अर्चले स्वास्थ्य चौकी किशोर-किशोरी मैत्री स्वास्थ्य सेवा प्रदायक घोषणा
पाल्पा ।
निस्दी गाउँपालिका वडा नम्बर ६ अर्चलेको स्वास्थ्य चौकीलाई किशोर-किशोरी मैत्री सेवा प्रदायक संस्था घोषणा गरिएको छ ।
निस्दी गाउँपालिका पाल्पाको आयोजनामा सन्चालन भएको कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत ध्रुव दयालले स्वास्थ्य चौकीले निर्धारित सुचक पूरा गरेकोले किशोर-किशोरी मैत्री स्वास्थ्य सेवा प्रदायक संस्थाको रूपमा घोषणा गरिएको जानकारी दिनुभयो । उहाँले स्वास्थ्य र शिक्षा क्षेत्रमा गाउँपालिकाले प्राथमिकता दिएको बताउनु हुँदै बालबालिकाहरुलाई बालमैत्री कार्यक्रममा प्रत्यक्ष रुपमा सहभागिता जनाउन र अन्तरक्रियामा भाग लिन सुझाव दिनुभएको थियो ।
कार्यक्रममा नेपाल परिवार नियोजन संघ पाल्पाका प्रमुख शोबाकान्त न्यौपानेले नेपालमा बालबिबाहका कारण बालरोग र मातृरोगमा वृद्धि भएको बताउनुभयो । कार्यक्रममा कार्यपालिका सदस्य मिम्श्री बयम्बु, मित्याल प्रहरी चौकी प्रमुख मिथालेस कुमार यादव लगायतकाले कार्यक्रमका बारेमा आ-आफ्नो भनाई राख्नुभएको थियो । कार्यक्रममा विद्यालयका प्रधानाध्यापक,स्वास्थ्य आमा समूहका अध्यक्ष तथा प्रतिनिधि,महिला स्वास्थ्य स्वयं सेविका र विद्यार्थीहरुको सहभागिता रहेको थियो ।
अर्चले स्वास्थ्य चौकी सन्चालन तथा व्यवस्थापन समितिका अध्यक्ष तथा वडाध्यक्ष मेख बहादुर सुनारीको अध्यक्षतामा भएको कार्यक्रमको सन्चालन बाल कल्याण अधिकारी कुश्माखर पाण्डेले गर्नुभएको थियो ।