पाठेघरको क्यान्सर स्क्रिनिङको लागि तथ्याङ्क सङ्कलन गर्दै रामपुर नगरपालिका
पाल्पा ।
पाल्पाको रामपुर नगरपालिकाले एचपिभी डिएनए विधिबाट गरिने पाठेघरको मुखको क्यान्सर स्क्रिनिङका लागि नगरपालिकामा तथ्याङ्क संकलन गरिरहेको छ । नगरपालिका स्वास्थ्य शाखाले नगरका सबै वडामा ३५ देखि ४० बर्ष उमेर समुहका महिलाहरुको तथ्याङ्क लिएको नगरपालिका स्वास्थ्य शाखा प्रमुख गिरिराज घिमिरेले जानकारी दिनुभयो ।
आगामी केही बर्ष भित्र महिलाको पाठेघरमा हुनसक्ने क्यान्सरको चरण परिक्षण गरिने विधि एचपीभी डीएनए विधि हो । पाठेघरको मुखमा हुनसक्ने क्यान्सरको पुर्व परिक्षणको लागि नेपाल सरकारले चलाएको अभियानमा पाल्पाबाट रामपुुर नगरपालिका पनि परेको हो । जहाँ यसअघिको भिआईए विधिभन्दा एचपिभी डिएनए विधि सजिलो विधि हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, स्वास्थ्य सेवा विभाग अन्तर्गत परिवार कल्याण महाशाखाको आर्थिक तथा प्राविधिक सहयोग र लुम्बिनी प्रदेश स्वास्थ्य निर्देशनालयको प्राविधिक सहयोगमा गत महिना नगरमा यससम्बन्धी अभिमुखीकरण पनि गरेको थियो । यस सँगै रामपुर नगरपालिकाले मंसिरदेखि तथ्याङ्क शुरु गरेको हो । जस अन्तर्गत सबै वडामा महिला स्वास्थ्य स्वयंमसेविका खटिएर तथ्याङ्क संकलन गरिएको छ ।
रामपुर नगरपालिकाले केही वडाको तथ्याङ्क लिइसकेको छ भने अन्य वडाको संकलन जारी रहेको स्वास्थ्य शाखा प्रमुख घिमिरेले जानकारी दिनुभयो । रामपुर नगरपालिका वडा नम्बर ३ मा १३८ जना, वडा नम्बर ४ मा ९० जना, वडा नम्बर ५ मा १९० जना, वडा नम्बर ६ मा १२६ जना र वडा नम्बर ७ मा १३० जना सो उमेर समुहका महिलाको तथ्याङ्क संकलन गरिएको नर्सिङ अधिकृत पुनम धितालले जानकारी दिनुभयो । अन्य वडाबाट यही हप्ता संकलन गरि पुषभित्रै शिविर राखिनेछ ।
अन्य क्यान्सरको तुलनामा पाठेघरको क्यान्सरको जोखिम धेरै भएपनि समय मै स्क्रिनिङ नहुँदा अबस्था जटिल हुन जान्थ्यो । स्क्रिनिङ गरी पहिचान गर्न सके उपचार सफल हुने भएकोले नेपाल सरकारले पाल्पाको रामपुर र रम्भामा अहिले एचपिभी डिएनए परिक्षण पाइलट अभियान चलाएको हो । क्यान्सर रोग विशेषज्ञ सहितको टोलीले अभिमुखीकरण गरेको र सरोकारवालालाई जानकारी गर्दै स्क्रिनिङको सहजता बारे बुझाएको छ । क्यान्सर रोग विशेषज्ञ डाक्टर सरिता घिमिरेले स्क्रिनिङ टेष्टको महत्व, एचपीभी डीएनए विधिबाट गरिने स्क्रिनिङ र उपचार पद्धतिको बारेमा जानकारी दिनुभएको थियो ।
परिवार कल्याण महाशाखाका तथ्याङ्क अधिकृत पुष्पराज जोशीले निःशुल्क एचपीभी डीएनए परीक्षणलाई केही जिल्लामा पाइलट प्रोग्रामको रुपमा लागु गरेको जानकारी दिनुभयो । क्यान्सरको समय मै पहिचान हुन नसके सर्वस्व गुमाउनु पर्ने अवस्था नेपालमा भएकोले बेलैमा यसको परिक्षण सहज भएको नर्सिङ अधिकृत धितालको भनाई छ । पाठेघरको मुखमा हुनसक्ने क्यासर रोगको पहिलेको भिआईए परिक्षण पाठेघरको मुखमा नै परिक्षण गरिनेमा अहिले किटमा स्वाव राख्ने र तुरुन्तै यसको रिजल्ट आउनेछ । किटमा स्वाव राखेसँगै पोजेटिभ र नेगेटिभ संकेत हुनेछ । यसले गर्दा पाठेघरको मुखमा हुनसक्ने क्यासरबाट जोगिन र संभावित तनाबबाट मुक्त हुन पुष २२ गतेदखि नगरपालिकाका विभिन्न ३ स्थानमा २ दिनसम्म चल्ने शिविरमा सहभागी हुन नगरपालिकाले नगरबासीमा अनुरोध गरेको छ ।