पाल्पाको निस्दीमा चैत २६ देखि बैशाख ३ गतेसम्म “निस्दी कृषि, पर्यटन, संस्कृति, खेलकुद महोत्सव” हुने
पाल्पा ।
पाल्पाको निस्दीमा आगामी अन्तिम सातादेखि दोस्रो निस्दी महोत्सव हुने भएको छ ।
निस्दी खेलकुद विकास समितिको आयोजना र निस्दी गाउँपालिकाको संरक्षकत्वमा “दोस्रो निस्दी कृषि, पर्यटन, सस्कृति र खेलकुद महोत्सव” हुन लागेको रामपुरमा पत्रकार सम्मेलन गरि जानकारी दिईएको छ ।
कृषि, पर्यटन, संस्कृति र खेलकुद निस्दीको शान, समृद्ध निस्दी हाम्रो पहिचान’ भन्ने नाराका साथ महोत्सव हुन लागेको हो । स्थानीय उत्पादनको बजारीकरण, पर्यटन तथा संस्कृति प्रवर्द्धनको लागि निस्दी गाउँपालिकाको खेल मैदान निस्दी–४ मित्याल झ्याल्टुङ्गमा महोत्सव तय गरिएको गाउँपालिका उपाध्यक्ष तिरण कुमारी श्रेष्ठले बताउनुभयो । महोत्सवले समग्र निस्दीको पहिचान बढाउने विश्वास लिदै निस्दीको कृषि, उत्पादन, मेहात, पर्यटन र मगर संस्कृतिलाई देशैभर चिनाउनु र उत्पादित बस्तुको बजारीकरणमा महोत्सवले थप मद्धत गर्ने श्रेष्ठले आशा व्यक्त गर्नुभयो ।
महोत्सव मुल आयोजक समितिका संयोजक उमेश कुमार गाहाले निस्दी र निस्दीको उत्पादन, क्षमता, पौरख र संभावना र निस्दी गाउँपालिका भित्र रहेका मगरी संस्कृति, परम्परालाई उजागर गर्ने बताउनुभयो ।
स्थानीय कृषि उपज तथा हस्तकलाका सामाग्रीको विक्री वितरण, मौलिक संस्कृति प्रवद्र्धनका लागि सांस्कृतिक झाँकी प्रदर्शन, अन्तरपालिका स्तरिय खुल्ला पुरुष भलिबल प्रतियोगिता, निस्दी डान्स आइडल सहित राष्ट्रिय कलाकारहरुको प्रस्तुति, बालउद्यान मेलाको आकर्षणको रुपमा रहनेछ । मेलामा स्थानीय उत्पादन, अम्रिसो, अदुवा, तेजपत्ता, गेडागुडी, कृषि तथा स्थानीय उत्पादन बासका सामाग्री, साना उद्यम अन्तर्गत महिलाले उत्पादन गरेका बस्तु सहित अन्य गरि ५० वटा स्टल रहनेछ ।
मेलाको तयारीका लागि १ सय १ सदस्य मुल आयोजक समिति तथा अन्य उपसमिति गठन गरी तयारीका कार्य भैरहेको छ ।
मूल आयोजक समितिका उपसंयोजक प्रदिप ज्ञावलीले मेलालाई सफल पार्न सबैको साथ र सहयोगको आवश्यकता रहने बताउँनुभयो । मेला सञ्चालनको लागि ४० लाख बढी खर्च लाग्ने आयोजकले अनुमान लिएको छ । मेलामा प्रवेशको लागि १०० रुपैयाँ टिकटको व्यवस्था गरिएको र विद्यार्थी, जेष्ठ नागरिक र फरक क्षमताका व्यक्तिहरुलाई ७० रुपैयाँ तोकिएको आयोजकले जनाएको छ ।
महोत्सवको अवसरमा आयोजित अन्तरपालिका स्तरीय पुरुष भलिबल प्रतियोगितामा प्रथम, द्वितीय, तृतिय र सान्तवना हुने समुहले क्रमश नगद १ लाख ३० हजार, ८० हजार, ५० हजार र २५ हजार सहित ट्रफी मेडल र प्रमाण पत्र प्राप्त गर्ने निस्दी खेलकुद विकास समितिका सहसचिव होम राई मगरले बताउनुभयो ।
महोत्सवमा खुल्ला अन्तरपालिका स्तरिय पुरुष भलिबल प्रतियोगिता, राष्ट्रिय तथा स्थानीय कलाकारहरुको प्रस्तुती, झाँकी प्रदर्शन, प्रथम निस्दी डान्स आईडल, निस्दीका पर्यटकिय स्थलको फोटो तथा वृत्तचित्र प्रदर्शनी र स्थानीय उत्पादनको प्रदर्शनी तथा विक्रिवितरण गरिने समितिका सचिव पुनाराम सुनारीले जानकारी दिनुभयो ।
महोत्सवमा राष्ट्रिय कलाकारहरु नारायण रायमाझी, बद्री पंगेनी, मेलिना राई, प्रकाश दुतराज, प्रताप दास, सागर आले, ज्योती मगर, टंक तिमिल्सिना, हुम गैरे, दिपिका बयम्बु, जमुना राना, कमला पोखरेल, प्रिया सारु, कृष्ण रानाभाट, रुपा घर्तीमगर, उमादेवी खनाल, पुरुषोत्तम भण्डारी पुर्खे बा, जुना कार्की र यसियाकै सबै भन्दा होंचो व्यक्ति मनोज गोर्खाली थापाको प्रस्तुती हुने आयोजकले जनाएको छ ।