कार्यक्रममा प्राथमिकतामा राखिएको छ । नगरपालिकाको आन्तरिक आय, अन्तर सरकारी वित्त हस्तान्तरण, राजश्व बाँडफाँट तथा रोयल्टी रकमलाई यथार्थ विश्लेषणगरी समय सापेक्ष ढंगले नीति तथा कार्यक्रम तय गरिएको छ ।
संघ र प्रदेशबाट समानीकरण अनुदान, राजश्व बाँडफाँट तथा सशर्त अनुदान समेत परिवर्तन हुने अवस्थाका कारण कार्यक्रम तथा योजनाको भुक्तानी दिने दायित्व बढ्ने बताइएको छ । कार्यक्रममा उपप्रमुख प्रतिक्षा गाहा सिंजालीले न्यायिक समितिको चालु आर्थिक वर्षको हालसम्मको प्रतिवेदन सभामा पेश गर्नुभयो भने आर्थिक विकास समितिका संयोजक हेमन्तराज शाक्यले तानसेन नगरपालिकाको आर्थिक विधेयक २०८१, विद्यायन समितिका संयोजक महेश्वर श्रेष्ठले प्रज्ञा प्रतिष्ठान विद्येयक र तानसेन नगरपालिकाको लैंगिक समानता, अपांगता तथा सामाजिक समावेशीकरण सम्बन्धी व्यवस्था गर्न बनेको विद्येयक पेस गरेका थिए । सभा सञ्चालन प्रमुख प्रशासकीय अधिकृत हरिराम नागिलाले गर्नुभएको हो ।