पोखराको मेलमिलापकर्ताको टोलीले रामपुरको न्यायिक समिति र मेलमिलापकर्तासँग छलफल
पाल्पा ।
पोखरा महानगरपालिकाको मेलमिलापकर्ताको एक टोलीले रामपुर नगरपालिकाको न्यायिक समिति र मेलमिलापकर्तासँग छलफल अन्तरक्रिया र अनुभव आदानप्रदान गरेको छ ।
पछिल्लो समय प्रभावकारी बन्दै गएको मेलमिलापबाट समस्या समाधानको बाटो रोज्ने पक्षहरुलाई सरल र सहज रुपमा समस्या समाधान गरि जित जितको माध्यमबाट समस्या सुल्झाउन सिकाई र अनुभव आदानप्रदान गर्ने गरि छलफल भएको हो । पोखरा महानगरपालिका वडा नम्बर १३ का सामुदायिक मेलमिलापकर्ताको टोलीले रामपुर नगरपालिकाको न्यायिक समिति र वडा नम्बर ५ को मेलमिलाप केन्द्रको अबलोकन सहित जनप्रतिनिधि र मेलमिलापकर्ता सँग छलफल गरेको थियो ।

रामपुर नगरपालिका वडा नम्बर ५ का वडाध्यक्ष दुर्गाप्रसाद पोखरेलको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै अध्यक्ष पोखरेलले मेलमिलापकर्ताले वडा तहबाट गर्ने मेलमिलाप र समन्वयका बारेमा बोल्दै न्यायिक समितिमा धेरै उजुरी पर्ने रामपुरको केन्द्र र शहरका रुपमा विकासित वडामा अबलोकन र अध्ययन गर्नुभएकोमा टोलीलाई धन्यवाद व्यक्त गर्नुभयो ।
रामपुर नगरपालिकाका न्यायिक समिति सदस्य खेमराज अधिकारीले रामपुरमा यस बर्ष उजुरी परेका मध्य अधिकांश उजुरीमा मेलमिलाप भएको जानकारी दिनुभयो । न्यायिक समितिको अधिकार भित्र पर्ने उजुरीका बिषयमा न्यायिक समिति मार्फत वडाका मेलमिलाप केन्द्रमा मेलमिलापकर्ताले सहजिकरण गर्ने र अधिकार भित्र नपर्ने बिषय पनि आउने तर त्यस्ता किसिमका उजुरीका बिषयमा सहजिकरण गरि सम्बन्धित निकाय प्रहरी सँग जान सुझाउने गरेको बताउनुभयो ।

कार्यपालिका सदस्य माँया नेपालीले न्यायिक समितिले स्थानिय स्तरमा मेलमिलापबाटै समस्या समाधानको लागि निरन्तर अध्ययन र पक्षहरुसँग बस्ने गरेको बताउनुभयो । रामपुर नगरपालिकाका मेलमिलापकर्ता सीता डोटेलले राज्य पुर्नसंरचनापछि स्थानीय तहमा आएको न्यायिक अधिकारको उपयोगले आम नागरिकलाई धेरै सहज बनाएको बताउनुभयो । रामपुर नगरपालिकामा अघिल्लो कार्यकालमा जनप्रतिनिधिले वडागत रुपमा प्रतिनिधि चयन गरि ४८ घण्टे तालिम चलाएर मेलमिलापकर्ताको विकास गरेको बताउदै उहाँले न्यायिक समितिलाई चलायमान गराउन निरन्तर नगरपालिकाले वडामा मेलमिलाप केन्द्रको विकास र मेलमिलापकर्तालाई पुर्नताजगी तालिम र दोेस्रो पटक आधारभूत तालिम चलाएर मेलमिलापकर्तालाई वडामा सक्रिय बनाएको बताउनुभयो ।
मेलमिलापकर्ता सावित्रा गौतमले पुर्व जनप्रतिनिधि भएर निरन्तर समाजका विवाद समाधानमा लागिरहेको अनुभव बताउदै वडामा मेलमिलापको अभ्यासले जनप्रतिनिधि र अदालतमा भार कम हुने र मेलमिलापकर्ता प्रति पक्षहरुको विश्वास बढ्दै गएको बताउनुभयो ।
रामपुर नगरपालिकाका न्यायिक समिति सचिवालय सचिव पावती परियारले न्यायिक समितिमा उजुरीदेखि तामेल र छलफल तथा मेलमिलापको अबस्था र मेलमिलाप हुन नसकेको खण्डमा माथिल्लो निकायमा पठाउने प्रक्रियाका बारेमा जानकारी दिनुभएको थियो ।

पोखरा महानगरपालिका १३ का सामुदायिक मेलमिलापकर्ताका संयोजक युवराज बरालले २०६२ सालदेखि पोखरामा तत्कालिन गाविसकै समन्वयमा सामुदायिक मेलमिलाप केन्द्रको विकास भएको बताउनुभयो । उहाँले तत्कालिन समयमा ६२ घण्टे तालिम लिएर मेलमिलाप गर्न शुरु गरेको स्मरण गर्दै अहिले संघीयतापछि पोखरा महानगरपालिकामा ८४ मेलमिलापकर्ता नगरमा रहेको बताउनुभयो । पहिले गाउँतिर छलफल हुने गरेकोमा अहिले वडामा छलफल गर्ने अभ्यास भएको बताउनुभयो । उहाँले यसबर्ष ६९ वटा उजुरीमा मिलाएको र ९० प्रतिशत मनमुटाव नभईकन मेलमिलाप भएको बताउनुभयो ।
७ जनाको भ्रमण टोलीका संयोजक तथा मेलमिलापकर्ता क्रृषिराम सिग्देलले पोखरा महानगरले निरन्तर वडाको मेलमिलाप केन्द्रलाई सक्रिय बनाउन लागेकोले पक्षहरुको विश्वास जित्दै जादा हिजोआज पक्षहरु स्वयं मेलमिलापकर्ता खोज्दै आउने गरेको बताउनुभयो । बजार क्षेत्रका उजुरी बढी पर्ने साध सिमानका बिषयमा महानगरले वडामा तोकेका प्राविधिक र अमिनबाट काम गर्दै जादा सहज समाधान निस्कने गरेको अनुभव सुनाउनुभयो ।

oppo_2
पोखरा महानगरपालिका वडा नम्बर १३ का मेलमिलापकर्ताहरु राजेन्द्र प्रसाद बराल, इन्द्रदत्त बराल, सुर्य प्रसाद बराल, बसन्त शर्मा अधिकारी र सुमित्रा बराल सहितको टोली अध्ययन अबलोकनको लागि रामपुरको न्यायिक समितिमा आएको हो ।
कार्यक्रमको सञ्चालन रामपुर नगरपालिकाका न्यायिक समिति सचिवालय सचिव पावती परियारले गर्नुभएको हो ।
पोखराको मेलमिलापकर्ताहरुको टोलीले पाल्पाको निस्दी गाउँपालिकाको पर्यटकीय क्षेत्र काउलेडाँडा कबुलियती बन क्षेत्रको समेत अबलोकन गरेको छ ।