राष्ट्रिय सभा उपाध्यक्षमा कपिलबस्तुकी घिमिरे
काठमाडौं ।
राष्ट्रिय सभाको उपाध्यक्षमा कपिलबस्तुकी विमला घिमिरे निर्वाचित हुनुभएको छ ।
बुधबार राष्ट्रिय सभामा भएको निर्वाचनमा सत्ता गठबन्धनकी उम्मेदवार घिमिरेले ३९ मत प्राप्त गर्नुभयो । उहाँकी प्रतिस्पर्धी नेपाली कांग्रेसकी विष्णुदेवी पुडासैनीले १६ मत मात्र प्राप्त गर्नुभयो।
घिमिरेलाई नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टी (जसपा)ले मत दिए । पुडासैनीलाई कांग्रेस र लोसपाका सांसदले मत दिए ।
राष्ट्रिय सभाको उपाध्यक्षमा निर्वाचित घिमिरे २०७६ सालमा लुम्बिनी प्रदेशबाट राष्ट्रिय सभा सदस्यमा चुनिनुभएको थियो ।राष्ट्रिय सभामा चार वर्ष काम गर्नुभएका घिमिरेको कार्यकाल दुई वर्ष बाँकी छ । उहाँ २०४७ सालमा एमालेको सदस्यता लिएर पार्टी राजनितीमा लाग्नुभएको हो ।