रामपुर नगरपालिकाका सबै वडाबाट मालपोत कर संकलन
पाल्पा ।
पाल्पाकोे रामपुर नगरपालिकाले वडाबाटै मालपोत कर संकलन शुरु गरेको छ । नगरपालिकाको कार्यपालिका बैठकको निर्णय अनुसार नगरबासीलाई सहज सेवा दिन मालपोत भुमिकर वडाबाटै लिने व्यवस्था गरेको हो ।
घरजग्गाको तिरो वा मालपोत जन्य कर वडाबासीहरुले आ–आफ्नै वडाहरुबाट तिर्न पाउने व्यवस्था गरेकोे नगरप्रमुख रमण बहादुर थापाले बताउनुभयो । मालपोत राजस्व बुझाउन नगरपालिकाको कार्यालयमै धाउनुपर्ने बाध्यता थियो । एक दुई सय तिरो तिर्न पनि नगर कार्यालयदेखि टाढाका वडाका नागरिकलाई हजारौं खर्च गरेर आउनुपर्दथ्यो त्यसैलाई मध्यनजर गरेर वडाबाट सेवा दिएका हौं । पहिले पनि सफ्टवयर विकास गरेका थियौं सबै वडामा काम गर्न प्रविधि र दक्ष जनशक्तिको अभावले संभव भएको थिएन, अहिले व्यवस्थापन मिलाएर सबै वडाबाट राजश्व संकलन शुरु गरिसकेका छौं नगरप्रमुख थापाले भन्नुभयो । आम नागरिकलाई नगर कार्यालय नै धाउनुपर्ने बाध्यता र यसले गाडी भाडा, खाजा नास्ता र समयको खर्चले सास्ती र झन्झट बेहोर्नुपर्ने अबस्थाको अन्त्य गर्न र वडालाई थप जिम्मेवार बनाउन वडाबाटै राजस्व संकलन शुरु गरेको उहाँले बताउनुभयो ।
मंसिर तेस्रो सातादेखि नगरपालिकाले सबै वडाबाट भुमिकर उठाउन थालेको हो । सबै वडामा वडाका कर्मचारीलाई सिकाएर नियमित कर संकलन शुरु गरेको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुर्यदर्शन पण्डितले जानकारी दिनुभयो । सफ्टवयरको प्रयोगबाट कम्प्युटर प्रणालीबाट कर संकलन भएको छ । यसले जुनसुकै वडाबाट पनि तिरो तिर्न सकिने हुँदा सेवा छिटो, छरितो र सुरक्षित हुने उहाँले बताउनुभयो । मालपोत (तिरो) बुझाउन पनि नगरपालिकाको कार्यालयमा आउनु पर्ने सेवाग्राहीको समस्यालाई मध्यनजर गरी वडा कार्यालयहरुबाटै छिटो र सहज सेवा दिन थालिएको प्रमुख प्रशासकीय अधिकृत पण्डितले बताउनुभयो ।
बुधबार कर तिर्न वडा कार्यालय पुग्नुभएकी रामपुर ५ की सरिता ओस्तीले वडामै कर तिर्न पाउदा खुसी लागेको बताउनुभयो । नजिकको वडालाई भन्दा नगरपालिका कार्यालय भन्दा परका नागरिकलाई पैसा तिर्न कार्यालय नै धाउनुपथ्र्याे, पैसा र समयको बचत हुने भयो, उहाँले भन्नुभयो । हालसम्म नगरपालिका कार्यालयमा आएर मात्र मालपोत कर तिरो तिरिरहेका नागरिक वडा कार्यालयबाटै तिर्न पाउनेछन् । नगरपालिकाको जुनसुकै वडाका बासिन्दाले कुने पनि वडाबाट तिरो तिर्न सकिने हुँदा नागरिकलाई सजिलो भएको रामपुर २ का वडा सहायक बासुदेव ढकालले बताउनुभयो ।
‘‘कर बुझाउन एक दिन छुट्याएर नगरपालिका कार्यालय पुग्नुपर्दथ्यो, रामपुर नगरपालिका वडा नम्बर १० की सविना कुमालले भन्नुभयो– अब वडामै बुझाउन पाउदा धेरै सहज हुने भयो” । नगरको राजश्व शाखामा हेर्न सकिने प्रविधि जडान गरिएको रामपुर नगरपालिकाका प्रविधि प्रमुख महेन्द्र श्रेष्ठले बताउनुभयो । आर्थिक बर्षको शुरुबाटै वडाबाट सेवा दिने सोचमा सफ्टवयर जडान गरेका थियौं । कुनै वडामा कम्प्युटर व्यवस्थापन र दक्ष कर्मचारी नहुँदा समस्या थियो अहिले सबै वडामा कर्मचारीलाई सिकाएर शुरु गरेका हौ, यसबर्ष तालिम दिएर चुस्त बनाउनेछौं श्रेष्ठले भन्नुभयो ।यसअघि वडाबाट विभिन्न सिफारिस र घटना दर्ताको मात्रै राजस्व संकलन गरिरहेको थियो ।