नगरका सहकारीका प्रतिनिधि बिच अन्तरक्रिया गरेर मनाइयो सहकारी दिवस
पाल्पा ।
जिल्लाको रामपुर नगरपालिकाले सहकारी सस्थाका प्रतिनिधि र सरोकारवाला संग सहकारी सम्बन्धि अन्तरक्रिया गरेर सहकारी दिवस मनाएको छ ।
६७ औं सहकारी दिवसको दिन “सहकारीमा सुशासन, प्रविधि र एकिकरण” भन्ने नाराका साथ नगरपालिकाले अन्तरक्रिया कार्यक्रम गरेर दिवस मनाएको हो ।
रामपुर नगरपालिकाका नगर प्रमुख रमण बहादुर थापाले पछिल्लो समय केही सहकारीको बेईमानीपुर्ण कामले सबै सहकारी मुछिएको बताउनुभयो । सहकारी प्रति जनविश्वास कम हुँदै गएकाले गाउँ ठाउँ समुदायको हितका लागि गठित सहकारी संस्था सहकारीको मर्म र भावना अनुसार चल्न अनुरोध गर्नुभयो । एउटै उद्देश्य र मर्म बोकेर खोलिएका सहकारीहरु मर्ज गरेर प्रभावकारी कार्यक्रम सञ्चालन गर्न आवश्यक रहेको उहाँले उल्लेख गर्नुभयो ।
रामपुर नगरपालिकाका उपप्रमुख बाल कुमारी थापाले सहकारी संस्थाको सही व्यवस्थापन र सञ्चालनका लागि सञ्चालक समिति र व्यवस्थापकले ध्यान दिनुपर्ने बताउनुभयो । कार्यक्रममा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुर्य दर्शन पण्डितले अन्य देशमा सहकारीको माध्यमबाट विकासले फड्को मारे पनि नेपालमा सोँचे अनुरुप विकास हुन नसकेको बताउदै जनहितमा प्रभाबकारी काम गर्न आग्रह गर्नुभयो । गरिव जनताले अपनत्व ग्रहण गर्ने गरी घर-घरमा पुग्न नसकेको टिप्पणी गर्दै उहाँले सहकारीलाई सबैको पहुँचमा पुर्याउन आवश्यक रहेको बताउनुभये ।
रामपुर नगरपालिकाका प्रवक्ता एंव वडा नं.१ का अध्यक्ष कपिल बहादुर खाँणले गुणस्तर भन्दा संख्यात्मक रुपमा सहकारी अघि बढेको बताउनुभयो ।
अन्तरक्रियामा नगरपालिका भित्रका सहकारी संस्थाका सञ्चालक समितिका अध्यक्ष ,सचिव र लेखा समितिका संयोजक गरी ७५ जनाको सहभागिता रहेको थियो । सहभागीलाई रामपुर नगरपालिकाका रोजगार शाखा प्रमुख तथा सहकारी शाखा संयोजक गणेश प्रसाद रेग्मीले सहकारीको इतिहास, नेपालमा सहकारीको वर्तमान अवस्था, सहकारी सचेतना लगाएतका विषयमा सहजिकरण गर्नुभएको थियो । कार्यक्रममा सहभागिले नगरपालिका भित्रका सहकारीको नियमन गर्नुपर्ने, सहकारी संस्थाहरुको विकास र कार्यक्रम संचालनका लागि बजेटको व्यवस्था गर्नुपर्ने लगाएतका सुझाब दिएका थिए ।
रामपुर नगरपालिका आर्थिक विकास समितिका संयोजक दुर्गादेवि भण्डारी गौतमको अध्यक्षतामा भएको कार्यक्रम नगर प्रमुख रमण बहादुर थापाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । नगरपालिकाको सभाहलमा भएको कार्यक्रम नगर प्रवक्ता एवं वडा नं.१ का अध्यक्ष कपिल बहादुर खाँणको स्वागत र महिला तथा बालबालिका शाखा प्रमुख पुजा परियारको संचालनमा भएको हो ।