पाल्पामा मनाइयो २० औं महिला स्वास्थ्य स्वयंसेविका दिवस
पाल्पा ।
‘स्वास्थ्य क्षेत्रमा दिगो विकास, महिला सामुदायिक स्वयमसेविकाको संयुक्त प्रयास’ भन्ने नारासहित मंगलबार २० औं महिला स्वास्थ्य स्वयंसेविका दिवस पाल्पामा पनि विभिन्न कार्यक्रमसहित मनाइएको छ ।
जिल्लास्थित स्थानीय तह र सम्बद्ध संस्थाहरूले महिला स्वास्थ्य स्वयंसेविका सम्मान, प्रतियोगिता, सचेतनामूलक अभियान लगायतका कार्यक्रम गरी दिवस मनाएका हुन् ।
पाल्पाको बगनासकाली गाउँपालिकामा पालिकाभित्रका सवै महिला स्वास्थ्य स्वयंसेविका सम्मानसहित मानसिक स्वास्थ्य सम्बन्धी सचेतनामूलक कार्यक्रम गरी मनाइएको छ । कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष सरस्वती दर्लामी चिदीले दिवसले महिलाहरूमा उर्जासहित समुदायमा थप सक्रियताका साथ काम गर्न सहयोग पुर्याउने बताउनुभयो । उहाँले उच्च मनोवलका साथ समुदायमा बनाएको पहिचानलाई सशक्त बनाउन आग्रह गर्नुभयो ।
गाउँपालिका उपाध्यक्ष हरिप्रसाद पाठकले दिवस महिलाहरूमा उत्साह भर्ने अभियान भएकोले यस्ता महत्त्वपूर्ण कार्यक्रममा महिलाहरूलाई सामुदायिक स्वास्थ्य शिक्षा पहुँच वृद्धिमा सहयोगी हुने बताउनुभयो । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बद्रिनाथ लम्सालले आगामी दिनमा गाउँपालिकाको स्रोत साधन पहिचान गरी दिवसलाई थप परिस्कृत र स्वास्थ्य स्वयंमसेविकामैत्री कार्यक्रम गर्ने बताउनुभयो ।
गाउँपालिकाका प्रवक्ता टिकाबहादुर थापाले महिला स्वास्थ्य स्वयंसेविकाहरूको भूमिका समाजमा सकारात्मक रहेको बताउनुभयो । स्वयंसेविकाको तर्फबाट स्वयंसेविका कमला रेग्मीले कम सुविधामा २४ सै घण्टा खटिने महिला स्वास्थ्य स्वयंम सेविकाहरूलाई सेवा अनुसारको सुविधा राज्यले नदिएको गुनासो गर्नुभयो । उहाँले महिला स्वास्थ्य स्वयंसेविकाको लागि सेवा रजिष्टर, प्राथमिक स्वास्थ्य उपचार राख्ने किटवक्सजस्ता सामान्य सामग्रीसमेत उपलब्ध नहुँदा सेवा प्रवाह असहज भएको बताउनुभयो ।
गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख मणिराम अधिकारीले महिला स्वास्थ्य स्वयंसेविकाको मेहनत, दिवस र स्वास्थ्य सम्बन्धी जानकारी दिनुभएको थियो । सोही अवसरमा वडा नं.६ यम्घा स्वास्थ्य चौकी प्रमुख रामप्रसाद न्यौपानेले मानसिक स्वास्थ्य सम्बन्धी सचेतनामूलक प्रस्तुति राख्नुभएको थियो । वडा नं. १ मा कार्यरत स्वास्थ्य स्वयंमसेविका विष्णुमाया चिदीको अध्यक्षता, गाउँपालिकामा कार्यरत सिअनमी संगीता थापाको स्वागत स्वास्थ्य शाखा प्रमुख मणिराम अधिकारीको सञ्चालनमा कार्यक्रम सम्पन्न हो ।
नेपालमा स्वयंसेविकाहरूले परिवार नियोजनबारे चेतना, अस्थायी साधन वितरण, झाडापखाला, श्वासप्रश्वाससम्बन्धी रोगको प्राथमिक उपचार, खोप कार्यक्रम, सञ्चालन, स्वास्थ्य शिक्षा प्रदानजस्ता काम गर्दै आएका छन् । यो दिवस अन्तर्राष्ट्रिय स्वयंसेवक दिवसको अवसरमा हरेक वर्ष डिसेम्बर ५ तारिखमा मनाउने गरिन्छ ।
राष्ट्रिय महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका कार्यक्रम अन्तर्गत महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाहरूले सामुदायिक स्वास्थ्यमा योगदान पुर्याउँदै आएका छन् । विशेषत: मातृ, नवजात शिशु तथा बाल स्वास्थ्य, प्रजनन् स्वास्थ्य, परिवार योजना, नियमित खोप आदि विषयमा समुदायमा जनचेतना अभिवृद्धि र सेवा प्रवाह, स्वास्थ्य आमा समूहमा छलफलमार्फत जनस्वास्थ्यसम्बन्धी सूचना तथा सेवाहरूको पहुँचमा वृद्धि गराई मातृ, शिशु तथा बालबालिकामा लाग्ने रोगको दर र तिनको मृत्युमा कमी ल्याउन उनीहरूले काम गर्दै आएका छन् ।