2

Logo २०८३ बैशाख १३ आइतबार
राष्ट्रिय सभा निर्वाचनः लुुम्बिनीमा गठबन्धन बलियो

राष्ट्रिय सभा निर्वाचनः लुुम्बिनीमा गठबन्धन बलियो


Sabalnews प्रकाशित मिति : बुधबार, माघ १० २०८०
1.1K

लुम्बिनी ।

राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि लुम्बिनी प्रदेशमा सबै तयारी पूरा भएको छ । लुम्बिनी प्रदेश निर्वाचन कार्यालय दाङले माघ ११ गते हुने राष्ट्रियसभा सदस्यको निर्वाचनका लागि तयारी पूरा भएको जनाएको हो ।

मतदान केन्द्र निर्माण, कर्मचारी व्यवस्थापन, सुरक्षा व्यवस्थासँगै मतगणनाका लागि हलको समेत व्यवस्था गरिएको प्रदेश निर्वाचन कार्यालय दाङले जनाएको छ । निर्वाचनका लागि घोराही उपमहानगरपालिका –१५ स्थित कर्मचारी मिलन केन्द्रको प्राङ्गणमा व्यवस्था गरिएको निर्वाचन अधिकृत कुलप्रसाद पाण्डेयले जानकारी दिनुभयो । उहाँका अनुसार मतदानस्थलमा दुई वटा मतदान केन्द्रको व्यवस्था गरिएको छ ।
मतदान केन्द्र क मा प्रदेशसभा सदस्य र मतदान केन्द्र ख मा स्थानीय तहका प्रमुख–उपप्रमुखले मतदान गर्ने व्यवस्था मिलाइएकोे छ । ‘राष्ट्रियसभा सदस्य निर्वाचनका लागि मतदान अधिकृत तोक्ने, मतदान केन्द्र निर्माणसँगै सुरक्षाको तयारी पूरा भएको छ’ निर्वाचनअधिकृत पाण्डेयले भन्नुभयोे, ‘मतदान केन्द्रहरुको जिल्लास्थित सुरक्षा निकायले अनुगमन गरेका छन् ।’

मतदान केन्द्र क मा जिल्ला अदालत दाङका श्रेस्तेदार दामोदर घिमिरे र मतदान केन्द्र ख मा सहायक प्रमुख जिल्ला अधिकारी सावित्रा रानालाई मतदान अधिकृत तोकिएको छ । निर्वाचनका लागि एउटा मतदान केन्द्रमा १० जनाका दरले दुई मतदान केन्द्रमा २० कर्मचारी खटाइएको प्रदेश निर्वाचन कार्यालय दाङका सूचना अधिकारी गेहेन्द्र कुँवरले जानकारी दिनुभयो । मतदानका लागि बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्मको समय निर्वाचन आयोगले तोकेको छ ।

लुम्बिनी प्रदेशमा २ सदस्य पदका लागि निर्वाचन हुन लागेको हो । जसअन्तर्गत लुम्बिनीमा एक महिला र एक अन्य पदमा निर्वाचन हुन लागेको हो । राष्ट्रिय सभा सदस्य निर्वाचनमा लुम्बिनी प्रदेशबाट पाँच राजनीतिक दलका ६ उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् । जसमा गठबन्धनको तर्फबाट महिलामा कांग्रेसबाट गुल्मीकी विष्णुकुमारी सापकोटा र अन्यमा माओवादी केन्द्रबाट रोल्पाका झक्कुप्रसाद सुवेदी उम्मेदवार रहनुभएको छ ।

त्यसैगरी नेकपा एमालेबाट महिलामा दाङकी तुलसा केसी र पाल्पाका झपेन्द्रबहादुर घर्ती, राप्रपाबाट रुपन्देहीकी विजयालक्ष्मी सिंह र जनमत पार्टीबाट बालगोविन्द चौधरी राष्ट्रियसभा सदस्यका लागि उम्मेदवार छन् । निर्वाचनमा लुम्बिनी प्रदेशका १ सय ९ स्थानीय तहका २ सय १८ जना प्रमुख तथा उपप्रमुख र ८७ जना प्रदेशसभा सदस्य मतदाताका रुपमा रहनुभएको छ ।

लुम्बिनी प्रदेशमा राष्ट्रिय सभा निर्वाचनका लागि कुल ८ हजार ७ सय ५३ मतभार छ । त्यसमा सत्ता गठबन्धनको पुरै मत एकैतर्फ हुँदा ५ हजार ४ सय ७७ मत हुन्छ । लुम्बिनीमा एमाले अंकगणितमा भने कमजोर छ ।एमालेको २ हजार ८ सय १० मतभार छ । लुम्बिनीमा एमालेका २९  प्रदेश सभा सदस्य र स्थानीय तहमा ६७ जना प्रमुख उपप्रमुख छन् । राप्रपाको २ सय ६९ मतभार छ । त्यस्तै, छुट्टै उम्मेदवारी दिएको सत्ता गठबन्धनकै जनमत पार्टीको १ सय ५९ मतभार छ । लुम्बिनीमा स्थानीय तह तर्फ जनता प्रगतिशिल पार्टीको ३८ मतभार छ ।

लुम्बिनीमा कांग्रेसको मात्र ३ हजार १ सय ७९ मत छ । लुम्बिनी प्रदेश सभामा कांग्रेसका २७ प्रतिनिधि छन् भने स्थानीय तहमा ९२ जना प्रमुख उपप्रमुख निर्वाचित छन् । गठबन्धन अन्तर्गतको माओवादीको १ हजार ३ सय ४३ मतभार छ । माओवादीबाट ११ जना प्रदेश सभा सदस्य र ४० जना स्थानीय तहमा प्रमुख उपप्रमुख निर्वाचित भएका छन् । जनता समाजवादीको २ सय ७३, नागरिक उन्मुक्ति पार्टीको २ सय १२, लोकतान्त्रिक समाजवादीको २ सय ३५ मतभार छ । १ जना प्रदेश सभा सदस्य मात्र रहेको एकीकृत समाजवादीको मतभार ५३ मात्र छ । त्यस्तै, एक प्रदेश सभा सदस्य र स्थानीय तहमा ४ प्रमुख उपप्रमुख रहेको राष्ट्रिय जनमोर्चाको १ सय २९ मतभार छ । यो हिसाबले गठबन्धन बलियो छ ।

सत्ता गठबन्धन लुम्बिनीमा बलियो छ । तर, एमाले पनि गठबन्धनको मत चोरेर आफ्ना उम्मेदवार जिताउने दाउमै छ । गठबन्धनका नेताहरू र उम्मेदवारले आफूहरू जित्नेमा ढुक्क रहेको बताउँदै आएका छन्।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

सबल नेटवर्क प्रा. लि. द्दारा संचालित
सबल न्युज डटकम
अध्यक्ष / प्रधान सम्पादकः सीता डोटेल
📞 बिज्ञापन ९८४७१७०२८५, ९८४३८८१०२२
📧  समाचार  sita.dotel@gmail.com
बिज्ञापन– sabalnews2078@gmail.com
कम्पनी दर्ता नं.  –२८८३६१/०७८/०७९
सूचना विभाग दर्ता नं.–३४५५/२०७८/०७९
प्रेस काउन्सिल नं. –३४४२

सम्पर्क

सामाजिक सञ्जाल

© 2022 copyright and all right reserved to sabalnews.com